कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अदालतलाई धम्क्याउने कार्य भइरहेको छ : उपेन्द्र यादव

केपी ओली जनता र संविधान दुवैका हत्यारा हुन् : राजेन्द्र महतो
अवधेशकुमार झा

राजविराज — जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता, लोकतन्त्र र परिवर्तन उपर प्रहार गरेको आरोप लगाएका छन् ।

अदालतलाई धम्क्याउने कार्य भइरहेको छ : उपेन्द्र यादव

यादवले कांग्रेस र कम्युनिष्टले पटकपटक नेपालको संविधानको उल्लंघन गर्दै आएको आरोप लगाउँदै पछिल्लो कडीका रुपमा ओलीले संविधानमाथि प्रहार गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेलमा लागेको आरोप लगाए ।

जनता समाजवादी पार्टी सप्तरीद्वारा बुधबार राजविराजमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै यादवले नेपालको संवैधानिक व्यवस्था लुडोको खेलमा रहेको सर्प सिँढीको खेल जस्तै भएको आरोप लगाए । ‘लुडोमा सर्प र सिँढी भएको एउटा खेल हुन्छ उक्त खेलमा सिँढीमाथि चढेर माथि पुगिन्छ तर सर्पको मुखमा गएर फेरि जहाँको त्यहीँ फर्किनुपर्ने हुन्छ,’ अध्यक्ष यादवले भने, ‘नेपालको संवैधानिक व्यवस्थालाई पनि यसैगरी समाप्त गरियो, जनता संघर्ष गरेर माथि चढ्छ तर सर्प रुपनी नेताले फेरि उल्लंघन गरेर फेरि जस्ताको त्यस्तै ।’ अध्यक्ष यादवले अदालतलाई धम्क्याउने कार्य भइरहेको आरोप लगाए । ‘आफ्नो पक्षमा फैसला ल्याउन सरकारद्वारा सर्वोच्च अदालतलाई धम्क्याएर निर्देशित गर्ने कार्य भइरहेको छ, लोकतन्त्रमा यो सुहाउँदैन्,’ यादवले भने ।

‘सात सालमा अन्तरिम संविधान जारी भयो । पहिला राजा त्रिभुवन त्यसपछि राजा महेन्द्रले कार्यान्वयन गरेनन् । १५ सालमा बनेको संविधानलाई उल्लंघन गरेर राजा महेन्द्रले १७ सालमा कू गरे,’ यादवले भने,‘४७ सालको संविधानलाई बाधा अड्काउ फुकाउको नाममा ज्ञानेन्द्रले कुल्चँदै संसद् विघटन गरी प्रतिगमन गरे । ६३ को अन्तरिम संविधानमा संघीयता, गणतन्त्र, समावेशी र पहिचानका कुरा उल्लेख नै गरिएनन् । अन्तरिम संविधानलाई रातारात संशोधन गरी प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुख बनाए । अनि मधेसीमाथि दमन गरेर ल्याइएको र विश्वकै उत्कृष्ट भनिएको संविधान अहिले ओलीले उल्लंघन गरेका छन् ।,’ अधिकार सुरक्षित नभए आफूहरु जस्तोसुकै संघर्ष गर्ने यादवले बताए ।

कार्यक्रममा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओली महाप्रतिगमनकारी भएको आरोप लगाए । ‘हामी अधिकारको माग गर्दा बल प्रयोग गरेर संविधान ल्याइ पहिलो पटक भएको प्रतिगमनमाथि पुस ५ गते संसद् विघटन गरेर महाप्रतिगमन भयो । ओली महाप्रतिगमनकारी हुन्,’ महतोले भने । ‘ओलीले अधिकार माग्दा मधेसी जनतामाथि गोली वर्षाएर हत्या गरे । अहिले संविधानकै हत्या गरे,’ महतोले भने, ‘उनी संविधान र जनता दुवैका हत्यारा हुन् ।’ ओलीको पतन जरुरी भएको बताउँदै महतोले संघीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि आफूहरु आन्दोलनमा होमिएको बताए ।

प्रकाशित : माघ ७, २०७७ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?