कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

नोबेल मेडिकलद्वारा साढे ५ लाख बढी असुली

शुल्क तिर्न ढिलाइ गर्ने विद्यार्थीलाई दिनहुँ दुई हजार रूपैयाँ जरिवाना गर्ने चेतावनी
विनोद भण्डारी

विराटनगर — विराटनगरको नोबेल मेडिकल कलेजले विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा साढे पाँच लाख रुपैयाँ बढी शुल्क लिएको पाइएको छ ।

नोबेल मेडिकलद्वारा साढे ५ लाख बढी असुली

आयोगले पाँच वर्षीय एमबीबीएस कोर्स पूरा गर्दा प्रतिविद्यार्थी ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको छ । तर नोबेलले १२ औं ब्याचका प्रतिविद्यार्थीसँग ५ लाख ४५ हजार थप शुल्क जोडेर ४७ लाख ९० हजार रुपैयाँ असुलेको पाइएको हो ।

नोबेललाई हरेक वर्ष एमबीबीएसका सय जना विद्यार्थी भर्ना गर्न पाउने कोटा छ । त्यसमध्ये १० प्रतिशतलाई सरकारी छात्रवृत्तिमा पढाउनुपर्छ । बाँकी ९० जना नेपाली र भारतीय विद्यार्थी भर्ना हुँदै आएका छन् । कलेज स्रोतका अनुसार विदेशी विद्यार्थीसँग कलेजले प्रतिविद्यार्थी भारु ५५ लाख रुपैयाँ शुल्क लिँदै आएको छ । कलेजमा आर्थिक वर्ष २०७४/७५ मा ३७ र २०७५/७६ मा ४१ जना नेपाली विद्यार्थी भर्ना भएका थिए । उनीहरू सबैसँग कलेजले जनही ४७ लाख ९० हजार रुपैयाँ शुल्क लिएको छ । त्यसबाहेक सबै विद्यार्थी भारतीय हुन् ।

यसबाहेक पनि कलेजले पाँच वर्षमा विभिन्न शीर्षकमा प्रतिविद्यार्थी १३ लाखसम्म अतिरिक्त शुल्क लिँदै आएको विद्यार्थीको गुनासो छ । विद्यार्थीका अनुसार कलेजले होस्टलबापत ५ लाख, आन्तरिक शुल्क एक पटकको एक लाख, इन्टर्नसिप वार्षिक २ लाख ४० हजार र कुल शुल्कको १० प्रतिशत शिक्षा कर शुल्क लिँदै आएको छ । कलेजले अनिवार्य रूपमा होस्टल बस्नुपर्ने बाध्यकारी नियम बनाएको विद्यार्थीको भनाइ छ । अधिकांश विद्यार्थीले होस्टलमा नबसे पनि मासिक होस्टल शुल्कबापत १० हजार रुपैयाँ बुझाउँदै आएका छन् ।

आयोगले तोकेभन्दा बढी लिएको रकम फिर्ता गर्न गत मंसिर १९ मा कलेजलाई निर्देशन दिएको थियो । तर कलेजले अहिलेसम्म फिर्ता गरेको छैन । उल्टै तोकेको शुल्क तिर्न ढिलाइ गर्ने विद्यार्थीलाई कलेज प्रशासनले दैनिक दुई हजार रुपैयाँ जरिवाना गर्ने चेतावनी दिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आयोगको पत्रअनुसार तोकेको शुल्क मात्र लिन कलेजलाई पत्राचार गरिएको बताए । आयोगले तोकेभन्दा बढी शुल्क लिएको पाइए कलेजलाई कारबाही गरिने उनको भनाइ छ । यस विषयमा अस्पतालका निर्देशक नारायण दाहालले कुनै प्रतिक्रिया जनाएनन् । उनले भने, ‘यसबारे सबै कुरा सञ्चालकलाई सोधौं, म अनभिज्ञ छु ।’

प्रकाशित : माघ ८, २०७७ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?