अवैध अन्तर्वार्ता लिने एसओएस म्यानपावरमाथिको कारबाही श्रममन्त्री चौधरीद्वारा फुकुवा- समाचार - कान्तिपुर समाचार

अवैध अन्तर्वार्ता लिने एसओएस म्यानपावरमाथिको कारबाही श्रममन्त्री चौधरीद्वारा फुकुवा

अब म्यानपावर कम्पनीको अवैध कार्यलाई हामीले टुलुटुलु हेरेर बसे भो : विभाग
कल्याण सेक्युरिटी सर्भिसमा पनि छापा
होम कार्की

काठमाडौँ — कतारी प्रहरी सेवामा श्रमिक पठाउन अवैध अन्तर्वार्ता लिने एसओएस म्यानपावर सर्भिसमाथि गरिएको कारबाही श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले फुकुवा गरेका छन् ।

वैदेशिक रोजगार विभागबाट म्यानपावर कम्पनीलाई निलम्बनमा राखी छानबिन भइरहेकै बेला मन्त्री चौधरीले शुक्रबार फुकुवा गरेका हुन् । कारबाही फुकुवा गर्नेबारे मन्त्रीले लेखेको पत्र सोमबार विभाग पुगेको छ ।

गत मंसिर ८ गते एसओएसले अवैध अन्तर्वार्ता लिइरहेको अवस्थामा विभागबाट खटिएको अनुसन्धान टोलीले छापा मारी कारबाही गरेको थियो । छानबिन पूरा नभएसम्म विभागले एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनललाई ६ महिनासम्म निलम्बन गरेको थियो । मन्त्री चौधरीले अहिले एसओएसलाई मात्रै फुकुवा गरिदिएका हुन् ।

विभागले म्यानपावर कम्पनीमाथि गरेको कारबाही कानुनसम्मत नभएको र उचित कानुनी प्रक्रिया पूरा नगरेको मन्त्री चौधरीले निर्णयमा लेखेका छन् । ‘विभागबाट मंसिर ८ मा खटिएको आकस्मिक अनुगमन टोलीले तयार गरेको खानतलासी तथा बरामदी मुचुल्कामा उल्लेख भएबमोजिम एसओएसले वैदेशिक रोजगार ऐनको दफा १५ र १६ विपरीत कामकारबाही गरेको पुष्टि हुने कागजात प्रमाण बरामद भएको नदेखिएको,’ निर्णयमा भनिएको छ, ‘साथै विभागबाट मंसिर ८ गते नै ऐनको दफा ६१ को उपदफा ७ बमोजिम संस्थाको हाल ६ महिनाका लागि सम्पूर्ण कामकारबाही निलम्बन गर्ने गरी भएको निर्णय प्राकृतिक न्यायिक सिद्धान्तविपरीत एवं कानुनसम्मत भएको नदेखिँदा विभागबाट गरिएको उक्त निर्णय बदर गरी एसओएसले नियमित कामकारबाही गर्न पाउने निर्णय गरिदिएँ ।’

एसओएस नेपालबाट सबैभन्दा बढी श्रमिक पठाउने म्यानपावर कम्पनीभित्र पर्छ । एसओएसका अध्यक्ष हेमबहादुर गुरुङले नै कतार भिसा सेन्टर चलाउँदै आएका छन् । पूर्वश्रममन्त्री गोकर्ण विष्टले नेपाल र कतारबीच भएको श्रम सम्झौतालाई पुनरावलोकन गरी कतार भिसा सेन्टर खोल्न अनुमति नदिएपछि गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत सेन्टर सञ्चालन गर्न परराष्ट्रलाई निर्देशन दिन लगाएका थिए । उनलाई तत्कालीन श्रममन्त्री रामेश्वर राय यादवले पनि वैदेशिक रोजगार बोर्डको सदस्यमा नियुक्ति गरेका थिए । उक्त निर्णय विवादमा परेपछि गुरुङले राजीनामा दिएका थिए ।

वैदेशिक रोजगार विभागले मन्त्री चौधरीको निर्णयप्रति असन्तुष्टि जनाएको छ । ‘मन्त्रीबाट यसरी विभागको कार्यसम्पादनलाई नै हस्तक्षेप र असहयोग हुन्छ भन्ने कल्पना गरेका थिएनौं । प्रशस्त आधार हुँदाहुँदै र छानबिनका क्रममा नै रहेको अवस्थामा म्यानपावर कम्पनीमाथि कारबाही नगर्ने तहमा सिधै जानु उचित थिएन,’ विभागका एक अधिकारीले भने, ‘अब हामीले श्रमिक भर्ना प्रक्रियामा उल्लंघन गर्ने म्यानपावर कम्पनीलाई टुलुटुलु हेरेर बसे भयो ।’

