माघ १४ गतेबाट खोप लगाउन सुरु हुन्छ : प्रधानमन्त्री ओली- समाचार - कान्तिपुर समाचार

माघ १४ गतेबाट खोप लगाउन सुरु हुन्छ : प्रधानमन्त्री ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् । यसका लागि समूह पनि तयार पारिसकेको उनले बताए ।

मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले पहिलो चरणमा अग्रभागमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरे ।

सशस्त्र प्रहरी बलको २० औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमडाैंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति, सुरक्षा, अमन चयनलगायत विपद् व्यवस्थापन र संकटका बेला सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै समयानुसार परिमार्जित हुँदै अघि बढ्न सशस्त्र प्रहरीलाई आग्रह गरेका हुन् ।

पहिलो चरणमा प्रदेश दुई, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा निर्वाचन

सोही समाराेहमा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलिरहित हुने सम्पन्न हुने बताए । उनले भने, 'मुलुक निर्वाचनको तयारीमा लागेको छ । सुरक्षा निकायले अहं भूमिका निर्वाह गर्ने बेला आएको छ ।' उनले अगामी बैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहने समेत बताए ।

प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश दुईसहित गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश नं १ सहित वाग्मती र कर्णाली प्रदेशमा निर्वाचन हुने जानकारी दिए । 'यसको औपचारिक निष्कर्ष निस्किसकेको छैन । कसो गर्दा उचित हुन्छ, त्यहीअनुसार अघि बढ्नुपर्ला भन्ने सोचेको छु ।' उनले भने ।

उनले सुरक्षा निकायलाई निष्पक्ष र विधिसम्मत तरिकाले अघि बढ्न आग्रह गरे । अहिलेका अवस्थामा केही तत्वबाट विभन्न घटना घटाउने चेष्टा हुन सक्नेतर्फ ध्यानाकर्षण गराए । उनले घटना घट्नु अघि नै नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिए । यसका लागि अन्य सुक्षाकर्मीसँग समन्वय गर्न पनि उनले सुझाव दिएका थिए ।

प्रकाशित : माघ १०, २०७७ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्

जात वृत्तान्त

तुलानारायण साह

लकडाउनको लामो बिदामा अनेकौं पुस्तक, जर्नलका लेख, हिन्दी सिनेमा, युट्युबमा सामयिक विषयका लेक्चर तथा प्रशस्त आध्यात्मिक प्रबचन सुन्ने अवसर मिल्यो । तिनमा भारतका प्रख्यात साहित्यकार फणीश्वरनाथ रेणुको ‘मैला आँचल’ उपन्यास, फ्रेड्रिक गेजको ‘क्षेत्रीयता र राष्ट्रिय एकता’, प्रकाश झा निर्देशित ‘राजनीति’ सिनेमा र आहुतिका दुई पुस्तक ‘वर्ण व्यवस्था’ एवं ‘जात वार्ता’ अविस्मरणीय रहे ।

अविस्मरणीय लाग्नुको कारण थियो– उल्लिखित सामग्रीमा बाल्यकालदेखिकै मेरो भोगाइ र मनमा उठेका अनेकौं प्रश्नको उत्तर समेटिएको थियो । हेर्दै, पढ्दै जाँदा लाग्यो, यो मेरै गाउँ–ठाउँको कथा मेरै लागि लेखिएको हो ।

तीमध्ये आहुतिको किताब ‘जात वार्ता’ माथि केही लेख्दै छु । यस किताबमा नेपाली समाजबारे मेरो मनमा रहेका अनेकौं प्रश्नका जवाफ छोटो र मिठो शैलीमा दिइएको छ । पढ्दै जाँदा लाग्यो– वर्षौंदेखि जुन विषयमा आफूलाई अलिक जान्ने ठानेको थिएँ, त्यो त पूरै गलत पो रहेछ ! लाज पनि लाग्यो ।

नेपाली समाजमा दलितको समस्यालाई मैले पनि धेरै हदसम्म छुवाछुत र थोरै मात्र राजनीतिक प्रतिनिधित्वको समस्याका रूपमा मानेको थिएँ । तर, आहुतिले यस किताबमा नेपाली समाज मूलतः वर्ण व्यवस्थाबाट विस्तार भएर जात व्यवस्थामा आधारित हुन पुगेको विषयलाई यसरी भनेका छन् कि दलितको समस्या जात व्यवस्थाका कारण सिर्जित राजनीतिक, आर्थिक र सांस्कृतिक समस्याको मिश्रण रहेको मान्न करै लाग्छ ।

