संसद् विघटनको विरोध गर्नेहरु संविधान र देश विरोधी : प्रधानमन्त्री ओली

'सायद दुईवटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमै छैनन् होला'

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन असंवैधानिक भयो भन्नेहरु देश र संविधान विरोधी भएको आरोप लगाएका छन् । 

संसद् विघटनको विरोध गर्नेहरु संविधान र देश विरोधी : प्रधानमन्त्री ओली

आइतबार काठमाडौंमा आयोजित अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा प्रधानमन्त्रीसँग साक्षात्कार कार्यक्रममा बोल्दै ओलीले संसद् विघटन असंवैधानिक भयो भनेर कराउनेहरु संविधान र देश विरोधी भएको बताएका हुन् ।

‘संसद् विघटन असंवैधानिक, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन्, ती कराउने मान्छे संविधान विरोधी हुन् । लोकतन्त्र विरोधी, देश विरोधी, जन विरोधी मान्छेहरु हुन्,’ ओलीले भने, 'अस्थिरता खडा हुने देशमा स्थिरता हुन नदिने र बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाएर स्थिरताको नाटक गर्ने, संसद्‌मा पाँचै वर्ष जागिर खान पाउनु पर्छ चुनिएर आएपछि भन्ने, संसद् भनेको जागिर हो ? संसद् भनेको जागिर हैन ।’

देशलाई अस्थिरतातर्फ धकेल्न खोजेपछि स्थिरताको लागि ताजा जनोदशमा जाने निर्णय गरेको ओलीले दाबी गरे ।

‘अस्थिरतातर्फ मूलुकलाई धकेल्न खोजेपछि स्थिरताको लागि ताजा जनादेशमा गएको हो । मैले आफ्नो हातमा लिएको छैन । आफ्नो हातमा लिएको भए तानाशाह हुन्थ्यो । जनताले फैसला गर्नुस् भन्दा म तानाशाह भए ? मेरो काम के भयो जनताले मूल्यांकन गर्नुस्, अरुको पनि मूल्यांकन गर्नुस् भनेको छु,’ ओलीले भने ।

उनले देशको अहितमा काम गर्ने देशद्रोहीलाई तह लगाउन पनि निर्वाचन आवश्यक भएको दाबी गरे । प्रधानमन्त्री ओलीले आफू पनि अलिअलि अपांगता भएको भन्दै दुई वटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमा नभएको दाबी गरे ।

‘म पनि अलिअलि अपांगता भएको मान्छे हुँ । मेरो किड्नी फेल भएर अर्को किड्नी जोडेर राखेको छु । अर्को किड्नीको ह्लचियर चढेर हिँड्ने मान्छे हुँ । त्यो किड्नी फेल भयो । फेरि अर्को किड्नी राखेर त्यसको वैशाखी टेकेर हिँडेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘अर्को किड्नी फेरेर पनि काम गर्न सकिन्छ भन्ने आत्मविश्वास मैले लिए । सायद दुईवटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमै छैनन् होला ।’

देश बिगार्न खोज्नेहरु भागीभागी हिँडेको ओलीको दाबी छ । ‘दुईवटा किड्नी फेरे पनि मैले गाली गरेको छैन, केही भनेको छैन । तर, देश बिगार्न खोज्ने, जनताको अहित गर्ने, लोकतन्त्र विरोधी तत्वहरु, जनताको शासन मास्न खोज्ने तत्वहरु भागीभागी हिँडेका छन् । अपांगता अलिकति कम–बेसी हो । अपांग हैनौं भन्ने ठूलाठूला मान्छेहरु मानसिक रुपमा झन् अपांगता भएका हुन्,’ ओलीले दाबी गरे ।

प्रकाशित : माघ ११, २०७७ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?