राजपत्रको आधिकारिकताबारे इजलासमा प्रश्न उठाइयो- समाचार - कान्तिपुर समाचार

राजपत्रको आधिकारिकताबारे इजलासमा प्रश्न उठाइयो

जयसिंह महरा

काठमाडौँ — प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना राजपत्रमा छापिएको बारे नेकपाका प्रमुख सचेतक देव गुरुङ, कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्रीलगायतले सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रश्न उठाएका छन् ।

आइतबारको सुनुवाइ सुरु हुनेबित्तिकै निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रश्न उठाएका हुन् ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएको र माघ ८ गते राति छापेर माघ ९ गते शुक्रबारको इजलासमा महान्यायाधिवक्ता अग्नि खरेलले पेस गरेका थिए ।

माघ ७ गतेको इजलासमा अधिवक्ताहरू ‌ओमप्रकाश अर्याल, टीकाराम भट्टराईलगायतले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा जारी नभएको भन्दै प्रश्न उठाएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले भने उक्त विषयमा इजलास प्रवेश गर्न नसक्ने बताएका थिए ।

उनले श्रेष्ठलाई उक्त विषयबारे धारणा राख्न दिएनन् । निवेदन इजलासमा भने पेस गरिएको छ ।

निवेदनमा प्रधानमन्त्री केपी शर्मा ओली संविधानको धारा ७६ (१) बमोजिम हुन् कि उपधारा (२) बमोजिम हुन् भन्नेबारे राजपत्रमा प्रकाशित सूचना मगाउन पनि माग गरिएको छ ।

ओली सरकार संविधानको धारा ७६ को उपधारा १ बमोजिम कि उपधारा २ कुन बमोजिम हो भन्नेबारे विवाद उत्पन्न भएको छ । निवेदकहरूले प्रधानमन्त्री ७६ (१) बमोजिमको उल्लेख गरेकाले सोही अनुसार हो भनेर इजलासले भन्दै आएको छ भने पछिल्लो समय निवेदक र उनीहरूका कानुन व्यवसायीले धारा ७६ उपधारा २ बमोजिमका प्रधानमन्त्री भएको तर्क राख्दै आएका छन् ।

राजपत्रबारे इजलासमा पेस गरिएको निवेदनः


प्रकाशित : माघ ११, २०७७ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्

हिमपातपछि बढ्यो वन्यजन्तुको चोरीसिकार

चैनपुरका होटलमा प्रतिबन्धित र लोपोन्मुख वन्यजन्तुको मासु जताततै पाइन्छ । सिकारीले सजिलै मारेर ल्याइदिन्छन् । जनप्रतिनिधि, नेता, व्यापारी, कार्यालय प्रमुखदेखि सर्वसाधारणसम्मले किन्ने गरेका छन् ।
वसन्तप्रताप सिंह

बझाङ — तलकोट गाउँपालिकाको सुनिकोटतिरबाट बुधबार साँझ आएका दुई मोटरसाइकल सदरमुकाम चैनपुरस्थित जिप पार्कनजिकै रोकिए । मोटरसाइकलमा सवार व्यक्तिले उनीहरूलाई पर्खिबसेका दुई जनालाई तीनवटा कालो झोला थमाए । केहीबेर त्यहाँ छलफल चल्यो । नगद कारोबार पनि भयो र मोटरसाइकलमा सवार व्यक्ति आएकै बाटो फर्किए ।

उक्त स्थान जिल्ला प्रहरी कार्यालयबाट करिब पाँच सय मिटर दूरीमा पर्छ । कालो झोलामा मारिएका राष्ट्रिय चरा डाँफे थिए । त्यो पनि सिकारीबाट प्रतिगोटा २ हजार ५ सय रुपैयाँमा किनिएका । उनीहरूले नजिकैको एक चल्तीको होटलमा दुईवटा डाँफे प्रतिगोटा ३ हजार रुपैयाँमा बिक्री गरे । एउटा झोला भने हातमा झुन्ड्याएर लोकतान्त्रिक चोक हुँदै खुलामञ्चतिर लागे । पछि उनीहरूसँग बुझ्दा त्यो डाँफे एक जना सरकारी कार्यालयका प्रमुखलाई दिएको बताए । हिउँद लागेसँगै चैनपुरमा यस्ता दृश्यहरू दिनदिनै देखिन थालेका छन् । डाँफे मात्रै होइन, प्रतिबन्धित र लोपोन्मुख वन्यजन्तु, पन्छीको सिकार गर्ने क्रम बढेको छ । सदरमुकामका व्यापारीले गाउँका सिकारीहरूसँग सम्पर्क गर्ने र उनीहरूले मोटरसाइकल तथा गाडीमा सहजै ढुवानी गरिदिने गरेका छन् । ‘विभिन्न जंगली जनावर र चराको मासु खोज्नेहरूले हामीलाई सम्पर्क गर्छन्,’ एक होटल व्यवसायीले भने, ‘गाउँबाट सिकार आएपछि हामीले फोन गरेर उनीहरूलाई दिने गरेका छौं ।’

