२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

मधेसी सहिद प्रतिष्ठान बनाउने घोषणा

जनकपुर — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेसी सहिद प्रतिष्ठान बनाउने घोषणा गरेका छन् । प्रदेश सरकारले सोमबार जनकपुरमा आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा मधेस आन्दोलनमा सहिद भएका आश्रित परिवारको भरणपोषण, शिक्षा, सम्मानका लागि प्रतिष्ठान बनाइने मुख्यमन्त्री राउतले बताए ।

मधेसी सहिद प्रतिष्ठान बनाउने घोषणा

प्रदेश सरकारले मधेस आन्दोलनमा ज्यान गुमाउने ६० सहिद परिवारलाई जनही २५ हजार नगद, दोसल्ला तथा फूलमालासहित सम्मान गरेको छ । कार्यक्रममा जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो, अनिल झा, मुख्यमन्त्री राउत, भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनललगायतले सहिद परिवारलाई सम्मान गरेका थिए ।

नेता महतोले मधेस आन्दोलनताका आफूहरूले सहिद परिवारलाई ५० लाख प्रदान गर्ने घोषणा गरेको स्मरण सुनाए । ‘मधेस आन्दोलनका क्रममा हामीले सहिद परिवारलाई ५० लाख दिने घोषणा गरेका थियौं । रुपैयाँ नै दिनुपर्छ भन्ने होइन । तर सहिद परिवारलाई सम्मानसँगै जीवनयापनको सम्पूर्ण सुविधा उपलब्ध गराउनु प्रदेश सरकारको दायित्व हो,’ उनले भने ।

आन्दोलनका अनेकौं माग अझै पनि सम्बोधन हुन नसकेको उल्लेख गर्दै जसपा नेता झाले मधेस र मधेसीलाई अधिकार सम्पन्न बनाउन अझै पनि आन्दोलनको आवश्यकता रहेको बताए । मुख्यमन्त्री राउतले प्रदेश सरकार मधेस आन्दोलनका सहिदहरूलाई उच्च महत्त्वको साथ हेरेको तथा उनीहरूको आश्रित परिवारका लागि दीर्घकालीन योजना लिएर अघि बढेको बताए ।

प्रदेश सरकारले मधेस आन्दोलनमा ज्यान गुमाएका रमेश महतोकी भाउजूलाई मुख्यमन्त्री कार्यालयमा जागिर दिएको छ भने थप एक जनालाई मुख्य न्यायाधिवक्ताको कार्यालयमा, १६ जनालाई भौतिक पूर्वाधार मन्त्रालय, १५ जनालाई उद्योग, पर्यटन तथा वन मन्त्रालयमा १५ जनालाई, सामाजिक विकास मन्त्रालयमा १० जनालाई करार सेवामा जागिर दिएको जानकारी कार्यक्रममा दिइएको थियो ।

प्रकाशित : माघ ५, २०७७ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?