एसओएसलगायत तीन म्यानपावर कम्पनीले नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरण नगरी कतार प्रहरी सेवामा पठाउन अवैध अन्तर्वार्ता लिएका थिए । अन्तर्वार्ता लिन कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीसमेत कम्पनी पुगेका थिए । भारतको बाटो हुँदै अवैध रूपमा कतार प्रहरीमा नेपाली युवालाई पठाउन अन्तर्वार्ता लिइएको सूचनाका आधारमा विभागले सोमबार काठमाडौंको सिनामंगलस्थित कल्याण सेक्युरिटी सर्भिस प्रालिमा छापा मारेको छ । म्यानपावरबाट जफत गरिएको कागजातको छानबिन भइरहेको विभागले जनाएको छ ।

कतारले छनोट गरेको म्यानपावर कम्पनीबाट अवैध रूपमा लिइएको अन्तर्वार्तामा छनिएका युवा श्रमस्वीकृति नपाएपछि कतारी अधिकारीहरूको मिलेमतोमा भारतीय बाटो हुँदै कतार जान थालेका छन् । कतारले दोस्रो लटमा तीन सय जनालाई लैजान अन्तर्वार्ता लिएको थियो । पहिलो लटमा भने वैध प्रक्रियाबाट गत फागुनमा एक सय ७९ जना लगिएको थियो । प्रहरी सेवामा जान इच्छुकसँग १२ देखि १५ लाख रुपैयाँसम्म उठाइएको छ । पहिलो लटमा गएकाहरूले पनि ८ लाखदेखि १२ लाखसम्म बुझाएका थिए । प्रहरी सेवामा भर्ती हुन २५ देखि ३६ वर्ष उमेर, उचाइ ५.८ फिटको हुनुपर्नेछ ।

करार अवधि भने पछि नवीकरण हुने गरी ५ वर्ष तोकिएको छ । तालिमको समयमा ३ हजार रियाल र तालिम सकेपछि ६ हजार रियाल पाउने भनिएको छ । आकर्षक तलब भएपछि युवाहरू एजेन्ट वा म्यानपावरले माग गरेअनुसार रकम तिर्न तयार देखिएका हुन् ।

कतारले विश्वकपलाई समेत लक्षित गरी सुरक्षा गार्डमा झन्डै १२ हजारसम्म नेपाली लैजाने योजना बनाएको छ ।

सम्बन्धित समाचार :

प्रकाशित : माघ १२, २०७७ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्

कतारी प्रहरीमा भर्ना हुन भारतीय बाटो

म्यानपावर कम्पनीसँगको मिलेमतोमा कतारी प्रतिनिधिले अवैध रुपमा अन्तर्वार्ता लिई छानेका युवालाई श्रमस्वीकृति नपाएपछि भारत हुँदै लान थालिएको हो ।
श्रम सम्झौता उल्लंघन भयो, कतारले नेपाललाई हेप्यो । – कुमार दाहाल - महानिर्देशक, वैदेशिक रोजगार विभाग
होम कार्की

काठमाडौँ — नेपाल सरकारको अनुमतिबिनै एजेन्टले कतारी प्रहरी सेवाका लागि अवैध रूपमा नेपाली युवा लैजान थालेका छन् । म्यानपावर कम्पनीसँगको मिलेमतोमा कतारी प्रतिनिधिले अन्तर्वार्ता लिई छनोट गरेका युवाले सरकारबाट श्रमस्वीकृति नपाएपछि उनीहरूलाई भारतीय बाटो हुँदै कतार लैजान थालिएको हो ।

फाइल तस्बिर : कतार प्रहरीमा भर्तीका लागि अन्तर्वार्ता दिन काठमाडौंको डीडी ओभरसिज प्रालिमा मंसिर ८ गते भेला भएका युवा

कतारले पहिलो चरणमा गत फागुनमा वैधानिक रूपमै १ सय ७९ जना युवालाई लगेको थियो । तर, दोस्रो चरणमा नेपालको सरकारी प्रक्रिया लत्याउँदै ३ सय युवालाई लैजान अवैध अन्तर्वार्ता लिएको थियो । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कतार सरकारले नेपाललाई हेपेको बताए ।

‘युवालाई भारतीय बाटो हुँदै कतार धमाधम पठाइरहेको सूचना प्राप्त भइरहेको छ । यो सरासर गलत काम भयो । कतारले नेपाललाई हेप्यो,’ उनले कान्तिपुरसँग भने, ‘कतारबाटै श्रम सम्झौता उल्लंघन भयो । यसले हामीलाई निकै दुखित बनाएको छ ।’ विभागले अवैध रूपमा कतारी प्रहरी सेवामा जानेहरूको रेकर्ड राख्न थालेको जनाएको छ ।

भारतीय बाटो हुँदै कतार पठाउने कार्यमा अवैध अन्तर्वार्ता लिने म्यानपावर कम्पनी वा अरू नै एजेन्ट संलग्न रहेको बारे यकिन भइनसकेको दाहालले बताए । ‘अहिले सूचना संकलन र प्रमाण जुटाउने काम गरिरहेका छौं । यसमा संलग्न हुनेको खोजी भइरहेको छ,’ उनले भने, ‘एकातर्फ अनुमति नलिई अवैध अन्तर्वार्ता लिन आउने र अर्कोतर्फ नेपालको सहमतिविपरीत भिसा जारी गर्ने काम सही भएन ।’ वैदेशिक रोजगार ऐनमा मागपत्र प्रमाणीकरण भई अन्तर्वार्तामा छनोट भइसकेपछि मात्रै म्यानपावर कम्पनीको अनुरोधमा रोजगारदाताले भिसा जारी गर्ने व्यवस्था छ ।

