२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

दाहालले शिलान्यास गरेको पुल ओलीद्वारा उद्घाटन

रासस

लुम्बिनी — प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्मित पुल सोमबार उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घाटनका लागि राप्ती उपत्यकाको सिसहनिया पुगेका हुन् ।  

दाहालले शिलान्यास गरेको पुल ओलीद्वारा उद्घाटन

प्रधानमन्त्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, मन्त्री, प्रदेशसभाका सदस्य र प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलगायतले स्वागत गरेका थिए । पुल उद्घाटनपछि उनले राप्ती गाउँपालिका–२ लालमटियामा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी बनेको यो पक्की पुल नेपालकै दोस्रो लामो हो ।

निर्धारित समयभन्दा चार महिनाअगाडि नै निर्माण भएको पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करिब एक अर्ब लागतको उक्त पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो । पुल निर्माणपछि देउखुरी क्षेत्रका सिसहनिया–महदेवा वारपार गर्न सहज भएको छ । यसअघि वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले राप्ती नदी डुंगाबाट वारपार गर्नुपर्ने बाध्यता थियो । पुल निर्माणसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज हुने छ ।

पुल निर्माणबाट साबिकको गोबरडिहा गाविस र साबिकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । पछिल्लो समय पुल पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । दाङ जिल्लाका मात्रै नभएर बाहिरी जिल्लाबाटसमेत आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् ।

अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट आउँदा कालाकाटे–भालुवाङ हुँदै करिब डेढ घण्टा सवारी साधनबाट यात्रा गर्नुपर्ने अवस्था छ । पुल निर्माणसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ ।

बर्दियाको गेरुवा नदीमा पुल बनाएकै कम्पनी द एएनके लुम्बिनी वाईपी जेभीले देउखुरीको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०७३ मंसिर २२ गते पुल शिलान्यास गरेका थिए ।

प्रकाशित : माघ १२, २०७७ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?