कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

वामदेवको अभियान : नारा एकताको, नजर अध्यक्षमा !

काठमाडौँ — पत्नी सीताको उपचारका लागि मुम्बई पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल फर्केकै दिन पुस २३ को साँझ वामदेव गौतमले खुमलटार पुगेर उनीसँग दुई घण्टा छलफल गरे । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि विभाजित नेकपाका दुवै समूहमा औपचारिकरुपमा नजोडिएका र पार्टी एकताका लागि अभियान चलाएका गौतमले त्यस दिन दाहालसँग अर्थपूर्ण संवाद गरे ।

वामदेवको अभियान : नारा एकताको, नजर अध्यक्षमा !

त्यस दिनको संवादमा गौतमले आफू ओली समूहमा लाग्ने प्रष्ट संकेत दिएका थिए । स्रोतका अनुसार गौतमले दाहालसँग भनेका थिए, ‘ढिलोचाँडो म अर्को समूह (ओली समूह) को अध्यक्ष हुन्छु । त्यसपछि सके एकता हुन्छ नभए भिन्दाभिन्दै पार्टी भए पनि सहकार्य गरेर जान सकिन्छ । त्यसैले अहिले धेरै दूरी बनाउने गरी गालीगलौजमा नत्रिउँ ।’

नेकपा (दाहाल–नेपाल समूह) का अर्का अध्यक्ष माधवकुमार नेपाल तथा नेताहरु झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलगायतसँग पनि गौतमले भविष्यमा अर्को समूहको अध्यक्ष बन्ने सम्भावनाबारे जानकारी गराएका थिए । यी तीनमध्येका एक नेताले भने, ‘मसँगको भेटमा उहाँले ओली समूहको अध्यक्ष बन्नसक्ने सम्भावनाबारे संकेत गर्नुभएको थियो ।’

सामाजिक सञ्जालमार्फत् ‘नेकपा एकता राष्ट्रिय अभियान’ सुरु गरिसकेका गौतमले माघ १५ भित्र अभियानको औपचारिक घोषणा गर्ने तयारी गरेका छन् । अभियानको घोषणासँगै, ‘जनताको बहुदलीय जनवाद (तुलनात्मक अध्ययन) र एक्काइसौं शताब्दीको कम्युनिष्ट पार्टी’ नामक पुस्तक पनि विमोचन हुने गौतमको सचिवालयले जनाएको छ ।

पार्टी विभाजनसँगै कतै नलागी अभियानमा जोडिएका गौतमको नजर ओली समूहको अध्यक्षमा पनि उत्तिकै छ । जहाँ गौतमले यसको सम्भावना पनि देखेका छन् । पार्टी विभाजनपछि दाहाल–नेपाल समूहमा दाहाल र नेपाल अध्यक्ष भइसकेका छन् भने ओली समूहमा ओली एकल अध्यक्ष छन् । गौतम ओली प्रधानमन्त्री र आफू पार्टी अध्यक्ष बन्ने पक्षमा रहेको एक नेता बताउँछन् ।

गौतम आफैंले पनि ओलीसँग अध्यक्ष पद दिन प्रस्ताव गरेको तर ओली अझै तयार नदेखिएको बताएका छन् । हालै एक टीभीलाई दिएको अन्तर्वार्तामा गौतमले भनेका थिए, ‘म कतै लागेको छैन, पार्टी एक बनाउनै मेरो कोसिस छ, नेकपा एकता राष्ट्रिय अभियानको संयोजक भएर हिँडेको छु । मैले प्रधानमन्त्री केपी ओलीलाई तपाईं प्रधानमन्त्री चलाउनुस्, मलाई पार्टी अध्यक्ष दिनुस् भनेको हुँ, उहाँले मान्नुभएन ।’

अन्तर्वार्तामा गौतमले बताएअनुसार ओलीले भनेका थिए, ‘निर्वाचन घोषणा गरेर चुनावी महाअभियानमा लाग्दैछु । चुनावमा जान लागेको सिपाही डिमोरलाइज भएर जान चाँहदैन । यो बेला तपाईंले भनेजस्तो अध्यक्ष पद छोड्न सकिदैन ।’