उत्तर भारतीय राज्यहरू (बिहार र उत्तरप्रदेश) मा दलित समुदायले गरेजस्तै मधेसी दलितहरूले पनि राजनीति गर्ने हो भने समस्या समाधान हुने मेरो बुझाइ थियो । यसबारे धेरै लेखेको, बोलेको पनि छु तर आहुतिको ‘जात वार्ता’ पढेपछि थाहा भयो, त्यो मोडेल त कामै नलाग्ने भइसकेको रहेछ ।

नेपालका विभिन्न भागमा फरक–फरक प्रकारको जात व्यवस्था कसरी चलेको होला ? किन पहाडको भन्दा मधेसी समाजमा कठोर जातीय संस्कारको अभ्यास भइरहेको होला ? यस्ता प्रश्न मनमा उठिरहन्थ्यो । आहुतिको ‘जात वार्ता’ मा यसको बडो विश्वस्त तर्क दिइएको छ ।

नेपालमा जात व्यवस्थाको प्रवेश तीन फरक–फरक कालखण्डमा फरक–फरक दिशाबाट भएको छ । उत्तर भारतबाट मधेसका विभिन्न भेगमा विभिन्न समयमा आएका मानिसले उतैको जस्तो जातीय संस्कार पनि भित्र्याएका थिए । त्यसकारण त्यहाँ फरक प्रकारको जातीय अभ्यास अहिले पनि जारी छ ।

काठमाडौं उपत्यकामा लिच्छविहरूले जात व्यवस्था सुरु गरेका थिए । पछि आएर मल्ल शासकहरूले कठोर बनाएका थिए । काठमाडौंका रैथाने नेवार समुदायमा मधेसी वा पहाडी समाजका भन्नाभिन्नै जातीय संस्कार अभ्यासमा रहनुको कारण पनि त्यही हुनुपर्छ ।

इरानी शासकहरूले भारतमा आक्रमण गरेपछि वैदिक आर्यहरू भागेर पश्चिम नेपाल पसेका थिए । भेरी पश्चिमका पहाडी क्षेत्रका खस राजाहरूले तिनीहरूकै संगतमा फरक खालको जातीय संस्कार अँगालेका थिए । पछि त्यसैलाई राम शाहले गोरखामा कठोर बनाएका थिए, जसको प्रभाब नुवाकोटसम्म फैलिएको थियो ।

पृथ्वीनारायण शाहले एकीकरणपश्चात् नेपालभरि जात व्यवस्था लागू गरेपछि जनजातिहरूमा पनि त्यसको प्रभाब पर्‍यो, तर तुलनात्मक रूपमा कम । पुस्तकमा मध्य एवं पूर्वी पहाडमा जातीय संस्कारहरू तुलनात्मक रूपमा कम कट्टर देखिनुको मुख्य कारण जनजातिहरूको बसोबासलाई मानिएको छ । आहुतिको यो तर्क फेड्रिक गेजको तर्कसँग पनि मेल खान्छ ।

झन्डै पचास वर्षअघि मधेसमा विषद् अध्ययन गरेका गेजले मधेस र पहाडको जातीय संस्कार र सामाजिक सम्बन्धहरूमा व्यापक भिन्नताको कारण यसरी उल्लेख गरेका छन् । मधेसी समाज मूलभूत रूपमा उत्तर भारतको सामाजिक संस्कारबाट प्रभावित छ, जसमा कुनै समयको मुसलमान शासकहरूको त्रासको छाया र प्रभाव छ । नेपालको पहाडी समाज तिब्बती समाजबाट प्रभावित छ, जसमा बौद्ध धर्मका संस्कारहरूको प्रभाव देख्न सकिन्छ । यसकारण मधेस र पहाडका हिन्दु धर्मावलम्बीहरूमै पनि सांस्कृतिक एवं सामाजिक (जातीय, लैंगिक आदि) सम्बन्धहरू फरक खालका छन् ।

कम्युनिस्ट राजनीतिले सामान्यतः वर्गको कुरा गर्छ । वर्गीय मुक्तिको कुरा गर्छ । तर, वर्गीय हिसाबले सबैभन्दा पिँधमा रहेका दलितहरू त कम्युनिस्ट पार्टीहरूको नेतृत्वमा कहीँ पनि देखिन्नन् । यस्तो किन भएको होला ? राजनीतिबारे रुचि राख्ने जोकोहीको मनमा उठ्ने स्वाभाविक प्रश्न हो यो । केवल नेपालको वाम राजनीतिमा मात्र होइन, लोकतन्त्रवादी नेताहरूमा पनि नेपाली समाजबारेको वैचारिक विश्लेषण नै त्रुटिपूर्ण रहेको आहुतिको तर्क छ । आहुति भन्छन्– उनीहरूले जात र वर्गबीचको अन्तरसम्बन्ध र त्यसबाट राज्य, राजनीतिमा पर्ने प्रभाबबारे सही विश्लेषण गर्नै चाहँदैनन् वा सकेका छैनन् ।

