२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

*भ्रष्टाचारका धूलो परेका फाइलहरु हामीले उधिन्‍न थाल्यौं : परराष्ट्रमन्त्री ज्ञवाली

‘कुर्सीका लागि पार्टीमा बबाल मच्चाउने काम दाहाल र नेपालले गरे’
वीरेन्द्र केसी

गुल्मी — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रष्टाचारका धूलो परेका फाइलहरु सरकारले खोतल्न थालेको बताएका छन् । यसले पार्टीभित्र नयाँ तरंग आएको उनको भनाइ छ । 

*भ्रष्टाचारका धूलो परेका फाइलहरु हामीले उधिन्‍न थाल्यौं : परराष्ट्रमन्त्री ज्ञवाली

भ्रष्टाचारीको कुनै पार्टी, जात र रङ नहुने भएकाले कसैलाई पनि नछाडिने मन्त्री ज्ञवालीले बताए । 'सुशासनका क्षेत्रमा हामीले काम गर्‍यौँ । वर्षौँदेखि भ्रष्टाचारका फाइलहरुमा जहाँ धूलो परेको थियो, ती फाइलहरुलाई हामीले उधिन्न थाल्यौं,' शनिबार गुल्मीको तम्घासमा आयोजित ओली समूहका अगुवा कार्यकर्ता भेलामा मन्त्री ज्ञवालीले भने, 'अहिले तपाईँले सुनिरहनुभएको छ त्यसका तरङ्गहरु । हामीले त केही भनेका छैनौँ । तर चोरको खुट्टो काट भन्दा केही साथीहरुले त्यत्तिकै त्यत्तिकै खुट्टा उचालिरहनु भा'छ ।'

सरकारले तोकिएकै समयमा निर्वाचन गराउन गृहकार्य अगाडि बढाएकाले अब गाउँ–गाउँमा जनतालाई आफ्नो पक्षमा पारेर चुनावी अभियान सञ्चालन गर्न ज्ञवालीले कार्यकर्तालाई निर्देशन दिए । ‘अबको विकल्प सडक होइन, निर्वाचन हो,’ उनले भने, ‘हामी जनताको फैसला स्वीकार्न तयार छौं, हारेर जंगल पस्दैनौं, जनताको सेवामा अविचलित भई निरन्तर खट्छौं ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्ष जस्तो गरिमामय पदलाई दुरुपयोग गरेर पुष्पकमल दाहालले धोका दिएको उनको आरोप छ । दाहाल कार्यकारी अध्यक्ष भएपछि पार्टी काममा लाग्न छाडेर गुट बनाउँदै पार्टी एकताको म्यान्डेटविपरीत गतिविधि गरेर पार्टी विभाजन गरेको पनि उनले आरोप लगाए ।

मन्त्री ज्ञवालीले पार्टीमा पदको बार्गेनिङ गरेर दाहालले प्रधानमन्त्री र माधव नेपालले पार्टी अध्यक्ष पद नपाएपछि छँदाछँदाको आफ्नो पार्टीको दुई तिहाइको सरकारलाई बदनाम गराउन सडक गएर रोइकराई गरेको दाबी गरे । ‘पार्टीभित्र आफ्नो शक्ति आर्जन गर्ने र कुर्सीकै लागि दाहालले राजनीति गरे,’ उनले भने, ‘स्थिर सरकारको लागि जनतासमक्ष मागेको मतलाई कदर गर्ने काम पटक्कै भएन । कुर्सीका लागि पार्टीमा बबाल मच्चाउने काम दाहाल र नेपालले गरे ।’

कब्जा गरेर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेपछि संविधान र लोकतन्त्र रक्षार्थ प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर जनतामा जाने बाध्यकारी निर्णय गरेको उनले बताए । ओलीले प्रधानमन्त्री हुन अर्को निर्वाचन र पार्टी अध्यक्ष हुन्न, छिट्टै महाधिवेशन गरेर वैधानिक ढंगले सत्ता हस्तान्तरण गर्छु भनेर दाहाल र नेपाललाई बारम्बार सम्झाउँदा भन्दा नमानेको उनले बताए । 'दाहाल र नेपाललाई पद नगद चाहियो, केही समय पर्खन सकेनन्,' उनले भने ।

चुनावमा ५ वर्ष स्थिर सरकार भनेर भोट मागेका दाहाल नेपालले जनताको मत र कार्यकर्तालाई धोका दिएर निराश बनाएर सडकमा बेमौसमी बाजा बजाएको ज्ञवालीको जिकिर छ । दाहालको फाटेको मन टाल्दा टाल्दा हैरान भएको उनले बताए ।

*यसअघिको समाचार शीर्षक र समाचारमा परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ फरक परेकोले क्षमायाचनासहित भूल सुधार गरिएको छ । मन्त्री ज्ञवालीको भनाइ उद्धृत गर्दा 'भ्रष्टाचारका धूलो परेका फाइल हामीले उधिन्न थाल्यौं' हुनु पर्नेमा 'अख्तियार र अदालत' शब्द जोडिन पुगेकोमा सच्याइएको हो । - सम्पादक

प्रकाशित : माघ १०, २०७७ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?