२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

निभाइयो मनाङको डढेलो

जंगलमा लागेको आगो बस्तीतिर आउन थालेपछि मात्रै करिब २ महिनापछि नियन्त्रणमा लिइएको हो
आश गुरुङ

लमजुङ — मंसिर ११ देखि मनाङको थान्चोक र कोतोको पारिपट्टि कोटेको जंगलमा डढेलो सुरु भयो । मस्र्याङ्दी नदीपारि लागेको आगो बस्तीतिर नआउने आकलन गर्दै स्थानीयले त्यसको वास्ता गरेनन् ।

निभाइयो मनाङको डढेलो

मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–८ मा पर्ने उक्त जंगलको आगो विस्तारै ताचै गाउँतिर सोझियो र पुस १३ बाट उग्र रूप लियो । हेर्दाहेर्दै खोल्सो कटेर आगो बस्तीतिर मोडियो । त्यसपछि मात्रै स्थानीय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र प्रशासनको आगो निभाउनतर्फ ध्यान गयो ।

ताचैका सोलबहादुर गुरुङका अनुसार माथिल्लो क्षेत्रको आगो तल्लो क्षेत्रको बस्तीतिर आउन थालेपछि मात्रै सबैको आँखा खुलेको हो । ‘हेर्दाहेर्दै आगो त रैंदु जंगलबाट गाउँतिरै पो आउन थाल्यो । खोल्साखोल्सी नाघेपछि बस्तीमै आउने जोखिम पनि थियो,’ उनले भने, ‘सेना, प्रहरीसँगै ६०/६५ घरका स्थानीय मिलेर आगो निभाउन गयौं । अहिले कतैकतै रूखको ठुटामा धूवाँ त आइरहेको छ तर आगो देखिएको छैन, निभेको छ ।’

एक्यापको इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले पनि डढेलो नियन्त्रणमा आएको बताए । ‘गाउँतिर आगो आउन नदिन अग्निरेखा कोर्‍यौं । अहिले आगो निभेको छ, बस्तीतिर बढ्ने अवस्था छैन,’ उनले भने । उनले आगो लगाउनेको खोजी भइरहेको बताए । ‘आगो नियतवश लगाएको देखिन्छ तर प्रमाण छैन,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले आगो निभाउन ५/६ दिन लागेको बताए । त्यसमा प्रशासनका कर्मचारीसहित सेना, प्रहरी, एक्यापका प्रतिनिधि र गाउँले खटिएका थिए । आगो निभाउन ३ देखि ५ मिटर चौडाइ भएको करिब १ किलोमिटर लामो अग्निरेखा बनाइएको उनले बताए । ‘अग्निरेखा बनाएपछि आगो नियन्त्रणमा आयो । गाउँतिर, घरगोठलाई भेट्ने गरी आगो फैलन पाएन,’ उनले भने, ‘आगो लगाउनेको खोजी गरिरहेका छौं । एक्यापलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि भनेका छौं ।’

मनाङको तापक्रम केही सातादेखि लगातार माइनसमा छ । अत्यधिक चिसोमा फैलिएको आगो करिब २ महिनामा नियन्त्रणमा आएको हो । एक्यापका अनुसार करिब ३ हजार ५ सय मिटर उचाइसम्म डढेलो लागेको थियो । डढेलोले एक्याप क्षेत्रको ७ सय हेक्टर क्षेत्रको वनपैदावार र जडीबुटी नष्ट पारेको छ । जंगली जनावरको बासस्थानसमेत मासिएको छ । यस क्षेत्रमा घोरल, झारल, कस्तुरी, मृग, थार, हिमचितुवा, डाँफेमुनालजस्ता जंगली जनावर एवं यार्चागुम्बु, पाँचऔंले, निरमसी, कुटकी, पदमचाल, वनलसुनलगायत जडीबुटी पाइन्थ्यो ।

प्रकाशित : माघ ५, २०७७ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?