३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भ्रमण वर्षको फाइल अख्तियारले झिकायो

सुरज कुँवर

काठमाडौँ — तामझामकासाथ राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको तर कोभिड महामारीका कारण सुरु भएको ४ महिनामै स्थगन भएको नेपाल भ्रमण वर्ष २०२० को सबै खर्च विवरणसहितका फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झिकाएको छ ।

भ्रमण वर्षको फाइल अख्तियारले झिकायो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार अख्यितारले मन्त्रालयलाई व्यवसायी सुरज वैद्य राष्ट्रिय संयोजक रहेको तत्कालीन भम्रण वर्ष सचिवालयले गरेका सबै आर्थिक कारोबारको फाइल तत्काल बुझाउन निर्देशन दिएको हो ।

‘आन्तरिक छानबिन गरी ७ दिनभित्र भम्रण वर्ष सचिवालायले गरेका खर्च सम्बद्ध कागजात बुझाउन पत्र आएको छ,’ मन्त्रालय स्रोतले भन्यो । मन्त्रालयले के कति खर्च भएको सबै विवरणसहित सक्कल कागजातको प्रतिवेदनसहित बुझाउन पर्यटन बोर्डलाई पत्राचार गरेको छ । बोर्डबाट कागजात आइनसकेकाले अख्तियारमा पठाउने कार्यमा ढिलाइ भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा सन् २०२० मा २० लाख पर्यटक ल्याउन सरकारले व्यवसायी सुरज वैद्य राष्ट्रिय संयोजक रहेको मूल समितिका लागि ६१ करोड बजेट विनियोजन गरिएको थियो । तर, भम्रण वर्ष सचिवालयले ३५ करोड खर्च गरिसकेको थियो । जसमध्ये ५ करोड २४ लाख रुपैयाँको खर्च बिल भम्रण वर्ष सचिवालय बन्द भइसकेपछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको थियो ।

उक्त रकमको भुक्तानी गर्न अर्थ मन्त्रालयले भृकुटीमण्डपमा रहेको पर्यटन बोर्डलाई अख्तियारी दिँदै बजेट पनि दिएको थियो । तर, अख्तियारले फाइल झिकाउने आदेश दिएसँगै बोर्डले रकम भुक्तानी रोकेको छ । ‘कोभिडका बेला पेश भएका पछिल्ला बिल धेरै हचुवाका भरमा किर्ते कामका पनि देखिए,’ स्रोतले भन्यो । कोरोना महामारीका कारण संसारभर लकडाउन सुरु भएपछि सरकारले मध्य चैतमा भम्रण वर्ष कार्यक्रम खारेज गर्ने निर्णय गरेको थियो भने ०७७ वैशाख १ गतेदेखि लागू हुने गरी सुरज वैद्यको सचिवालय पनि विगठन गराएको थियो ।

सरकारले भम्रण वर्ष रोक्ने निर्णय गरेपछि हाल केशरमहलमा रहेको सचिवालय खारेज भइसकेको छ । त्यहाँ प्रयोग भएका फर्निचर लगायतका जिन्सी सामाग्री केही पर्यटन बोर्ड र केही मन्त्रालयमा राखिएका छन् । वैद्यले आफू संयोजक रहँदासम्मको खर्च तथा प्रगतिको विवरण हालसम्म सार्वजनिक नगरेको कार्यक्रम कार्यान्वयन उपसमितिका सदस्य तथा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष नवराज दाहालले बताए । ‘कार्यक्रम खारेज भयो तर के कति खर्च भयो केही विवरण हामीलाई पनि उपलब्ध भएन,’ निजी क्षेत्रको प्रतिनिधित्व गर्दै भम्रण वर्ष मूल आयोजक समितिमा सदस्य चुनिएका उनले भने । सचिवालयमा राजनीतिक नियुक्तिसहित २२ जना कर्मचारी राखिएका थिए ।

प्रकाशित : माघ ५, २०७७ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?