३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन सुरु

संकटमा गैरआवासीय नेपालीहरुको भूमिका प्रशंसायोग्य छः  मन्त्री ज्ञवाली

काठमाडौँ — गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन शनिबारदेखि सुरु भएको छ । भर्चुअल माध्यमबाट आइतबारसम्म चल्ने सम्मेलनमा महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ ।

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन सुरु

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताएका छन् । गैरआवाासीय नेपाली संघको विशेष साधारणसभाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले संघले संकटको बेला आफ्नो औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको बताएका हुन् ।

मन्त्री ज्ञवालीले प्रवासमा संकटमा परेका नेपालीहरुको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्दै उनले भने, 'संकटको यस अहम परीक्षामा एनआरएनए खरो रुपमा उत्रिएको छ र सफल पनि भएको छ ।'

कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विदेशमा बसेर आफ्नो मिहेनत र पसिनाबाट कमाएको पूँजी नेपालको समृद्धि र विकासका लागि गैरआवासीय नेपालीले योगदान गरेको बताए । विपद् र संकटका बेला विदेशमा रहेका प्रत्येक नेपालीले देखाएको अपनत्व प्रशंसायोग्य भएको उनको भनाइ थियो ।

राजनीतिक लडाइँमा नभई विकासको बाटोमा अग्रसर हुनुपर्नेमा उनको जोड थियो । नेपाल विपन्न देश भएको हुँदा देशमा ठूलो लगानीको आवश्यकता रहेको बताउँदै विदेशमा हरेक नेपालीहरुले नेपालको उत्पादनमूलक क्षेत्रमा लगानी ल्याउन जोड दिनु पर्ने उनले बताए ।

विशेष अधिवेशनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले महाधिवेशन महिला, युवा, दोस्रो पुस्ता र संघको भविष्यको बारेमा छलफल गर्न सुझाव दिए । घलेले गैरआवासीय नेपाली संघलाई साझा संस्थाको रुपमा अघि बढाएर मिनि संयुक्त राष्ट्रसंघको रुपमा अघि बढाउनु पर्नेमा जोड दिए । गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिहरुलाई दरिलो बनाउनु पर्ने उनको भनाइ थियो ।

अर्का पूर्वअध्यक्ष देवमान हिराचनले विशेष महाधिवेशनको सफलताको शुभकामना दिँदै विधान संशोधन, एनआरएन फाउण्डसेन, भिजन २०२० लगायतका विषयमा घनिभूत छलफल गर्न सुझाव दिए।

विशेष अधिवेशनमा संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछानेले गतिशील संस्थामा सामान्य विवाद र असहमति हुनु स्वभाविक रहेको बताए । उनले अधिवेशनमा संरक्षक परिषद्को सुझावअनुरुप विधान संशोधनमा साझा प्रस्ताव ल्याउन लागेकोमा कार्यसमिति प्रति विशेष धन्यवाद व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्टले सबै पक्षलाई समेटेर संस्थालाई अघि बढाउन आग्रह गरे । भट्टले मुलुकको समृद्धि नै गैरआवासीय नेपालीको सपना भएको बताउँदै नेपालमा लगानीको लागि जोड दिए ।

भर्चुअल रुपमै दुई दिनसम्म चल्ले संघको विशेष महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ ।

प्रकाशित : माघ १०, २०७७ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?