१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मध्यभोटेकोसी घूस प्रकरण : अख्तियारले थाल्यो छानबिन

अख्तियारले आयोजनाबाट केही कागजपत्र लग्यो, गुणस्तर जाँच्न स्वतन्त्र विशेषज्ञ टोली
ऋषिराम पौड्याल

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माणधीन मध्यभोटेकोसी जलविद्युत् कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहितका प्राविधिक कर्मचारीले चिनियाँ ठेकेदार कम्पनीसँग घूस लिएको अडियो रेकर्ड प्रकरणमा छानबिन सुरु गरेको छ ।

मध्यभोटेकोसी घूस प्रकरण : अख्तियारले थाल्यो छानबिन

केही कागजपत्रसमेत लगेको अख्तियारले घूस प्रकरणलाई भ्रष्टाचारजन्य विषय भन्दै छानबिन सुरु गरेको हो । ‘भोटेकोसीको अनियमिततामाथि प्रारम्भिक छानबिन सुरु भएको हो,’ अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले भने । संरचनाको गुणस्तर भने विशेषज्ञ टोलीले छानबिन गर्ने भएको छ ।

चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् कम्पनीका तत्कालीन सीईओ मणिकुमार काफ्ले, चिनियाँ ठेकेदार कम्पनी हाइड्रो इलेक्ट्रिक ग्वान्सिङ कन्ट्रक्सन ब्युरोका नेपाली प्रतिनिधि गोविन्द पौडेल र परामर्शदाता कम्पनी ट्रयाक्टेबल इन्जिनियरिङ जीएमबीएचका इन्जिनियर दिनेश भण्डारीले गरेको आर्थिक लेनदेनको कुराकानीको अडियो सार्वजनिक भएको थियो । आयोजनाको संरचनाको गुणस्तरमाथि प्रश्न उठिरहेका बेला बाँध निर्माण भएको एक वर्ष नपुग्दै भत्केको घटनासमेत उजागर भएको थियो । स्रोतका अनुसार भोटेकोसीका विषयमा सञ्चारमाध्यममा आएका भ्रष्टारजन्य सन्दर्भलाई समेत आधार बनाएर छानबिन गरिन लागेको हो ।

मध्यभोटेकोसी घूस प्रकरण : सीईओलाई दोष थुपारेर छानबिनमा आलटाल

सिन्धुपाल्चोकमा सात वर्षअघि सुरु गरिएको आयोजनाको ६० प्रतिशत मात्र काम सकिएको छ । यसमा करिब ९ अर्ब रुपैयाँ खर्च भइसकेको छ । ठेकेदार कम्पनीका प्रतिनिधि पौडेलको मोबाइलबाट प्राप्त अडियो रेकर्डबाट निर्माण र गुणस्तर जाँचको जिम्मेवारी पाएका अधिकारीमाथि नै आर्थिक चलखेलको आशंका उब्जिएपछि आयोजनाले आन्तरिक छानबिन पनि सुरु गरेको छ । आयोजनाले केही कागजपत्र अख्तियारलाई बुझाइसकेको जनाएको छ । गुणस्तरको विषयमा आयोजनाले स्वतन्त्र प्राविधिकबाट गराउन सक्ने भए पनि घूस लेनदेनको कुरा आएकाले अख्तियारले छानबिन सुरु गरेको जनाइएको छ ।

घूस प्रकरणसँग जोडेर कम्पनी सञ्चालक समितिले सीईओ काफ्लेलाई निष्कासन गरिसकेको छ । काफ्ले अडियो रेकर्ड सार्वजनिक भएपछि सम्पर्कविहीन छन् । उनी सञ्चारमाध्यमको सम्पर्कका आउन चाहेका छैनन् । अख्तियारले तत्कालीन सीईओ काफ्ले र त्यसका संलग्न भनिएका प्राविधिकहरूलाई बयान दिने जानकारी स्रोतले दियो । छानबिन गरेर दोषीमाथि कारबाहीको माग गर्दै आएका आयोजना प्रमुख सुनीलकुमार लामालाई पनि सञ्चालक समितिले बिहीबारदेखि लागू हुने गरी हटाएको छ । उनी आयोजनामा सात वर्षदेखि कार्यरत थिए । कारबाहीको माग गर्नेलाई नै जागिरबाट हटाएपछि सञ्चालक समितिमाथि पनि प्रश्न उठ्दै आएको छ ।

