प्रदेश २ मा शीतलहरको कहर- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ मा शीतलहरको कहर

 चिसोले ४ को मृत्यु, आगो ताप्दा २ को ज्यान गयो
विपन्न, मुसहर र ज्यालादारी गरेर गुजारा चलाउने परिवार उच्च जोखिममा, अस्पतालमा पनि चिसो प्रभावित बिरामी बढे
प्रदेश २ ब्युरो

जनकपुर — तापक्रम घट्दै जाँदा प्रदेश २ मा शीतलहरको कहर सुरु भएको छ । लुगलुग कमाउने ठन्डीले जनजीवन प्रभावित बनेको छ । सहरी क्षेत्रमा मानिसको चहलपहल पातलिएको छ भने दाउरा, काठ र पराल बालेर चोकचोकमा आगो ताप्ने क्रम बढेको छ ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार पुसयता शीतलहरले ४ जनाको मृत्यु भएको छ । सिरहामा ५ दिनयता मात्रै ३ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ८ वर्षीय बालक पनि छन् । प्रदेश प्रहरी कार्यालयका एसएसपी मसरुद आलम खानले सिरहामा ३ जना र सर्लाहीमा १ जनाको मृत्यु भइसकेको पुष्टि गरे ।

पुस ५ गते सर्लाहीको हरिपूर्वा–४ का ५४ वर्षीय रोजाइ शेखको ठन्डीकै कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सिरहा प्रहरीका अनुसार कर्जन्हा–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियारपट्टी–१ का ८५ वर्षीया प्रयागीदेवी साह र मिर्चैया–७ मोरहाका ८ वर्षीय बालक जाविर राइनको मृत्यु भएको छ ।

प्रदेश २ का मुख्य सहरहरूको तापक्रम लगातार ओरालो लागेको छ । जनकपुर, वीरगन्ज, राजविराज, कलैया, मलंगवा र जितपुर सिमरामा अत्यधिक चिसो भएको छ । जनकपुरको मुख्य चोकहरूमा दाउरा बालेर आगो ताप्ने र न्यानो खाना उपलब्ध गराउने अभियान थालिएको छ । धनुषाको ग्रामीण क्षेत्र र विपन्न बस्तीमा शीतलहरको कहरले झन् सताएको छ । ‘ग्रामीण र विपन्न बस्तीमा तीनै तहका सरकारले न्यानो लुगा, खानेकुरा र दाउराको प्रबन्ध मिलाउनुपर्छ,’ जनकपुरका सामाजिक अभियन्ता अमरचन्द्र अनिलले भने ।

दुई महिनायता घुर ताप्ने क्रममा जलेका २ महिलाको जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रका अनुसार धनुषा विदेह–१ की ६५ वर्षीया रिझनी पासवान र महोत्तरीको जलेश्वर–५ की ८४ वर्षीया भुलो देवीको मृत्यु भएको हो ।

प्रादेशिक अस्पतालमै उपचारका क्रममा रहेकी महोत्तरी औरही–५ श्रीपुरकी २७ वर्षीया सवयदेवी मुखियाको ढाडमुनिको भाग जल्दा अवस्था चिन्ताजनक छ । साँझपख घरमा आगो बालेर हातखुट्टा सेक्न लाग्दा उनको साडीबाट आगो सल्केको थियो । जनकपुरधाम–४ की ७५ वर्षीया सोनापरी देवीको शरीर डढेको छ । ढाडमुनिको भाग जलेर चिन्ताजनक अवस्थामा रहेकी उनको उपचार भइरहेको छ ।

आगो ताप्ने क्रममा शरीर जलेपछि जनकपुर प्रादेशिक अस्पतालमा उपचार गराउँदै महिला । तस्बिर :सन्तोष सिंह/कान्तिपुर