कांग्रेसको राजनीतिमा बीपी कोइराला र वामपन्थी राजनीतिमा पुष्पलाल श्रेष्ठ त्यस समयका भारतीय नेताहरूको स्वतन्त्रता आन्दोलन र त्यसताकाको विचारबाट प्रभावित थिए । भारतकै राजनीतिले पनि तत्कालीन समाजमा जात र वर्गबीचको अन्तरसम्बन्धलाई स्विकारेको थिएन । त्यो नै त्यसबेलाको राजनीतिको सबैभन्दा ठूलो वैचारिक समस्या रहन गएको आहुतिको तर्क छ । लोकतान्त्रिक खेमाको राजनीतिमा विचार र नेतृत्व दुवैमा ब्राह्मणवादी सोचको वर्चस्व रहनु त एक हदसम्म स्वाभाविकै थियो तर वामपन्थीहरूले पनि केवल वर्गको कुरा गरिरहनु र जातबारे मौन बसिरहनु दलित समुदायका लागि दुर्भाग्यपूर्ण ठहरिएको आहुतिको बुझाइ छ ।

‘भारतमा बीआर अम्बेडकरको उदय हुनु दलितहरूका लागि ऐतिहासिक उपलब्धि अवश्य थियो तर अम्बेडकरले आफ्नो आन्दोलनमा दलितको समस्यालाई सांस्कृतिक बढी र राजनीतिक एवं आर्थिक समस्याको रूपमा कम आँक्नु उसको भूल थियो,’ आहुतिको तर्क छ । अम्बेडकरको धर्म परिवर्तन नीति जात व्यवस्थाबाट मुक्तिको आधारभूत दिशा होइन बरु ‘तावाबाट उम्केको माछा भुंग्रोमा पर्नु’ जस्तै हो भनेका छन् । धर्म जहिले पनि शासकहरूलाई शासन गर्न सहयोग गर्ने माध्यमको रूपमा प्रयोग हुने गर्छ र त्यही कारण हिन्दु धर्म छाडेर बौद्ध धर्म अपनाएर दलितको समस्या समाधान हुन्न । समाजको समग्र सामाजिक, राजनीतिक र आर्थिक संरचनालाई नै पुनःसंरचना गर्नका लागि नयाँ क्रान्ति गर्नुपर्ने आहुतिको तर्क छ ।

प्रेम तथा अन्तरजातीय विवाह दलित मुक्तिको सहज बाटो लाग्छ तर त्यस्तै प्रकारका जोडीहरूबीच सबैभन्दा बढी सम्बन्धविच्छेद हुनुको कारणबारे पुस्तकमा बडो व्यावहारिक विश्लेषण छ । दलित र गैरदलित केटा–केटीबीच विवाह हुनु तर तिनका छोराछोरीले फेरि कुनै एक जातकै थर अपनाउनु उदेकलाग्दो अवस्था हो । केहीयता दलितहरूले थर बदल्नुपर्ने, दलितलाई शिल्पी भन्नुपर्नेजस्ता तर्कहरूलाई पुस्तकले बकम्फुसे तर्कको रूपमा उडाइदिएको छ । समाजले अछुत मानेको समूहमा जब परिवर्तनका लागि विद्रोहको चेतना बोध हुन्छ, तब ती समूह दलित हुने हुन् । त्यसकारण दलित शब्दलाई कुनै अपमानजनक शब्दको रूपमा नलिई बरु गौरवको अनुभूति गर्ने, गराउने शब्दको रूपमा लिनुपर्ने लेखकको तर्क छ ।

यस पुस्तकको सबैभन्दा राम्रो पक्ष भनेको प्रश्नोत्तर शैलीमा सरल भाषामा लेखिनु हो । लगभग १०५ वटा प्रश्नको छोटो–मिठो जवाफको संग्रह गरिएको यो पुस्तक नेपाली समाज बुझ्नका लागि आधारभूत समाजशास्त्र (बेसिक सोसोलोजी) ठहरिन सक्छ । स्कुलदेखि स्नातक तहसम्मका विद्यार्थीका लागि ‘जात वार्ता’ स्वादिलो र ज्ञानबर्द्धक होला ।

