कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चुँडियो सारंगीको तार...

‘यो दाजुको मिर्मिरे आँखा’ का सर्जक धनबहादुर गायकलाई बढी मोह नयाँ पुस्ताले पनि सारंगी सिक्नुपर्छ भन्नेमा थियो । उनी सारंगी सिकाउँथे, भेला र जमघटमा आफैं बजाउँथे । 

काठमाडौँ — चर्चित गीत ‘यो दाजुको मिर्मिरे आँखा’ पछिल्लोपटक पुनः रेकर्डिङ भएर नयाँ पुस्ताको स्वरमा आयो । नयाँ रेकर्डिङ अघि पनि यो निकै चलेको गीत हो । नेपाली संगीत जगत्‌मा उक्त सदाबहार गीत थप्ने सर्जक पोखरा बाटुलेचौरका धनबहादुर गायकको सोमबार निधन भएको छ ।

चुँडियो सारंगीको तार...

उच्च रक्तचापले बेहोस भएपछि गत शनिबार उनलाई मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा निधन भएको हो ।

उनी ५९ वर्षका थिए । उनको लेखन तथा संगीतमा प्रवीण गुरुङ र बीमाकुमारी दुराले गाएको ‘मिर्मिरे आँखा’ लोक भाकाको चर्चित गीत हो । गुरुङकै स्वरमा रहेको ‘फूल मायामा नभुल’, ‘बेली र चमेली’ मा समेत धनबहादुरकै शब्द/संगीत छ । धनबहादुर चर्चित सारंगीवादकसमेत थिए । पोखराको बाटुलेचौरमा जन्मिएका उनको सारंगी संरक्षणमा योगदान छ ।

उनले झलकमान गन्धर्व सारंगी पाठशाला खोलेर नयाँ पुस्तालाई संगीत सिकाउँदै आएका थिए । राष्ट्रिय लोकबाजा सारंगी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्षसमेत रहेका उनी संस्कृति संरक्षणका लागि भन्दै गन्धर्व संग्रहालय भवन बनाउने अभियानमा सक्रिय थिए ।

विसं २०३१ मै उनले रेडियो नेपालको काठमाडौं स्टुडियो पुगेर विभिन्न लोकगीत रेकर्ड गराएका थिए । पोखरा फर्किएर पनि अरू गीत रेकर्ड गरे । पोखरामा उनले सारंगी र मादलको प्रशिक्षकका रूपमा लामो समय काम गरे । नेपाली फिल्म कान्छी, सन्तान, पहिलो प्रेम, के घर के डेरा, फेरि भेटौंला, सिन्दूर र जापानीज छोटो फिल्ममा उनको नृत्य र सारंगीवादकका रूपमा अभिनय गरेको देख्न पाइन्छ ।

पोखरा लोक संगीत समूहका अध्यक्ष उनी हिमाली सांस्कृतिक समूह, संगीत प्रशिक्षण केन्द्र, पोखरेली युवा सांस्कृतिक परिवार, शुक्ला साहित्य समिति गन्धर्व समाज, गन्धर्व संग्रहालय भवन निर्माण समिति, लोक दोहोरी गीत प्रतिष्ठान कास्कीलगायतका संस्थामा आबद्ध थिए । उनको निधनले लोकगीतको क्षेत्रमा अपूरणीय क्षति भएको लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले बताएका छन् । गन्धर्वको सोमबार नै पोखरामा अन्त्येष्टि गरिएको छ । धनबहादुरको श्रीमती, एक छोरी र दुई छोरा छन् ।

जीवनका झन्डै चार दशक उनको हातमा सारंगी टुटेको थिएन । लोकसंगीतलाई माथि उठाउन उनले सारंगीसँगै मादललाई पनि लिएर हिँडेका थिए । नयाँ पुस्तालाई नेपाली मौलिक संगीतको स्वाद दिनुपर्छ भनेर अहोरात्र खटिने सर्जक धनबहादुर गायकले सधैंको निम्ति विश्राम लिँदा बाटुलेचौरको गन्धर्व बस्ती शोकाकुल छ । गन्धर्व समुदाय विकास केन्द्रका सल्लाहकार हर्क गायक भन्छन्, ‘सारंगीवादनमा सबैलाई हौस्याउने अगुवालाई हामीले गुमायौं ।’

सारंगी संस्कृति गन्धर्व समाजको मात्र नभएर सिंगो मुलुकको संस्कृति भएकाले जोगाउनुपर्ने धनबहादुरको धारणा थियो । त्यसैले उनी बालबालिकालाई सारंगी सिकाउँथे । नयाँ पुस्ता बिस्तारै अन्य पेसा तथा व्यवसायतिर आकर्षित हुन थाल्दा सारंगी बजाउने सीप बिर्सिनेमा उनलाई चिन्ता थियो । त्यसैले प्रशिक्षण गराउने मात्र नभई कार्यक्रम, भेला र जमघटमा सारंगी बजाउन उनी आफैं अघि सर्थे ।

धनबहादुर दिग्गज लोकगायक झलकमान गन्धर्वका भान्जा थिए । नेपाली संगीत जगत्मा मामाको योगदानलाई अपेक्षित रूपमा स्मरण नगरेको दुखेसो उनी गर्थे । मौलिक लोकसंगीत सिर्जना र संरक्षणमा आफ्नो जीवन अर्पेका झलकमानकै स्मरण र सारंगी संरक्षणका लागि उनले पाठशाला स्थापना गर्न अगुवाइ गरेका थिए ।

लोक संस्कृति तथा सारंगीमा धनबहादुरको योगदान अतुलनीय रहेको गन्धर्व सांस्कृतिक कला संगठनका अध्यक्ष पुजन गन्धर्वले बताए । ‘लोकबाजा सारंगी संस्कृति संरक्षणकर्ताका रूपमा उहाँ हाम्रा लागि प्रेरणाको स्रोत हुनुहुन्थ्यो,’ उनले भने, ‘नयाँ पुस्तालाई उहाँले जीविकोपार्जनसँगै संस्कृतिका रूपमा ढालेर सारंगीलाई सिकाएर जानु भो ।’

उनले धनबहादुरलाई एक कुशल सारंगीवादक, मादलवादक, लोकसंगीतका प्रशिक्षक तथा नयाँ पुस्ताका लागि प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गरे ।

प्रकाशित : माघ १३, २०७७ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?