गौतमले प्रधानमन्त्री ओलीसँगको संवादबारे निकट नेताहरुलाई पनि जानकारी दिने गरेका छन् । पार्टी विभाजनपछि गौतमले आफूलाई नेकपाको उपाध्यक्ष भन्न छाडेका छन् । ‘नेकपा एकता राष्ट्रिय अभियान’को संयोजकको हैसियतमा आफूलाई उभ्याएका छन् । नेकपा विभाजनपछि दुवै समूहले आफ्नो कित्तामा ल्याउन कोसिस गरे पनि गौतमले मध्यमार्गी बाटो लिएका छन् । गौतम ओली समूहको नेकपाको अध्यक्ष बन्नेमा आशावादी छन् । तर, सार्वजनिक रुपमा गौतमले पार्टी एकता नहुँदासम्म आफू तटस्थ रहने बताउँदै आएका छन् ।

गौतमले ओलीसँग पार्टी एकता गराउने उद्देश्यका साथ आफूले अध्यक्ष पद मागेको पनि बताउने गरेका छन् । त्यसो भए दाहाल–नेपाल समूहलाई एकतामा ल्याउन सकिने दावी उनको छ । ओलीले अध्यक्ष पद छोडे फेरि पार्टी एकता हुनसक्ने गौतमको विश्वास छ । तर, बीचमा बसेर पार्टी एकतामा मद्दत हुनेमा दाहाल–नेपाल समूहमा भने शंका छ ।

‘उहाँको मनसाय के छ त्यसमा जान चाहन्नँ । भोलि देखिँदै जाला । हामी कतैतिर नलाग्ने भन्दै गएर एकातिर लाग्ने भयो भने भोलि त्यही उद्देश्यका लागि गरेका रहेछन् भन्ने अर्थ लाग्छ । जहाँसम्म पार्टी एकताका निम्ति साझारुपमा बीचमा बसेर जबसम्म यो स्थिति बन्दैन तबसम्म म कहीँ पनि जादिनँ भन्नुभयो भने त्यो कदमलाई नराम्रो ठान्दिनँ । तर, यसरी बीचमा बसेर कतै नलाग्दा पार्टी एकता हुन्छ भन्ने पनि लाग्दैन । किनभने अहिलेसम्म यसरी बीचमा बस्ने मान्छेले पार्टी एकतामा भूमिका खेल्न सकेको एउटा पनि उदाहरण छैन,’ दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भने ।

अध्यक्ष दाहालले पनि तत्काल एकताको सम्भावना नरहेको सार्वजनिकरुपमै स्पष्ट पारेका छन् । ‘ओलीबाट गम्भीर राजनीतिक अपराध भएकाले तत्काल एकताको सम्भावना कम छ,’ दाहालको भनाई छ । गौतमले विभाजन र संसद् विघटनमा दुवै पक्षलाई बराबर जिम्मेवार ठानेका छन् । यसलाई लिएर दाहाल–नेपाल समूह गौतमको भूमिकाप्रति शंसकित छ ।

‘विभाजनमा दुवै पक्षमा गल्ती–कमजोरी देखेको छु । फेरि पनि एकता गराउन सकिन्छ कि भनेर लागिरहेको छु । एक्लै एकताको माहोल हुँदैन कि भनेर संगठनात्मक संरचना निर्माण गर्ने पक्षमा छु । पार्टी एकता अपरिहार्य छ, बुझ्न सकियो भने,’ पुस २३ मा राष्ट्रियसभामा गौतमले भनेका थिए । त्यसयता गौतमले यस्तै भनाई दोहोर्‍याउँदै आएका छन् ।

त्यसै दिन गौतमले संसद् विघटनमा पनि दुवैपक्ष जिम्मेवार रहेको बताएका थिए । ‘पार्टीभित्र कुनै पनि तहमा संस्थागत छलफल र निर्णय नगरी छापामार शैलीमा एक अध्यक्षले पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीविरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गराउनु र त्यसको सामना गर्ने वा नसक्ने भए राजीनामा दिनुको बदला प्रतिनिधिसभा भंग गर्नेसम्मका दुर्घटना अहिले पार्टीले बेर्होन परेको छ,’ गौतमको भनाई थियो ।

