१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

देउवा र कोइरालाको छुट्टै ‘निकटता’

पहिल्यैदेखि अप्ठ्यारोमा सघाउँदै आएका कोइरालाबाट अहिले पनि त्यस्तै भूमिका खोजिरहेका छन् सभापति देउवा । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा पुन:स्थापनाको एजेन्डामा जोड दिइरहँदा देउवाले निर्वाचनको पक्षमा माहोल बनाउन कोइरालाको सहयोग चाहेका छन् ।

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले पुस १३ गते १ सय ६५ संघीय निर्वाचन क्षेत्रमा कार्यक्रम राख्यो । नवलपरासीस्थित आफ्नो निर्वाचन क्षेत्र जान लागेका महामन्त्री शशांक कोइरालालाई अघिल्लो दिन सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा बोलाए । त्यहाँ एक घण्टाजति कुराकानी गरेपछि उनी त्यहाँबाट सिधै नवलपरासीतिर लागे ।

देउवा र कोइरालाको छुट्टै ‘निकटता’

देउवाले माघ २ गते कोइरालालाई फेरि भेट्न बोलाए । माघ ३ गते पालिकास्तरको विरोध कार्यक्रमका लागि नवलपरासी नै जाने तयारी कोइरालाको थियो । पहिलो भेटपछि सार्वजनिक भाषणमा कोइरालाले निर्वाचनको पक्षमा अभिव्यक्ति दिए ।

संस्थापनइतर समूहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका शीर्ष नेताहरूले प्रतिनिधिसभा पुन:स्थापनाको पक्षमा बोलिरहेका थिए । त्यही कित्तामा रहेका कोइरालाको निर्वाचनमुखी अभिव्यक्तिले संंस्थापनइतर पक्षमा हल्लीखल्ली भयो । एकै दिन सभापति देउवाले भक्तपुरको निर्वाचन क्षेत्र नं. २ ले आयोजना गरेको कार्यक्रम र कोइरालाले नवलपरासीको आफ्नो निर्वाचन क्षेत्रमा दिएका अभिव्यक्ति उस्तै थिए ।

दोस्रो भेटपछि भने कोइरालाले आफ्नो अघिल्लो भनाइ सच्याए । माघ २ गतेको भेटमा सभापति देउवाले अघिल्लो भेटकै कुरा दोहोर्‍याएका थिए । ‘सभापतिले प्रतिनिधिसभा पुन:स्थापना नभनी दिनुहोस्, पार्टीलाई निर्वाचनमा लैजानुपर्छ, यति बेला निर्वाचन हुँदा कांग्रेसलाई राम्रो छ भन्नुभएको थियो,’ कोइरालाले कान्तिपुरसित भने, ‘मैले निर्वाचनभन्दा पनि हाम्रो महत्त्वपूर्ण दायित्व संविधान बचाउने हो, त्यसका लागि पहिला प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्‍यो भन्ने तर्क राखें ।’

महामन्त्री कोइरालाले खोल्न नचाहेका केही प्रसंग पनि त्यसबखत देउवाले उल्लेख गरेका थिए । देउवानिकट स्रोतका अनुसार पार्टीभित्र प्रतिनिधिसभाभन्दा पनि निर्वाचनको मुद्दालाई बलियो बनाउन देउवाले महामन्त्री कोइरालामार्फत माहोल निर्माण गर्न चाहेका छन् । उनले कोइरालासँग वैशाखमा निर्वाचन हुने केही तर्क पनि प्रस्तुत गरेका थिए । निर्वाचन नगराए ओली आफैं सिद्धिने उल्लेख गर्दै उनले त्यस्तो ध्वंसको बाटोमा ओली नलाग्ने बताएका थिए ।

आफ्नो राजनीतिक भविष्यका लागि पनि उनले निर्वाचन गराउँछन् भन्ने देउवाको भनाइ थियो । अर्कातर्फ ओलीको समूहका नेताहरूले पनि आफ्नो भविष्य समाप्त पार्न नदिन उनलाई निर्वाचनमा लैजान्छन् भन्ने विश्वास देउवा र उनको समूहमा रहेका अधिकांश नेतामा छ । देउवामा त्योभन्दा पनि ठूलो संशय विभाजित भइसकेको नेकपा फेरि मिल्छ कि भन्नेमा देखिन्छ । त्यस्तो सम्भावना निर्वाचनभन्दा प्रतिनिधिसभा पुन:स्थापनाको बाटोले जोड्ने आकलन उनले गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा पुन:स्थापनाको एजेन्डामा चर्को अभिव्यक्ति दिन थालेपछि देउवाले आफ्नो एजेन्डालाई साथ दिन कोइरालाको सहयोग खोजेका थिए । पार्टीका कतिपय नेताहरूले देउवा र कोइरालाबीचको तारन्तार भेटघाटलाई पार्टीको महाधिवेशन र भावी सरकार निर्माणमा सहकार्य गर्ने योजनासँग जोडेर विश्लेषण गरेका छन् । विगतमा पनि देउवाका गल्ती र कमजोरीमा मौन बसेर साथ दिँदै आएको आरोप कोइरालामाथि उनकै समूहका नेताहरूबाट लाग्दै आएको छ ।

