१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कोभिडपछि वैदेशिक रोजगारीमा असर : दुई लाख फर्किए, ४७ हजार गए

पुस मसान्तसम्म नयाँ श्रमस्वीकृति लिएर जानेभन्दा करारपत्र नवीकरण गरेर जानेको संख्या बढी
होम कार्की

काठमाडौँ — खाडी तथा मलेसियामा कोभिडपछि ६ महिनाको अवधिमा रोजगारीका लागि ४० हजार ५ सय ३५ जनामात्रै जान पाएका छन् । जबकि यही समयमा ती देशबाट एक लाख ९२ हजार ८ सय २८ जना स्वदेश फर्किसकेका छन् ।

कोभिडपछि वैदेशिक रोजगारीमा असर : दुई लाख फर्किए, ४७ हजार गए

वैदेशिक रोजगार विभागका अनुसार पुस मसान्तसम्म नयाँ श्रमस्वीकृति लिएर जानेभन्दा करारपत्र नवीकरण गरेर जानेको संख्या बढी छ । साउनदेखि पुस मसान्तसम्म विभागबाट संस्थागत र व्यक्तिगत रूपमा नयाँ श्रमस्वीकृति लिनेको संख्या १३ हजार १ सय ९३ जना छ । करार अवधि नवीकरण गरेर जानेको संख्या भने ३४ हजार ५ सय ६७ जना छ । जसमध्ये झन्डै ९५ प्रतिशतको गन्तव्य खाडी नै बनेको छ ।

‘चैत पहिलो सातादेखि रोजगारीमा जान रोकिएपछि हामीले बिदामा आएर फर्कन चाहने श्रमिकका लागि साउनदेखि नै पुनः श्रमस्वीकृति (श्रम नवीकरण) दिन थालेको थियौं, संस्थागत (म्यानपावर) बाट पठाउने काम भने भदौमा मात्रै सुरु भयो,’ विभागका महानिर्देशक कुमार दाहालले कान्तिपुरलाई भने, ‘भदौदेखि पुस मसान्तसम्मको रेकर्ड हेर्दा हरेक महिना विस्तारै रोजगारीमा जाने क्रम बढ्न थालेको छ ।’

भदौमा १ हजार ५ सय ३० जना गएका थिए । भदौमा रोमानियाबाहेक अन्य देशमा नयाँ श्रमस्वीकृतिमा श्रमिक जान पाएनन् । रोमानियामा ४४ जना गएका थिए । पुसमा नयाँ श्रमस्वीकृति लिएर ६ हजार ७ सय ४ जना गए भने करार नवीकरण गरेर जानेको संख्या ८ हजार ४९ जना छन् । दाहालका अनुसार अघिल्लो वर्षको तुलनामा यो निकै कम भए पनि कोभिडपछिको समयमा भने शून्यमा झरेको रोजगारी विस्तारै बढ्न थालेको हो । ‘सामान्य अवस्थामा दैनिक ३६ सयसम्म श्रमस्वीकृति दिएका थियौं । कोभिडपछि शून्यमा झर्‍यो । अब विस्तारै बढ्दै छ । शून्यबाट माथि उक्लेर दैनिक ५ सय जनालाई श्रमस्वीकृति दिने अवस्थामा आइपुग्यौं,’ उनले भने ।

विभागका अनुसार नयाँ मागपत्र अझै कमी आइरहेको छ । गत वर्षको चैतअगाडि नै श्रमिक भर्ना प्रक्रिया अगाडि बढाउन पूर्वश्रमस्वीकृति पाएका रोजगारदाताले अहिले नयाँ श्रमिक लैजान थालेको हो । अझै प्रमुख गन्तव्यका केही देश र नेपाली दूतावासले श्रमिक ल्याउनका लागि मागपत्र प्रमाणीकरण गरिसकेको छैन । कतारले दुई साताअगाडिबाट मात्रै श्रमिक ल्याउनका लागि मागपत्र प्रमाणीकरण गर्न थालेको छ । दूतावासले मागपत्र प्रमाणीकरण गरेपछि मात्रै विभागले श्रमस्वीकृतिको प्रक्रिया अगाडि बढाउन सक्छ । कुवेत र मलेसिया सरकारले नै नयाँ श्रमिकका लागि भिसा जारी गर्ने काम रोकेकाले श्रमिक लैजान पाएको छैन । भिसा भएकाहरू भने उड्न पाइरहेका छन् ।

संयुक्त अरब इमिरेट्सले सरकारी र अर्धसरकारीमा जाने नयाँ श्रमिकका लागि मात्रै भिसा जारी गरिरहेको छ । साउदी अरबस्थित नेपाली दूतावास र महावाणिज्य दूतको कार्यालयले जनवरी २४ बाट मात्रै अनलाइनमार्फत मागपत्र बुझ्ने जनाएको छ । ‘कोभिड संक्रमणको जोखिम कायमै रहेको अवस्थामा साउदी श्रम बजारमा परेको प्रभावबीच रोजगारीको सुनिश्चिततालाई मध्यनजर गर्दै मागपत्र प्रमाणीकरण सीमित संख्याबाट सावधानीपूर्वक गर्न लागेको हो,’ साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भने, ‘अहिले नै मागपत्र प्रमाणीकरण गरे पनि म्यानपावर कम्पनीले श्रम सुधार योजना कार्यान्वयनमा आएपछि मात्रै श्रमिक पठाउने प्रबन्ध गर्नुपर्छ ।’ साउदी अरबले आउँदो मार्च १४ बाट श्रम सुधार योजनालाई कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले दुई देशबाहेक अन्य देशका रोजगारदाताहरू नेपाली श्रमिक लैजानका लागि धमाधम काम भइरहेको बताए । ‘कुवेतले कहिले खुल्छ भन्ने यकिन छैन । मलेसियाले सुरक्षा र वनपैदावर क्षेत्रमा नेपाली लैजानका लागि सकारात्मक देखिएको छ । यसका लागि हामी नेपालस्थित मलेसियन दूतावाससँग सकारात्मक पहल भइरहेको छ,’ उनले भने, ‘मलेसियन दूतावासलाई हामीले भिसा जारी भइसकेर उड्न नपाएका श्रमिकको भिसा नवीकरण गरिदिन र कलिङ भिसा आइसकेकालाई भिसा दिने प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छौं ।’ कोभिडपछि मलेसियामा ६ सय ७४ जना गएका छन् भने २७ हजार ८ सय २१ जना फर्किसकेका छन् ।

वैदेशिक रोजगार व्यवसायीहरूले पूर्वश्रमस्वीकृतिको म्याद बढाउन सरकारलाई ध्यानाकर्षण गराएको छ । ‘चैत अगाडि लिइएका अधिकांश पूर्वश्रमस्वीकृतिको फाइलहरूको अवधि समाप्त हुन लागेको छ, यसको समय एक वर्ष थपिदिनुपर्छ,’ प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका संयोजक रामप्रसाद भान्तनाले नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीसमक्ष भने, ‘श्रमिकहरूलाई पनि रोजगार करारपत्रका आधारमा श्रमस्वीकृति दिइनुपर्छ ।’

प्रकाशित : माघ ५, २०७७ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?