उनले यस्तो मासु किन्ने ग्राहकहरू जनप्रतिनिधि, नेता, व्यापारी, कार्यालय प्रमुख र सर्वसाधारणसम्म रहेको दाबी गरे । ‘कुनै–कुनै दिन त बजारभरि जंगली जनावरको मात्रै मासु हुन्छ,’ चैनपुरकै अर्का एक होटल व्यवसायीले भने, ‘धेरै आएको दिन मासु केही सस्तो पनि हुन्छ । कम आएको बेला सिकारीले भनेको मूल्य तिर्नुपर्छ ।’ केही दिनअघि लेकाली क्षेत्रमा हिमपात भएसँगै जंगली जनावर र पन्छीको चोरीसिकार पनि बढेको यसमा संलग्नहरू बताउँछन् । जाडोका कारण औल (बेंसी) तिर झरेका जंगली जनावर र पन्छीको सिकार गर्न सजिलो हुने भएकाले हिमपातपछि स्थानीय सिकारमा जाने गर्छन् । रतुवा, घोरल, झारल, थार, बँदेल तथा डाँफे, कालिजलगायतको समूहमा सिकार गर्ने गरेको स्थानीय बताउँछन् । ‘यो हिउँदमा मात्रै गाउँमा बँदेल, रतुवा र घोरल गरेर ५०/६० वटाभन्दा बढी जंगली जनावर मारिसके होलान्,’ तलकोट गाउँपालिकाका सुरेन्द्र विष्टले भने, ‘डाँफे, कालिजजस्ता चराको त कुनै हिसाब नै छैन । दिनकै ३०/४० वटासम्म पनि मार्ने गरेका छन् ।’ सिकार गर्ने क्रम बढ्दा यस्ता वन्यजन्तु र पन्छीको संख्या उल्लेख्य घटेको उनको भनाइ छ ।

जिल्लाको हिमाली र उच्च पहाडी क्षेत्रहरू काँडा, सुर्मा, दौलीचौर, रिलु, दहबगर, लेकगाउँ, मेलबिसौना, गडराय, कैलाश, कोटदेवल, मस्टा, भातेखोला, धमेना, सुनिकोटलगायत साबिकका ३० भन्दा बढी गाविसमा स्थानीयहरू हिउँदमा सिकार गर्ने र मारेका वन्यजन्तुहरू नजिकको बजारमा बिक्री गर्ने गर्छन् । यो सिजनमा जिल्लाभरमा हजारौंको संख्यामा वन्यजन्तु मारिएको हुन सक्ने सामुदायिक वन उपभोक्ता महासंघका पूर्वसचिव मंगलबहादुर खड्काको आकलन छ । ‘कुनै गाउँमा त एक/डेढ सय जनावर नै मारिसके भन्ने कुरा आएको छ । जिल्लाभरको हिसाब गर्ने हो भने त हजारौं जंगली जनावर र पन्छीहरू मरिएका होलान् ।’

सदरमुकाम चैनपुर र आसपासका क्षेत्रमा अहिले प्रतिडाँफे २ हजार ५ सयदेखि ४ हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ । ‘१ हजार ५ सयदेखि १ हजार ८ सय रुपैयाँसम्म गाउँमै बेच्ने गरेका छौं,’ एक स्थानीयले भने । झारल, नाउर, रतुवाको मासु प्रतिकेजी १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको सिकारीहरू बताउँछन् । कालिज १ हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ । दुई–चार वर्षअघिसम्म हिमाली क्षेत्रका गाउँनजिकै प्रशस्त भेटिने वन्यजन्तुहरू हिजोआज मुस्किलले देखिने गरेको काँडाका उमेश बोहराले बताए । ‘केही वर्ष पहिलासम्म हिउँ पर्दा मृग र डाँफेहरू गाउँमै आउँथे,’ बोहराले भने, ‘अहिले घण्टौं हिँडेर लेकतिर गएपछि मात्र फाट्टफुट्ट देखिन्छन् । प्रत्येक वर्ष मारेका मार्‍यै छन्, अनि कहाँबाट देखिऊन् त ?’

डिभिजन वन कार्यालय बझाङका प्रमुख कर्णबहादुर खातीले यो वर्ष गत वर्षभन्दा बढी नै सिकार भइरहेको सुनिएको बताए । ‘गत वर्ष प्रशासनले पनि कडाइ गरेका कारण केही घटेको हो कि भन्ने थियो । अहिले फेरि उस्तै भयो । सिकार नियन्त्रणका लागि अब छुट्टै कार्यक्रम ल्याउनुपर्ने देखिन्छ,’ उनले भने । उनले वन कार्यालयसँग भएको जनशक्तिले चोरीसिकार नियन्त्रण गर्न असम्भव भएको उल्लेख गर्दै गाउँ–गाउँमा सुराकी परिचालन गर्न र चेतना फैलाउन बजेटसहितको छुट्टै कार्यक्रम आवश्यक रहेको बताए । ‘यो विषयमा मैले प्रदेश र केन्द्रस्तरमा पनि कुरा उठाएको हुँ । कतैबाट केही सुनुवाइ भएन । हाम्रै प्रयासले मात्रै यो नियन्त्रण गर्न सम्भव छैन,’ उनले भने ।

प्रकाशित : माघ ११, २०७७ ११:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×