आधारभूत रूपमा मार्क्सवादी कोणबाट दलित समस्यालाई हेर्नुपर्ने आहुतिको तर्क पुस्तकमा गज्जबसँग स्थापित भएको छ । मार्क्स युरोपमा जन्मेको, अध्ययन गरेको कारण उनलाई दक्षिण एसियाली समाजबारे यथेष्ट जानकारी थिएन । त्यसकारण मार्क्सवादमा दलित मुक्तिको मार्गचित्र कोरिएन । मार्क्सवादी फ्रेमबाट नेपाल, भारतको दलित समस्याको व्याख्या–विश्लेषण गर्ने काम यहाँका वामपन्थी नेता, विचारकहरूको रहेको आहुतिको तर्क छ ।

किताबका प्रश्नकर्ता संगीत बारम्बार नेपालकै दलित समस्याबारे केन्द्रित हुन चाहन्छन् तर उत्तरमा आहुति नेपालबाट सुरु गरेर भारत हुँदै दक्षिण एसियाभरिको आकाश घुम्छन् र मार्क्सवादको व्याख्या गर्दर् ैयुरोपमा सम्पन्न भएका क्रान्तिका प्रसंगमा विचरण गर्न पुग्छन् ।

मनमा लाग्छ– लेखकले नेपाली समाज बुझ्न कत्ति धेरै मिहिनेत गरेका रहेछन् ? उनलाई कत्ति जाँगर र चाख लागेको होला ? कत्ति मसिनो गरी समाजको अवलोकन गर्न सकेका होलान् ? देखेको, सुनेको, भोगेको र पढेको कुरालाई छोटो, मिठो, सबैले बुझ्ने शैलीमा कसरी भन्न सकेका होलान् ?

समाजशास्त्रका शास्त्रीय ज्ञाता र अनुसन्धानका विधि (मेथोडोलोजी) मा विश्वास गर्ने प्राज्ञहरूका लागि यो पुस्तक गफजस्तो पनि लाग्न सक्छ । तर, त्यस्ता विद्वान्का लेखाइ बुझ्न गाह्रो लाग्ने असंख्य जिज्ञासुका लागि पुस्तकले रसिलो स्वाद दिनेछ । किताब पुराना विद्वान्का लागि होइन, बरु उदाउँदा नेता, अभियानी र युवा विद्यार्थीका लागि लेखिएको हो ।

लेखकलाई पहाडी भेगको सामाज र संस्कृतिबारे जति जानकारी छ, मधेसी समाजबारे पनि त्यति नै भएको भए पुस्तक अझ रोचक हुनेथियो । गान्धी, नेहरू, अम्बेडकर, बीपी र पुष्पलाललगायतका नेताहरूको बौद्धिकी र क्रान्तिकारितालाई उचित सम्मान गर्दै जसरी उनीहरूको वैचारिकीमा रहेको समस्या किताबमा औंल्याइएको छ, त्यो प्रस्तुति–शैली प्रशंसायोग्य छ । दलित मुक्तिको एक मात्र विकल्प वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाका लागि संघर्ष गर्नुपर्ने लेखकको निष्कर्षबारे कतिपय पाठक असहमत पनि हुन सक्छन् । तर, आफ्नो रोडम्यापबारे लेखक अत्यन्त स्पष्ट र सकारात्मक रहेको बुझिन्छ ।

दलित आन्दोलनमा एनजीओको भूमिकाबारे जसरी किताबमा लेखिएको छ, त्यो शासक समुदायबाट निर्माण गरिएको कथ्यबाट आहुति प्रभावित भएको प्रस्टै बुझिन्छ । दलितलगायत सीमान्तकृत समुदायका लागि नेपालको समाज, राज्य र राजनीति जुन हदसम्म प्रतिकूल छ, त्यस्तो बेला एनजीओमार्फत भएका राम्रा कामहरूबारे बिल्कुल बेखबरजस्तै रहनुले लेखकको जानकारीको सीमा बुझाउँछ । पुस्तकमा दलित मुक्तिका लागि हुने आन्दोलनमा हिंसा (आवश्यक परेको खण्डमा) लाई पनि सैद्धान्तिक रूपमा स्वीकार गर्नु यो पंक्तिकारका लागि आश्चर्यको प्रसंग लागेको छ ।

प्रकाशित : माघ १०, २०७७ ११:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×