१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

छाङरु र तिंकरका दुई विद्यार्थीलाई सशस्त्रले पढाउने

काठमाडौँ — सशस्त्र प्रहरी बल (एपीएफ) ले वर्षेनि दार्चुलाको सीमावर्ती गाउँ छाङरु र तिंकरका २ विपन्न विद्यार्थीलाई नि:शुल्क पढाउने भएको छ । शुक्रबार एपीएफको २० औं स्थापना दिवसमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले १२ कक्षासम्म नि:शुल्क पढाउने घोषणा गरेका हुन् ।

छाङरु र तिंकरका दुई विद्यार्थीलाई सशस्त्रले पढाउने

सशस्त्र प्रहरी प्रवक्ता डीआइजी राजु अर्यालले सीमा क्षेत्रका नागरिकलाई देशभक्तिमा अभिप्रेरित गर्ने उद्देश्यले नि:शुल्क अध्ययनको व्यवस्था गरिएको बताए । विद्यार्थी छनोट प्रमुख जिल्ला अधिकारी र सशस्त्रका जिल्ला कमाण्डरसहितको समितिले सिफारिस गरेअनुसार हुने उनले जनाए । ब्यास गाउँपालिकास्थित तिंकर भारत र चीनसँग तथा छाङरु भारतसँग सीमा जोडिएका दार्चुलाका बिकट गाउँ हुन् । एपीएफ स्कुलमा हाल डोल्पाबाट २ र मुगु र कालीकोटका १/१ गरी ४ जना विद्यार्थीले नि:शुल्क पढिरहेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा सुरक्षा, विपद व्यवस्थापन र राज्यले तोकेका जिम्मेवारी निर्वाहमा सशस्त्र प्रहरीको योगदान उच्च रहेको बताएका थिए । सीमा सुरक्षा र त्यहाँ कार्यरत सशस्त्रलाई स्रोतसाधनको कमी हुन नदिने उनले प्रतिबद्धता व्यक्त गरे । गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षालगायत काममा सशस्त्रलाई स्रोतसाधन र जनशक्ति बढाइने आश्वासन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठन स्थापना दिवसको अवसर पारेर विभिन्न कल्याणकारी कार्यक्रम पनि सार्वजनिक गरेका छन् । नयाँ कार्यक्रमअनुसार बहालवाला तथा अवकासप्राप्त कर्मचारी र परिवार लक्षित अक्सिजन प्लान्ट स्थापना गरी नि:शुल्क सेवा दिइने छ । त्यस्तै कोरोना महामारी र यस्तै किसिमका अन्य संक्रामक रोग फैलिन सक्ने जोखिम औंल्याउँदै प्लाज्मा बैंक स्थापना गरिने छ । मानव सेवा आश्रममा बसेका वृद्धवृद्धालाई एपीएफ अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था गरिने छ ।

हेडक्वार्टरदेखि गण तहसम्म अनिवार्य लाइब्रेरी स्थापना गरिने जनाइएको छ । भएका लाइब्रेरीलाई व्यवस्थित गरिने र गण तह सम्मका सबै युनिटमा शिशु स्याहार केन्द्र स्थापना गरिने छ । महिला सशस्त्र प्रहरीलाई नि:शुल्क स्यानीटरी प्याड उपलव्ध गराइने छ । वीरगती प्राप्त सशस्त्र प्रहरीका एकल महिलालाई प्रोत्साहनस्वरुप वार्षिक २ हजार रुपैया उपलब्ध गराइने छ । यस्ता एकल महिलाको संख्या १ सय ७६ रहेको सशस्त्र प्रहरी प्रवक्ता अर्यालले बताए ।

यसैगरी बहालवाला कर्मचारीलाई मासिक सहुलियत कर्जा दिने संख्या २ सय ५० बाट बढाएर २ सय ७५ पुर्‍याइएको छ । यो अनुपातमा वार्षिक ३ हजार ३ सयले सहुलियतमा कोषबाट कर्जा पाउने छन् । सिपाही/हवल्दारका लागि ४ लाख, असई/सईले ५ लाख र अधिकृत तहले ६ लाख रुपैयाँसम्म सहुलियत कर्जा पाउँछन् ।

तत्कालीन माओवादी सशस्त्र द्वन्द्व नियन्त्रणका लागि स्थापना गरिएको सशस्त्रलाई सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विशिष्ठ व्यक्तिको सुरक्षालगायत १ दर्जन बढी जिम्मेवारी दिइएको छ । सरकारले सीमा सुरक्षाका लागि छाङरुमा सशस्त्र प्रहरीको युनिट तैनाथ गरिसकेको छ । सुरुमा वीओपी स्थापना गरिएको छाङरुमा अहिले गुल्ममा स्तरोन्नती गर्नुका साथै तिंकरमा पनि वीओपी स्थापना गर्ने तयारी छ ।

हरेक वर्ष माघ ९ गतेलाई सशस्त्रले स्थापना दिवसका रुपमा मनाउँछ । यद्यपि एपीएफ स्थापना भएर आइजीपीले कार्यआरम्भ थालेको दिन भने माघ १९ गतेबाट हो । यसका संस्थापक महानिरीक्षक कृष्णमोहन श्रेष्ठ र उनकी पत्नी नुडुपको २०५९ माघ १२ गते ललितपुरको बागडोलमा मर्निङवाकमा रहेका बेला माओवादीले गोली हानी हत्या गरेको थियो । श्रेष्ठसहित हालसम्म १० जनाले नेतृत्व सम्हालिसकेका छन् ।

प्रकाशित : माघ ९, २०७७ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?