कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

के होला मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव ?

 प्रदेश १ र वाग्मतीमा बुधबारबाट प्रदेशसभा बैठक, प्रदेश १ मा थप तीन सांसदको हस्ताक्षर फिर्ता
देवनारायण साह

विराटनगर — निर्णायक दल कांग्रेस तटस्थ बस्ने भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव असफल हुने देखिएको छ । नेकपा दाहाल–नेपाल समूहका ३७ सांसदले गत पुस १२ गते अविश्वास प्रस्ताव दर्ता गराएकामा ५ जनाले हस्ताक्षर फिर्ताको घोषणा गरिसकेका छन् ।

के होला मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव ?

९३ सदस्यीय प्रदेशसभामा प्रस्ताव पारित गराउन ४७ मत चाहिन्छ । प्रदेशसभा बैठक भने बुधबारका लागि आह्वान गरिएको छ ।

सत्तारूढ नेकपा औपचारिक रूपमा विभाजित नभएको जनाउँदै कांग्रेसले तटस्थ बस्ने नीति लिएको छ । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले नेकपा औपचारिक रूपमा विभाजित नहुन्जेल कुनै पनि समूहसँग सहकार्य गरेर अघि बढ्न नसकिने बताए । ‘प्रदेशसभा बैठकमा नेकपाका दुई समूहले के–के गर्छन्, हेरेर बस्छौं,’ उनले भने, ‘नेकपा औपचारिक रूपमा विभाजित भएपछि कांग्रेसको नेतृत्व स्वीकार गर्ने समूहसँग सहकार्य गरेर सरकार बनाउने नीतिमा छौं ।’

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकामध्ये जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले सोमबार हस्ताक्षर फिर्ताको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् । प्रदेशसभा सदस्य कला घले र वसन्तीदेवी यादवले यसअघि नै हस्ताक्षर फिर्ताको घोषणा गरिसकेका थिए । उनीहरूले मुख्यमन्त्री राईको समूहमा खुलेको घोषणा पनि गरिसकेका छैनन् । संविधानको धारा १८८ (४) मा प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरूमध्ये एक चौथाइ सदस्यले मुख्यमन्त्रीविरुद्ध लिखित रूपमा अविश्वासको प्रस्ताव पेस गर्न सक्ने व्यवस्था छ । अविश्वासको प्रस्ताव बहुमतबाट पारित भए मुख्यमन्त्री पदमुक्त हुन्छन् ।

नेकपाको ६७ प्रदेशसभा सदस्यमध्ये दाहाल–नेपाल समूहमा हस्ताक्षर गरेका ३२ सहित ३४ जना मात्रै देखिएका छन् । मुख्यमन्त्री राईसँग २५ जना खुलेका छन् । त्यसबाहेक एक जना सरकारी कागज किर्ते मुद्दामा फरार, एक जना सभामुख र एक जना उपसभामुख छन् । प्रदेशसभामा कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ जना प्रदेशसभा सदस्य छन् । मुख्यमन्त्री राई र दाहाल–नेपाल दुवै समूहले कांग्रेसलाई फकाउने प्रयत्न जारी राखेका छन् ।

कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले कुनै पनि समूहले सहकार्यका लागि औपचारिक प्रस्ताव नगरेको बताए । ‘दुवै समूहले अनौपचारिक रूपमा मात्रै कुरा गर्दै आएका छन्,’ उनले भने, ‘पार्टीको प्रदेश कार्यसमिति नभएकाले केन्द्रीय कार्यसमितिको निर्देशन के आउँछ, त्यसलाई पनि पर्खेका छौं तर औपचारिक रूपमा नेकपा विभाजित नहुन्जेल कुनै समूहसँग सहकार्य नगर्ने नीति छ ।’

मुख्यमन्त्री राईले आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकामध्ये १६ जनालाई कुनै पनि संसदीय गतिविधिमा संलग्न नहुने गरी तीन महिना निलम्बन गरेका छन् भने दाहाल–नेपाल समूहले मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर प्रदेशसभा सदस्य भीमप्रसाद आचार्यलाई निर्वाचित गराएको पत्र प्रदेशसभामा दर्ता गराएको छ ।

दलका नेताको हैसियतमा आचार्यले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई प्रमुख सचेतकबाट हटाएर सचेतक सौभाग्य राईलाई जिम्मेवारी दिने निर्णय गरेका छन् । उनले कार्यव्यवस्था परामर्श समितिमा नेकपाका तर्फबाट प्रतिनिधित्व गर्दै आएका प्रमुख सचेतक राजभण्डारी र इन्द्रमणि पराजुलीलाई फिर्ता बोलाएर लीलाबल्लभ अधिकारी र उपेन्द्र घिमिरेलाई पठाएको पत्र पनि प्रदेशसभामा दर्ता गराएका छन् । आचार्यले मुख्यमन्त्री राईलगायत ८ जनालाई संसदीय दलको गतिविधिमा निलम्बन गरेको जनाएका छन् ।

प्रदेशसभा सचिवालयले बुधबार दिउँसो २ बजे सुरु हुने प्रदेशसभा बैठकको तयारी पूरा भएको जनाएको छ । सचिवालयले बैठकमा कुनै किसिमको अप्रिय घटना हुन नदिन प्रत्येक कुर्सीलाई फलामको पातामा वेल्डिङ गरेर जोडेको छ । बैठक कक्षमा नेकपा औपचारिक रूपमा विभाजित नभएकाले सत्ता पक्षका लागि एउटै लाइनमा कुर्सी राखिएको छ । ४७ जना मर्यादापालक रहेकामा १० जना थपिएको छ ।

दर्शकदीर्घा र पत्रकारका लागि प्रदेशसभाको माथिल्लो तलाको हलमा बस्ने व्यवस्था गरिएको सचिवालयका सचिव गोपाल पराजुलीले बताए । उक्त हलमा जडान गरिएको टेलिभिजनमा बैठकको गतिविधि पत्रकार र दर्शकले हेर्न पाउने उनले बताए । सभामुख प्रदीपकुमार भण्डारीले भने कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छैनन् । सचिव पराजुलीले समितिको बैठक सभामुखको अधिकारको विषय भएको र त्यो बुधबार बिहानसम्ममा बोलाउन सक्ने बताए ।

कांग्रेस, नेकपा दाहाल–नेपाल र मुख्यमन्त्री राईको समूहले प्रदेशसभाको हिउँदे तथा सातौं अधिवेशन सुरु हुनुअगावै संसदीय दलको बैठक बोलाएका छन् । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले संसदीय दलको सभा हलमा मंगलबार ११ बजे दलको बैठक बस्ने बताए । दाहाल–नेपाल समूहबाट प्रमुख सचेतकको समेत जिम्मेवारी पाएकी सौभाग्य राईले विराटनगरको तीनपैनीस्थित तत्कालीन माओवादी पार्टी कार्यालयमा दलको बैठक मंगलबार ११ बजे बस्ने जनाएकी छन् ।

नेकपाको मुख्यमन्त्री राई समूहको पनि बुधबार बिहान संसदीय दलको सभा हलमा बैठक बस्ने प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । मुख्यमन्त्री राईले बहुमत सदस्य ३३ जना आफ्नो पक्षमा ल्याएर दलको बैठक बस्ने रणनीति बनाएका छन् ।

प्रकाशित : माघ ६, २०७७ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?