कतार प्रहरीमा छनोट : म्यानपावर कम्पनीबाटै चलखेल

कतारले नेपालको श्रमिक भर्ना प्रक्रियाअनुसार नै सहज रूपमा प्रहरी सेवामा नेपाली युवा लैजान सक्ने अवस्था रहेको दाहाल बताउँछन् । कतारको आन्तरिक मन्त्रालयको मानव संसाधन विभागले दोहास्थित नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरण नगरी सोझै काठमाडौंस्थित म्यानपावर कम्पनीले युवासँग अन्तर्वार्ता थालेपछि कुरा बिग्रिएको हो । उक्त कार्यमा एसओएस म्यानपावर सर्भिसेस, डीडी ह्युमन रिसोर्सेस, होप इन्टरनेसनल र अल–थाक्वेत ओभरसिजले सहजीकरण गरेका थिए ।

अनुगमनका क्रममा अवैध अन्तर्वार्ता लिएको फेला परेपछि विभागले एसओएस, डीडी ह्युमेन रिसोर्सेस र होपलाई ६ महिनासम्म कुनै पनि मुलुकमा श्रमिक पठाउन नपाउने गरी कारोबार रोक्का गरेको थियो । अल–थाक्वेतले भने सन् २०१९ अगस्ट २३ मा ७७ जनालाई कतारी प्रहरीमा पठाउनका लागि अन्तर्वार्ता लिन विभागबाट स्वीकृति लिएकामा ५ जनाको बाँकी रहेकाले कारबाही गरिएन ।

कतारद्वारा प्रहरीमा भर्ती गर्न अनुमति नलिई अन्तर्वार्ता

वैदेशिक रोजगार व्यवसायी संघले अवैध अन्तर्वार्ताको प्रक्रिया टुंग्याउन र म्यानपावर कम्पनीलाई मागपत्र भागबन्डा गर्न गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाको सलंग्नता रहेको आरोप लगाएको छ । ‘मंसिर पहिलो साता अन्तर्वार्ता लिन कतारी अधिकारीहरू नेपाल आएका थिए । त्यसबेला प्रतीक अन्तर्वार्ता सफल हुन्छ भन्दै दिनभर भैंसेपाटीस्थित कतारी दूतावासको कार्यालयमा बसेका थिए ।

हाम्रो दबाबमा विभागले छापा मारेपछि प्रतीकले एक डीएसपीलाई प्रयोग गरी संघका महासचिव सुजितकुमार श्रेष्ठलाई रेस्टुरेन्टमा बोलाएर मौन बस्न भने,’ संघका एक पदाधिकारीले कान्तिपुरसँग भने, ‘यो निकै गम्भीर विषय थियो । यसबारे संघले सम्बन्धित ठाउँमा जानकारी दिएको छ ।’ यसबारे कुरा गर्न खोज्दा प्रतीक सम्पर्कमा आउन चाहेनन् ।

ती पदाधिकारीका अनुसार दोस्रो चरणमा नेपाली युवा कतारी प्रहरी सेवामा लैजान कम्तीमा २० करोड रुपैयाँको चलखेल भएको छ । प्रहरी सेवामा जान इच्छुकसँग प्रतिव्यक्ति १२ लाखदेखि १५ लाख रुपैयाँसम्म असुल गरिएको छ । रकम भुक्तानी गरिसकेका युवालाई जसरी भए पनि पठाउने तयारी भइरहेको सूचना विभागसँग छ ।

पहिलो चरणमा गएकाहरूले पनि प्रतिव्यक्ति ८ लाखदेखि १२ लाख रुपैयाँसम्म तिरेका थिए । कतारी प्रहरी सेवामा भर्ती हुन उमेर २५ देखि ३६ वर्ष, उचाइ ५.८ फिट हुनुपर्ने जनाइएको छ । करार अवधि भने पछि नवीकरण हुने गरी ५ वर्ष तोकिएको छ । तालिमको समयमा ३ हजार रियाल र तालिम सकिएपछि ६ हजार रियाल पाउने भनिएको छ ।

सन् २०२२ मा आयोजना हुने फुटबल विश्वकपलाई समेत लक्ष्य गरी सुरक्षा गार्डमा झन्डै १२ हजार नेपाली लैजाने कतारको योजना छ । नेपालले भने जीटूजी (सरकार-सरकारबीच) को अर्को समझदारी गरेर मात्रै नेपालीलाई कतारी सुरक्षाफौजमा भर्ना गर्न आग्रह गर्दै आएको छ ।

प्रकाशित : माघ १२, २०७७ ०८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×