प्रादेशिक अस्पताल जनकपुरको बर्नवार्डमा रहेका ६ बेड नै भरिएका छन् । आगोले जलेका अधिकांश महिला गरिब र विपन्न परिवारका हुन् । अस्पतालमा पछिल्ला २ महिनामा आगोमा जलेका २० जना महिला भर्ना भएकामा २ जनाको मृत्यु भएको छ । जनचेतना अभावले जलेको घाउमा तेल, टुथपेस्ट, बेसार र अन्य जडीबुटी लगाउनाले उपचारमा समस्या हुने गरेको डा. राजेश साहले बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आगोमा जलेर आर्थिक वर्ष २०७५/७६ मा ७ जना र २०७६/७७ मा ६ जनाको मृत्यु भएको छ । निरन्तरको शीतलहर र चिसोले सर्लाहीमा चार दिनदेखि घाम लागेको छैन । चिसो स्याँठ र बाक्लो कुहिरोले सडकमा चहलपहल कम छ । पुसको अन्त्यदेखि चिसो हावासँगै यहाँ शीतलहर चलेको छ । कठ्यांग्रिँदो चिसोले विपन्न, मुसहर र दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवार सबैभन्दा बढी प्रभावित छन् । मजदुरहरू काममा जान पाएका छैनन् ।

शरीर ढाक्ने न्यानो कपडा र ओढ्ने–ओछ्याउने नहुँदा उनीहरूको दैनिकी कष्टकर छ । विपन्न तथा मुसहरहरू जाडो छल्न अधिकांश समय आगो तापेर बस्न बाध्य छन् । बाँकीको समय घरमै परालले बनाएको गुन्द्री ओढेर बस्छन् । पराल र पातलो ओढ्नेको भरमा उनीहरू शीतलहर झेलिरहेका छन् । ‘जाडो छल्न जुटको बोरामा पराल हालेर सिरक तथा डसना बनाएका छौं,’ स्थानीय शान्ति माझीले भनिन्, ‘प्रत्येक जाडोमा हाम्रो परिवारको सहारा पराल राखेको सिरक र डसना नै हो ।’

पुस सुरु भएसँगै बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहहरूले आफ्नो तयारी थालेको बताइएको थियो । तर चार दिनदेखिको शीतलहरमा स्थानीय तहको तयारी शून्य देखिएको छ । ‘हाम्रो गाउँका दुई जना प्रदेश सांसद छन्, नगरको मेयर र उपमेयर पनि हाम्रै गाउँका हुन्,’ स्थानीय रामचन्द्र रायले भने, ‘चिसो स्याँठ चल्दा पनि नेताहरूले केही व्यवस्थापन गर्न सकेका छैनन्, हामी नजिक भएकाको यो हालत छ भने दूरदराज गाउँका बासिन्दाको अवस्था झन् के होला ?’

सप्तरीको तिलाठी कोइलाडीका देवन सदाले शीतलहरसँग जसोतसो जोगिनु त आफूहरूको जीवनचक्र बनिसकेको बताए । ‘प्रकृतिको मार पनि दलित र विपन्नलाई नै पर्ने रहेछ,’ उनले भने, ‘एकातिर शीतलहरको जाडोबाट बच्न मुस्किल छ, अर्कोतिर भोक टार्ने समस्या पनि सँगै छ ।’

बिरामी बढे

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आकस्मिक कक्षमा कार्यरत अहेव रमेशकुमार यादवका अनुसार तीन दिनयताको चिसोका कारण प्रभावित भएर आउने बिरामीको संख्या बढेको छ । कोल्ड डाइरियाका साथै हातखुट्टा नचल्ने समस्या भएका बिरामी अत्यधिक छन् । चिसोको असर चौपाया तथा हिउँदे बालीमा समेत परेको छ ।

चिसो बढेपछि जिल्ला अस्पताल सर्लाहीमा बिरामीको चाप बढेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सञ्जीव सिंहले बताए । ‘अति विपन्न परिवार नै प्रभावित भएर आउने गरेका छन्,’ उनले भने, ‘त्यसमा वृद्धवृद्धा र बालबालिकाको संख्या बढी छ ।’ शीतलहर र बाक्लो हुस्सुका कारण सप्तरीका सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति न्यून देखिएको छ । हुस्सुले भिजिबिलिटी कम भएपछि पूर्वपश्चिम राजमार्गसहित जिल्लाको भित्री सडकमा सवारीसाधन दिउँसै बत्ती बालेर गुडिरहेका छन् ।

