कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जब बितिन् ‘बेला’

‘कुकुरलाई पशु हो भनेर हेप्न खोज्छन् । सबैको बाँच्ने अधिकार उत्तिकै हुन्छ नि, कस्तो नबुझेको ?’
मनोज पौडेल

कपिलवस्तु — गत सातादेखि वाणगंगा नगरपालिका–४ बुङ्चीकी अस्मिता भट्टराईको मुहार हँसिलो छैन । उनलाई खाना रुचि हुँदैन । निद्रा पनि सजिलै आउँदैन । पारिवारिक सदस्यजस्तै गरेर पालेको कुकुर मरेपछि उनलाई पीर परेको हो । स्वास्थ्यकर्मीको लापरबाहीले कुकुर मारिएको उनको गुनासो छ । 

जब बितिन् ‘बेला’

प्यारो कुकुरको असामयिक मरणले उनलाई कतिसम्म व्यथित बनाएको छ भने दिनभरिको जागिरपछि थाकेर साँझ कोठामा सम्झेर सुँक्क सुँक्क गर्छिन् । कोठामा पस्नासाथ पुच्छर हल्लाउँदै आउने त्यो कुकुरको सम्झना आउने उनी बताउँछिन् । मन बुझाएर जेनतेन सुत्न खोज्छिन् तर निदाउन सक्दिनन् । यस्तो सुर्ताले एक सातादेखि सुत्दा रातको २ बज्ने गरेको उनले बताइन् । उनका श्रीमान् अनमोल सिंहको पनि मन कुँढिएको छ । अनुहारमा पीडा र तनाव स्पष्ट देखिन्छ ।

श्रीमतीलाई सम्झाउँदा सम्झाउँदै आफैं भावुक बन्छन् । अनि बोली नै फुट्दैन उनको । मायाले पालेकाले परिवारको सदस्यतुल्य भएको कुकुर मरेपछि उनीहरूको घरमा अहिले सन्नाटा छ । दुई वर्षअघि विवाह गरेका उनीहरू हाँसीखुसी रमाइलो गर्नुपर्ने बेला पीडामा परेको सुनाउँछन् । दुःखमा मलम लगाउन सातायतादेखि दगुर्दा दगुर्दै सबैले बेवास्ता र हाँसोमा उडाउँदा अझ दुःखी बन्नुपरेको उनीहरूले बताए ।

पशु चिकित्सकको लापरबाहीले कुकुर मरेको उनीहरूको ठहर छ । इप्रका पिपरा, पिपरा पशु कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा जसका कारण कुकुर मारियो, उसलाई कारबाहीको माग गर्दै जाहेरी दिए पनि कतैबाट सुनुवाइ नभएकामा उनीहरू थप दुःखी छन् । ‘कुकुरलाई पशु हो भनेर हेप्न खोज्छन्,’ अस्मिताले भनिन्, ‘सबैको बाँच्ने अधिकार उत्तिकै हुन्छ नि, कस्तो नबुझेको ?’

लापरबाही र हेलचेक्रयाइँले कसैको मृत्यु भयो भने दोषीलाई कारबाही हुँदा यस्ता घटना दोहोरिन पाउँदैनन् । त्यसैले आफूहरू जसरी पनि दोषीलाई कारबाहीको दायरामा ल्याउन लागेको अनमोलले सुनाए । ‘कुकुरको महत्त्व बुझाउँदा बुझाउँदै हामी थाकिसक्यौं,’ उनले भने, ‘तर कोही संवेदनशील नहुँदा चिन्तित छौं ।’ घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने उनीहरूको माग छ ।

चाइनिज ब्रिडको पग जातको उनीहरूले ‘बेला’ नाम दिएको कुकुरले पुस २६ गते राति पाँचवटा छाउरा जन्मायो । करिब तीन वर्षको उसलाई प्रसूति गराउने, नगराउने भनेर सिंह दम्पतीले ओदारीका निजी भेटेनरीकर्मी विष्णु घिमिरेसँग सल्लाह मागेका थिए । कुकुरको स्वास्थ्य सल्लाह र उपचारका लागि उनीबाटै सल्लाह सुझाव लिन्थ्यो यो नवदम्पतीले ।

दिउँसो २ बजे सुत्केरी बेथा लागेपछि अनमोलले आफ्ना साथी घिमिरेलाई घरमा बोलाए । राति ९ बजेसम्म पाँचवटा बच्चा जन्मिए । त्यसपछि उनी घर फर्के । ‘अर्को दिनबाट उनी त सम्पर्कमै आएनन्,’ अनमोलले भने, ‘फोन गर्दा उठाएनन्, पछि काठमाडौं गएको भनेर आएनन् ।’

समय बित्दै गयो । माघ १ गते कुकुर सिकिस्त भयो र बिहान ९ बजे मर्‍यो । कुकुर एक्कासि मरेपछि जितपुरका अर्का भेटेनरी तालिम लिएका पर्वत घिमिरेकहाँ उनीहरू पुगे । घिमिरेले मृत कुकुरको पेट चिरेर हेर्दा दुईवटा छाउरा पेटमै मरेको अवस्थामा भेटिए । ५ वटा बच्चा जन्मिएपछि अब बच्चा छैनन् भनेर विष्णुले भनेपछि आफू ढुक्क हुँदा समस्या आएर कुकुर मरेको अनमोलको निचोड छ । तर विष्णु यो मान्न तयार छैनन् । कुकुरलाई राम्ररी प्रसूति गराएर औषधि उपचार गरेको उनको दाबी छ ।

अस्मिता र अनमोल

‘मैले त कुनै कमजोरी गरेको छैन,’ उनले भने, ‘काम गर्दागर्दै दुर्घटना हुन्छन्, यहाँ पनि त्यही भएको हो ।’ सकुशल जन्मेका ५ वटा बच्चा पनि अहिले मरेका छन् । यस घटनाअघि लकडाउनका बेला पनि विष्णुकै कमजोरीका कारण आफ्नो अर्को इटालियन प्रजातिको कुकुर मरेको अनमोलले गुनासो गरे । अनमोलकी श्रीमती अस्मिता सानैदेखि कुकुर पाल्न मन पराउने हुन् ।

अस्मिताले कुकुर मन पराउँछिन् भनेरै प्रेमी अनमोलले बुटवलबाट ३० हजार रुपैयाँमा किनेर उपहार दिएका थिए । दुवैले त्यसको नाम ‘बेला’ राखिदिएका थिए । अस्मिता र अनमोलको प्रेम विवाहमा परिणत भएपछि अस्मिताले कुकुर पनि सँगै ल्याइन् । उनले कुकुरलाई आफैंसँग सुताउँथिन् । आफैं खुवाउँथिन् । छोरी भन्थिन् । हातमा कुकुरकै ट्याटु बनाएकी छन् ।

कुकुरलाई औधि माया र प्रेम गर्ने हुँदा उनी अहिले विक्षिप्त बनेकी हुन् । प्रेमी अनमोल र बेला समान लाग्ने गरेको अस्मिताले बताइन् । बेलाकै कारण उनीहरूको प्रेम सम्बन्ध पनि प्रगाढ बन्दै गएको अस्मिताले सुनाइन् ।

२०७५ वैशाखमा कुकुर उपहार पाएकी अस्मिताले त्यसको तीन महिनापछि अनमोलसँग लगनगाँठो बाँधेकी थिइन् । कुकुर मन पराउने भएकै कारण उनीहरूले अहिले घरमा डगी हाउस पनि सञ्चालन गरेका छन् ।

प्रकाशित : माघ १२, २०७७ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?