लामाले आयोजनाको गुणस्तर कमजोर भएको, ठेकेदार र परामर्शदाताले सही ढंगले काम नगरेको भन्दै आयोजनाको केन्द्रीय कार्यालयमा पटक–पटक पत्राचार गर्दै आएका थिए । उनले सुरुङको गुणस्तर कमजोर भएको रिपोर्ट पेस गरेका कारण त्यसबापतको रकम ठेकेदारले पाएका छैनन् । गुणस्तर राम्रो नभएको सुरुङको आन्तरिक जाँच गरेर ठेकेदारलाई भुक्तानी दिने योजना तत्कालीन सीईओ काफ्ले र परामर्शदाता इन्जिनियर भण्डारीले बनाएको अडियो रेकर्ड सार्वजनिक भएको थियो ।

मध्य भोटेकोसी आयोजनाका अधिकारी र परामर्शदातालाई २ करोड घूस प्रस्ताव गरेको अडियो टेप सार्वजनिक

स्रोतका अनुसार गुणस्तर घटाएबापतको केही रकम इन्जिनियर भण्डारीको बैंक खातामा राखेको अडियोमा सुनिन्छ । त्यही आधारमा कारबाही हुने भएपछि भण्डारीले केही समयअघि जागिर छाडेका छन् । उनलाई कारबाही गर्नुको बदला राजीनामा दिन लगाएर जोगाउन खोजिएको अनुमान स्थानीयले गरेका छन् । स्रोतका अनुसार भण्डारीको बैंक खाता जाँच गर्न सञ्चालक समितिका सदस्यले नै दबाब दिएका छन् ।

चौतर्फी दबाबपछि आयोजनाको संरचनाको गुणस्तर जाँच तेस्रो पक्षबाट गरिने भएको छ । कम्पनी सञ्चालक समितिले सुरुङ, बाँध, पावरहाउस लगायतका संरचनाको गुणस्तर जाँच तेस्रो पक्षबाट गराउने निर्णय गरेको हो । कम्पनीका निमित्त सीईओ सुवास मिश्रले स्वतन्त्र प्राविधिक टोलीले जाँच गरेर दिएको प्रतिवेदनका आधारमा गुणस्तरको विषयमा थप निर्णय गर्ने बताए । उनका अनुसार आयोजनाले इन्जिनियरिङ कलेजका प्राध्यापकको टोली संलग्न गराएर गुणस्तर जाँच गर्ने योजना बनाएको छ । ‘हामी जाँच नगरी संरचनाको गुणस्तर कस्तो छ भन्न सक्दैनौं,’ मिश्रले भने, ‘निष्पक्ष जाँच हुन्छ ।’ उनले जाँच र छानबिनका लागि लामो समय लाग्न सक्ने बताए ।

स्थानीयले आयोजनामा भएको अनियमितता र संरचनाको गुणस्तरको छानबिन हुनुपर्ने माग गर्दै आएका छन् । मिश्रले बनेको एक वर्ष नबित्दै भत्केको बाँधको विषयमा पनि प्राविधिक जाँच हुने जानकारी दिए । आयोजनाको ७ किमिमध्ये करिब साढे ६ किमि सुरुङ निर्माण भइसकेको छ । सुरुङको भित्तालाई पक्की बनाउन गरिने सर्किटको गुणस्तर नपुगेपछि त्यसबापतको झन्डै २० करोड रुपैयाँ ठेकेदारले पाएको छैन ।

आयोजना निर्माणमा संलग्न चिनियाँ ठेकेदार कम्पनीका कामदारहरू कोभिड–१९ विरुद्धको खोप लगाएर मात्र नेपाल आउने भएका छन् । ठेकेदार कम्पनीका अधिकारीले गत साता नेपाल आएर खोप लगाएपछि मात्र चिनियाँ कामदारहरूले काम गर्ने जानकारी गराएका हुन् ।

प्रकाशित : माघ ५, २०७७ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?