१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

निर्वाचन तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री ओली

‘निर्वाचनमा जान डराउने अनि लोकतन्त्रका कुरा गर्ने ? मैले शासनमा बसिरहन्छु भनेको छैन । जनताको मत लिने भनेको छु ।’
दुर्गालाल केसी

दाङ — प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन तोकिएकै मितिमा हुने दाबी गरेका छन् । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको लालमटियामा सोमबार नेकपा (ओली समूह) ले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले जनताको फैसला लिन आतुर रहेको बताए ।

निर्वाचन तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री ओली

उनले आफू जबर्जस्ती प्रधानमन्त्री बन्न नखोजेको बताए । ‘के मैले जनताले भनेको मान्दिनँ, जबर्जस्ती प्रधानमन्त्री हुन्छु भनेको छु र ? म के दुई ठाउँमा चुनाव हारेर पनि प्रधानमन्त्री हुने जस्केलाको बाटो हिँडेको छु र ?’ उनले भने, ‘अध्यक्ष हारेपछि मलाई अध्यक्ष चाहियो भनेर केटाकेटीजस्तो क्याङक्याङ गरेको छु र ? त्यो मेरो तरिका होइन । मेरो तरिका जनताको बीचमा जाने हो ।’

जनताको साथ लिएर देश बनाउने उद्देश्य रहेको उल्लेख गर्दै उनले त्यस उद्देश्यलाई असफल बनाउन केही नेता लागिपरेको बताए । जनताको मत लिन खोज्नु गलत नभएको र कसैले असफल बनाउन खोज्दैमा नहुने उनले बताए । ‘म असफल हुन्नँ, जनता असफल हुँदैनन् । मैले जनताको बीचमा जान्छु भनेको छु । के यो गलत हो ?’ उनले भने, ‘निर्वाचनमा जान डराउने अनि लोकतन्त्रका कुरा गर्ने ? मैले शासनमा बसिरहन्छु भनेको छैन । जनताको मत लिने भनेको छु ।’

सरकारको नेतृत्व गर्दा पनि कुनै हिसाबले काम गर्न नदिएपछि प्रतिनिधिसभा विघटनको निर्णयमा पुगेको उनले बताए । ‘अलिकति अगाडि बढ्न खोज्यो, खुट्टा समाउँछन्, फेरि अलिकति अगाडि बढ्न खोज्यो दौराको फेर समाउँछन्,’ उनले भने, ‘कामै गर्न नदिएपछि जनताले नै दण्डित गरुन् भनेर चुनाव घोषणा गरेको हुँ । अब त्यस्ता गलत तत्त्वलाई जनताले नै ठीक गर्छन् ।’

कोही नेताले हिंसाको धम्की दिँदैमा अब कोही नडराउने उनले बताए । चौतारी र रेस्टुरेन्टमा बसेर आफैंलाई अध्यक्ष भएँ भनेर घोषणा गर्दैमा नहुने उनको भनाइ थियो । ‘रेस्टुरेन्टमा बसेर आफैंलाई अध्यक्ष घोषणा गरिदिने ? त्यसलाई पनि निर्वाचन आयोगले खत्तम पारिदिएको छ, कोही अध्यक्ष भएका छैनौ भनेर,’ उनले भने, ‘पार्टीको बैठकमा नआएर रेस्टुरेन्टमा बसेर केपी ओलीलाई साधारण सदस्यबाट पनि निकाले रे ! तपाईंहरूलाई हाँसो लागेन यो सुनेर ?’

जनताको साथ लिएर देशलाई धेरै अगाडि बढाउने सपना देखेको उनले बताए । अब कोही पनि भोकै नपर्ने र भोकै नमर्ने अवस्था आउन थालेको उनले बताए । ‘हामी कसैलाई भोकै मर्न दिँदैनौं, गरिबी हटाउने अभियानमा छौं,’ उनले भने, ‘हामीले एकै दिन ३ सय ९ वटा अस्पताल शिलान्यास गरेका छौं,’ उनले भने, ‘यस्ता असाधारण काम कतै भएका छैनन् । हामी देशमा धेरै काम गर्न चाहन्छौं । यसका लागि सबैको साथ चाहिएको छ ।’

सडक, शिक्षा, भूकम्पले भत्काएका संरचना पुनर्निर्माणजस्ता काममा सरकारले ध्यान दिएको उनले बताए । ‘वन भएका सडकमा चार लेन र नभएकामा ६ लेनको सडक बनाउँदै छौं,’ उनले भने, ‘पुल, बाटा धेरै बनेका छन् । सबैलाई थाहा छ । जनता विकासको पक्षमा छन्, सरकार यसको नेतृत्व गरिरहेको छ ।’

भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, खानेपानीमन्त्री मणि थापा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेताहरू शान्ता चौधरी, रेवतीरमण शर्मालगायतले पनि सभालाई सम्बोधन गरेका थिए ।

प्रकाशित : माघ १३, २०७७ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?