२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

दाहाल–नेपाल समूहका तीन सांसद मुख्यमन्त्री राईको पक्षमा

देवनारायण साह

मोरङ — नेकपाको दाहाल–नेपाल समूहका तीन सांसदले अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिई मुख्यमन्त्री शेरधन राईतर्फ आएका छन् । प्रदेशसभा सदस्य जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिएका हुन् । 

दाहाल–नेपाल समूहका तीन सांसद मुख्यमन्त्री राईको पक्षमा

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले तीनै जनाले इमेलमार्फत मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएको बताए । प्रदेशसभा सचिवालयमा इमेलमार्फत पठाएको पत्रमा नेकपाका सांसद भएर नेकपाकै सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त नठानेर हस्ताक्षर फिर्ता लिएको उल्लेख छ ।

यसअघि प्रदेससभा सदस्य कला घले र वसन्तिदेवी यादवले मुख्यमन्त्री राईविरुद्धको हस्ताक्षर फिर्ता लिएको घोषणा गरिसकेका छन् ।उनीहरुले औपचारिक रुपमा प्रदेशसभा सचिवालयमा पत्र भने दर्ता गराएका छैनन् ।

दाहाल–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । माघ ७ गते प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रदेशसभा बैठक आह्वान गरिसकेका छन् । प्रदेशसभा सचिवालयले बैठकको तयारी गरिसकेको सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए ।

प्रदेशसभा सचिवालयले माघ ७ गते दिउँसो २ बजेदेखि सुरु हुने प्रदेशसभा बैठकको तयारीमा जुटेको छ । सचिवालयले बैठकमा अप्रिय घटना हुन नदिन प्रत्येक कुर्सीहरुलाई फलामको पातामा वाइल्डिङ गरिरहेको छ । बैठक कक्षमा नेकपा औपचारिक रुपमा विभाजित नभएकाले सत्ता पक्षका लागि एउटै लाइनमा कुर्सी राखेको छ ।

दर्शकदीर्घा र पत्रकारहरुका लागि प्रदेशसभाको माथिल्लो तलाको हलमा बस्ने व्यवस्था गरिएको सचिव पराजुलीले बताए । उनले उक्त हलमा जडान गरिएको टेलिभिजनमा बैठकको गतिविधि पत्रकार र दर्शकले हेर्न पाउने बताए ।

प्रदेशसभा बैठक व्यवस्थित रुपमा सञ्चालनका लागि सभामुख प्रदीपकुमार भण्डारीले कार्य व्यवस्था परामर्श समितिको बैठक हालसम्म बोलाएका छैनन् । दाहाल–नेपाल समूहका भीमप्रसाद आचार्यले कार्य व्यवस्था परामर्श समितिमा प्रतिनिधित्व गर्दै आएका नेकपाको प्रतिनिधि फिर्ता पठाएर अधिकारी र घिमिरेलाई पठाएकाले समितिको बैठक पेचिलो बनेको छ । सचिव पराजुलीले समितिको बैठक सभामुखको अधिकारको विषय भएको र त्यो माघ ७ गते बिहानसम्ममा बोलाउन सक्ने बताए ।

प्रकाशित : माघ ५, २०७७ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?