१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

ओलीले चुनाव हुन्छ भनेर भ्रम छर्दैछन् : माधव नेपाल

चाँदनी कठायत

वीरेन्द्रनगर — नेकपा (दाहाल–नेपाल समूह) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुन्छ भन्ने भ्रम फैलाइरहेको बताएका छन् । उनले प्रतिनिधिसभा विघटन गर्ने अधिकार नै नभएका प्रधानमन्त्रीले प्रतिगमनकारी कदम चालेर अहिले वैशाखमा चुनाव हुन्छ भनेर भ्रम फैलाइरहेको दाबी गरे ।

ओलीले चुनाव हुन्छ भनेर भ्रम छर्दैछन् : माधव नेपाल

बिहीबार सुर्खेतमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले सर्वोच्च अदालतले संविधानसम्मत् व्याख्या गरी प्रतिनिधिसभा पुन:स्थापना गर्ने बताए । ‘आफ्नो निजी बदलाको भावना राखी ओलीले यस्तो कदम चाले,’ उनले भने, ‘ओलीको यो कदमविरुद्ध अदालतले पनि सही निर्णय गर्नेमा हामी विश्वस्त छौं ।’

पुष्पकमल दाहाललाई इमान्दार नेता बताएका नेपालले ओलीलाई कुलंगार नेताको संज्ञा दिए । उनले पार्टीका निम्ति कलंकित भएको भन्दै ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने दाबी गरे । ‘तीनदिन अघि चिठी पठाएर स्पष्टीकरण माग्यौं, तर ओलीले जवाफ दिने आँट गरेनन्,’ उनले भने, ‘पार्टीभन्दा माथि रहेर काम गरेका कारण आजै चिठी लेखेर नेकपाको साधारण सदस्यसमेत नरहने गरी ओलीलाई निष्कासन गर्दैछौं, संसद्ले पनि दण्डित गर्ला तर त्यो भन्दा अगाडि पार्टीले ओलीलाई दण्डित गर्छ ।’ उनले आफैले प्रधानमन्त्रीमा प्रस्ताव गरिएका व्यक्ति तानाशाह निस्किएको बताए । आफूहरुको पक्षमा बहुमत भएको भन्दै उनले बहुमत नमान्ने व्यक्ति लोकतान्त्रिक हुन नसक्ने टिप्पणी पनि गरे ।

नेकपाका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले ओली पुँजीवाद र दलालहरुको पक्षमा गएको बताए । उनले आफूहरुले संघीय लोकतन्त्रलाई बचाउन प्रयास गरिरहेको भन्दै ओली निरंकुशतर्फ गइरहेको जनाए । राष्ट्रिय स्वाधिनतालाई नै ओलीले खतरामा पारेको शर्माको आरोप छ । ‘हामी समृद्धिको बाटोतर्फ जाने बेला हो यो तर ओली सीमित ठेकेदारसँग सम्झौता गर्न पुग्नुभयो,’ उनले भने, ‘कृषिमा विदेशी लगानी लगाउनेजस्ता राष्ट्रघाती कदमसमेत उहाँले चाल्नुभयो ।’

विरोधसभामा बोल्दै नेकपा स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले संविधानको मूल्य र मान्यतालाई कमजोर बनाउन दुष्प्रयास ओलीले गरेको बताए । ओलीले पार्टीको गरिमा र औचित्यलाई सम्मान गर्न नसक्दा अहिले कम्युनिष्ट पार्टी विभाजित भएको उनको भनाइ छ ।

प्रकाशित : माघ ८, २०७७ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?