सुरुमा संसद् विघटनलाई असंवैधानिक भनेका गौतमले पछिल्लोपटक यसलाई असंवैधानिक भन्न छाडेका थिए । उनी आफैंले यसबारे पुस २३ मा राष्ट्रिय सभामा भनेका थिए, ‘सुरुमा मैले यो असंवैधानिक कदम हो भनेँ । तर, सर्वोच्च अदालतमा परेका रिट संवैधानिक इजलासमा लगिएपछि अब असंवैधानिक भन्न मिल्दैन । त्यही भएर म चुप छु । अदालतले पुनःस्थापना गरेछ भने पनि असंवैधानिक हो त्यही भएर पुनःस्थापना भन्ने छैन । निर्वाचनलाई जारी गरेछ भने त त्यो संवैधानिक नै हो भन्ने होला ।’ गौतमको यो अभिव्यक्ति ओली समूहमा जाने र अध्यक्ष बन्ने महत्वकांक्षाको एउटा अंश भएको दाहाल–नेपाल समूहका नेताहरुले बताउँदै आएका छन् ।

त्यसो त गौतमनिकट एक नेता पनि ढिलो चाँडो गौतम एउटा पोलमा उभिने बताउँछन् । ‘विगतमा आफूले पार्टी फुटाएर दुख पाएको अनुभव छ उहाँसँग । फेरि आफ्नै अगाडि त्यहीखालको परिस्थिति आउँदा अरु नेतालेभन्दा बढी आकलन गर्नु भयो,’ गौतमनिकट ती नेता भन्छन्, ‘त्यही भएर संभव भएसम्म पार्टीलाई बचाउन सकिन्छ कि भनेर अभियानको कोसिस हो । भएन भने राजनीति गर्ने मान्छे सधैं बीचमा बसेर हुँदैन । एउटा पोलमा त जानैपर्छ, जानुहुन्छ होला ।’

प्रधानमन्त्री ओलीले पुस ५ मा संसद् विघटन गरेपछि त्यसप्रति आक्रमक रहेका गौतम क्रमशः ओलीको कदमप्रति ‘नरम’ देखिँदै आएका छन् । दाहाल–नेपाल समूहले ओलीप्रति गौतमको ‘नरमपना’लाई सहज राजनीतिक घटनाक्रम मानेका छैनन् । दाहाल–नेपाल समूहका एक नेता भन्छन्, ‘संसद् विघटनजस्तो कदममा उहाँ (गौतम) को नरम नीति असामान्य छ । यसभित्र केही न केही स्वार्थले काम गरेको छ ।’

गौतमले पुस २५ मा सामाजिक सञ्जालमार्फत् एकता राष्ट्रिय अभियानको घोषणा गरेका थिए । ‘पार्टीको एकता जोगाउन वा पुर्नएकीकरण गर्ने उद्देश्य लिएर म वामदेव गौतम दुवै समूहलाई समर्थन नगरी नेकपा एकता राष्ट्रिय अभियानको संयोजक बनेर देश र विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरुलाई हार्दिक हार्दिक अपिल गर्दै तपाईहरुका अगाडि खडा भएको छु’ गौतमको अपिलमा छ ।

गौतमले आफूले पार्टी विभाजनको औचित्य नै नदेखेको भन्दै दुवै पक्ष लाज लाग्ने गरी गाली गलौजमा उत्रेकोमा चिन्ता पनि जनाएका छन् । उनको अपिलमा आग्रह थियो, ‘पार्टीलाई मिलेर पुनर्गठन गरौं, ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थितरुपमा सञ्चालन गरौं र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधहरुलाई पार्टी पद्धतिअनुरुप सम्मानजनक ढंगबाट हल गरौं । नेकपा एकता राष्ट्रिय अभियानमा संगठीत रुपमा जुट्नुहोस् ! तपाईंहरु जुन ठाउँमा हुनुहुन्छ त्यही नेकपा एकता अभियानको नाममा संगठन खडा गर्नुहोस् र विभाजनमा ढल्केका कमरेडहरुलाई सम्झाउनुहोस् । कुनै पनि समूहका नेता कमरेडहरुको गाली गलौजको शैलीमा विरोध नगर्नुहोस् ।’

प्रकाशित : माघ ८, २०७७ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?