सन्तोष सिंह (धनुषा), ओमप्रकाश ठाकुर (सर्लाही), भरत जर्घामगर (सिरहा) र अवधेशकुमार झा (सप्तरी)

प्रकाशित : माघ ५, २०७७ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्

कोभिड खोपको ‘ड्राई रन’

स्वास्थ्यकर्मीले डमी खोप पाउनेछन्, जहाँ व्यक्तिमा लगाउँदासम्मको प्रक्रिया सिकाइनेछ ।
अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्न सरकारले ‘ड्राई रन’ को तयारी थालेको छ । ड्राई रन एक प्रकारले खोप लगाउने पूर्वाभ्यास हो । खोप ल्याइसकेपछि त्यसको प्रयोगमा सहजताका लागि उक्त तयारी थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप वितरणको रोडम्यापसमेत तयार गरिएको छ । ड्राई रनअन्तर्गत एकदिने अभ्यासमा विभिन्न क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीले डमी (नमुना) खोप पाउनेछन् । ‘ड्राई रनमा खोप लगाउने तयारीका बारेमा जानकारी जुटाएर यसमा देखिएको कमी, कमजोरी हटाइन्छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कान्तिपुरसँग भने, ‘खोप प्राप्त भएपछि व्यक्तिको पाखुरामा लगाउँदासम्मको कार्यविधि कसरी पूरा हुन्छ भन्ने अभ्यास गर्न ड्राई रनको तयारी भएको छ ।’

ड्राई रनको तयारी गरिनुको अर्थ कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान सुरु गर्नुभन्दा पहिलेको अवस्था हो । भारतबाट प्राप्त हुने भनिएको कुल २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिड–१९ विरुद्धको खोपलाई दृष्टिगत गरी ड्राई रनको तयारी थालिएको हो । हाल मुलुकभर भण्डारण, ओसारपसारलगायत खोपसँग सम्बन्धित विभिन्न कामहरू द्रुत गतिमा भइरहेको डा. अधिकारीले बताए ।

कुल जनसंख्याको ३ प्रतिशत र त्यसपछि १७ प्रतिशतलाई समेत पुग्ने गरी खोप भण्डारण गर्ने तयारी पूरा भइसकेको उनले दाबी गरे । ‘कोभिड–१९ संक्रमितको प्रत्यक्ष–अप्रत्यक्ष सम्पर्कमा रहने अग्रपंक्तिमा खटिने (स्वास्थ्यकर्मी, स्वास्थ्य निकायका कर्मचारी, सफाइकर्मी, सुरक्षाकर्मीलगायत) का लागि लक्षित गरी मुलुकको ३ देखि ५ प्रतिशत जनसंख्यालाई पुग्ने खोप भारतबाट छिट्टै प्राप्त हुने भएको छ,’ उनले भने ।

सिरम इन्स्टिच्युट अफ इन्डियाले ‘कोभिसिल्ड’ नाममा उत्पादन गरिरहेको अक्सफोर्ड–एस्ट्राजेनेकाको ‘एजेडडी १२२२’ खोप विभिन्न चरणमा नेपालले पाएपछि लगाउने अभियान सुरु हुनेछ ।

कोभिसिल्ड खोप नेपालमा छिट्टै प्रयोग गर्न अनुकूल वातावरण निर्माणका लागि भन्दै औषधि व्यवस्था विभागले गत शुक्रबार यसलाई आपत्कालीन उपयोगमा ससर्त अनुमति दिएको छ । भारतले गत डिसेम्बर अन्तिम साता ड्राई रन सुरु गरेको थियो भने शनिबारबाट खोप अभियान नै थालेको छ ।

डा. अधिकारीका अनुसार ड्राई रनदेखि खोप लगाउने बेलासम्म तयारी र समन्वयका लागि सातवटै प्रदेशमा सहसचिवको संयोजकत्वमा समिति गठन गरी खोप अभियानको जिम्मासमेत दिइएको छ ।

प्रकाशित : माघ ५, २०७७ ०६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×