कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केयूको उपकुलपतिमा माकाजू, थापा र लुइँटेल सिफारिस

सुदीप कैनी

काठमाडौँ — काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा रामकण्ठ माकाजू, भोला थापा र बालचन्द्र लुइँटेलको नाम सिफारिस गरिएको छ ।

केयूको उपकुलपतिमा माकाजू, थापा र लुइँटेल सिफारिस

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित सिफारिस समितिले हालका उपकुलपति माकाजू, पूर्वरजिस्ट्रार थापा र प्राध्यापक लुइँटेलको नाम सिफारिस गरेको स्रोतले जनायो । यी नामबाट एक जनालाई कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्त गर्नेछन् ।

माकाजूको दोस्रो कार्यकाल बुधबारबाट सकिँदै छ । मेडिकल स्कुलका प्राध्यापक उनी विभिन्न विवादमा मुछिँदै आएका छन् । उनीमाथि आर्थिक अनियमितताको समेत आरोप लागेको छ । पूर्वरजिस्ट्रार थापाले माकाजूको कार्यशैलीमा असन्तुष्टि जनाउँदै २०७५ मा पदबाट राजीनामा दिएका थिए । उनी स्कुल अफ इन्जिनियरिङका प्राध्यापक हुन् । उनी यसअघि पनि उपकुलपतिका लागि सिफारिसमा परेका थिए । केयू विश्वविद्यालय सभाका सदस्यसमेत रहेका लुइँटेल स्कुल अफ एजुकेसन (शिक्षा) का प्राध्यापक हुन् ।

स्रोतका अनुसार विभिन्न १० वटा मापदण्ड तय गरेर छनोट समितिले यी नाम सिफारिस गरेको हो । केयूको उपकुलपति बन्न ४४ आकांक्षीले सिफारिस समितिलाई आफ्नो व्यक्तिगत विवरण बुझाएका थिए । सिफारिस समितिले व्यक्तिगत विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । केयूमा उपकुलपति नियुक्ति गर्न सार्वजनिक सूचना जारी गरिएको यो पहिलोपटक थियो ।

समितिमा संस्थापक उपकुलपति सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुंगाना सदस्य छन् । उनीहरूले तेस्रो कार्यकाल पनि माकाजूलाई नै उपकुलपति बनाउन जोड बल गर्दै आएको स्रोतको दाबी छ । शर्मा र ढुंगानालाई पटक/पटक सिफारिस समितिमा राखिएको भन्दै कतिपयले असन्तुष्टि जनाएका छन् । केयूका प्राध्यापक–कर्मचारीले भने एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी एउटै पदमा बस्न नहुने माग गर्दै आएका छन् । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले समेत कार्यक्षमता र मापदण्डका आधारमा पारदर्शी तरिकाले उपकुलपति नियुक्त गर्न माग गरेका छन् ।

प्रकाशित : माघ ६, २०७७ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?