२०७४ को संसदीय निर्वाचनमा पार्टीले ‘लज्जास्पद’ हार बेहोरेपछि देउवा ‘कर्नर’ मा परेका थिए । हारको नैतिक जिम्मेवारी लिनुपर्ने विषयलाई लिएर केन्द्रीय कार्यसमितिमा ठूलै विवाद खडा भएको थियो । पराजयको जिम्मेवारी आफूले मात्रै लिन देउवाले अस्वीकार गर्दै आएका थिए । पार्टीभत्रै अप्ठ्यारोमा परेका बेला महामन्त्री कोइरालाले नै उनलाई ढाडस दिएका थिए । निर्वाचनमा पराजयको जिम्मेवारी आफूहरूको पनि भएको र सभापतिलाई मात्रै दोष लगाउन नमिल्ने अभिव्यक्ति उनले लिखित रूपमै राखेका थिए ।

अप्ठ्यारोमा सघाउँदै आएका कोइरालालाई साथ लिएरै अघि बढ्ने देउवाको प्रयासका रूपमा पछिल्ला भेटघाट भएको उनीनिकट एक नेताले बताए । ‘सभापतिज्यूलाई एउटा कोइरालाको सहयोग लिएपछि मात्रै पार्टीको सिंगो भावना जोडिन्छ भन्ने लाग्छ, लाग्दै आएको छ,’ ती नेताले भने, ‘१३ औं महाधिवेशनमा आफ्नो टिमबाट नभए पनि शशांकप्रति सभापतिज्यू उदार नै देखिनुभएको थियो ।’

त्यति बेला सभापति देउवाको सहयोग आफूलाई भएको कोइरालाले सार्वजनिक रूपमै व्यक्त गरिसकेका छन् । फेरि पनि सभापतिबाट सहकार्यका लागि त्यस्तो केही प्रस्ताव आएको हो भन्ने प्रश्नमा कोइरालाले भने, ‘केही प्रस्ताव आएको छैन । उहाँ आफैं फेरि सभापति बन्ने तयारीमा हुनुहुन्छ । म पनि सभापतिको तयारीमा छु । पहिला त सहयोग गर्नुपर्‍यो भन्दै आउनुभएको हो । म आफैं उठ्ने भएपछि केही भन्नुभएको छैन ।’

देउवाले प्रदेश सरकारको गठबन्धनका विषयमा पनि कोइरालाको साथ खोजेका थिए । वाग्मती र प्रदेश १ मा नेकपाको दाहाल–नेपाल पक्षका सांसदहरूले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । यी दुवै प्रदेशका मुख्यमन्त्री ओली समूहका छन् । प्रदेश सरकार निर्माणलगायतका मुद्दामा ओलीसँगै गठबन्धन गर्नुपर्ने पक्षमा देउवा छन् । दाहाल–नेपाल समूहले जस्तै ओली पक्षले पनि दुई प्रदेशमध्ये एउटामा मुख्यमन्त्री दिन चाहेको देउवाको भनाइ छ । तर पार्टीभित्र ओलीविरुद्धको खेमा सशक्त भएकाले निर्णय गर्न उनलाई अप्ठ्यारो परेको छ ।

वरिष्ठ नेता पौडेलसँग सोमबार भएको भेटमा पनि देउवाले यही विषय उठाएका थिए । ‘उहाँ (देउवा) ओलीसँग पहिल्यैदेखि सफ्ट देखिनुभएको हो । आफूले अघि सारेका व्यक्तिलाई ओलीले संवैधानिक आयोगमा सिफारिस गर्नु, सासू (प्रतिभा राणा) लाई राजदूतबाट फिर्ता नबोलाउनुजस्ता कारण पनि छन्,’ कोइरालाले भने ।

कोइरालाको दाबीमा तल्लो तहमा दाहाल–नेपालभन्दा ओली समूह बलियो छ । ‘दाहाल–नेपालसँग मिल्दा राम्रो हुन्छ । प्रदेश १ मा उनीहरू (दाहाल–नेपाल) लाई दिनु र वाग्मतीमा हामीले मुख्यमन्त्री लिनु उपयुक्त हुन्छ भनेर मैले सभापतिजीलाई भनेको छु,’ कोइरालाले भने, ‘उहाँले हुन्छ पनि भन्नुभएन, हुन्न पनि भन्नुभएन । साथीहरूसँग सल्लाह गरेर निर्णय गरौंला मात्रै भन्नुभयो ।’

प्रकाशित : माघ ८, २०७७ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?