कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पहिरोपीडित छाप्रो र गोठमा

प्रदेश सरकारले बिमामार्फत मृतक परिवारलाई दिने घोषणा गरेको राहत रकम त पाएनन् नै, कष्टकर बसाइलाई पनि बेवास्ता
तुलाराम पाण्डे

रास्कोट, कालीकोट — साउनमा रास्कोट–१ बडोतलाकी वृहस्पति शाहीले पहिरामा श्रीमान्सहित ५ जना आफन्त गुमाइन् । हिउँद लागेसँगै चिसाले पीडा झन् बल्झाइदिएको छ ।

पहिरोपीडित छाप्रो र गोठमा

‘खाने गाँस छ न बस्ने बास,’ जेठी बुहारी गीताका माइतीले बनाइदिएको टिनको छाप्रामा बस्दै आएकी उनले भनिन्, ‘यस्तो चिसामा कसरी हिउँद काट्ने ?’ दम बढ्ने, हातखुट्टा झमझमाउने, जीउ दुख्नेलगायत समस्याबाट पीडित भएको उनले बताइन् ।

पहिरामा घरबास गुमाएका अरू १२ परिवारको पनि बिचल्ली छ । लहरेला, औल र सागाटियाका पहिरोपीडित चिसामा कष्टकर दैनिकी गुजार्न बाध्य छन् । पहिराले घर भत्किएपछि ७१ वर्षीय जसबहादुर शाहीले ७ जनाको परिवारसहित आफन्तका घरमा शरण लिएका छन् । खानलाई न अन्न छ न त न्यानो लत्ताकपडा । छिमेकी मन टमाटा पनि स्थानीय खम्मबहादुर शाहीको गोठमा बसिरहेका छन् । बारीको एक बोरा मकै दुई महिनामै सकिएकाले उधारोमा अन्न किनेर खाइरहेको उनले गुनासो गरे ।

पहिराले घर बगाएपछि पीडितहरू अरूको गोठ, टिनको छाप्रो र पालमा बस्दै आएका छन् । पहिरोपीडित परिवारलाई पुसको जाडो थेग्नै मुस्किल भएको कालिका आधारभूत विद्यालय, लहरेलाका प्रधानाध्यापक दीर्घराज शाहीले बताए । कर्णाली प्रदेश सरकारले पहिरामा ज्यान गुमाएका नागरिकका लागि गरेको विपद् बिमाबापतको २ लाख रुपैयाँसमेत कसैले पाएका छैनन् । ‘प्रदेश सरकारले आश्वासन मात्र दियो, देखिने गरी राहत दिएन,’ उनले भने ।

गत मंसिरमा गाउँ आउँदा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पीडितले ज्ञापनपत्र बुझाएका थिए । पहिराको जोखिममा रहेका रास्कोट–१ स्थित बडोलतोला, लहरेला, बोल्दे, बग्ड, तामाकोट, ३ नम्बर वडाको सागाटिया, सान्नित्रिवेणीको माटेखर्क, लामाबगर, पोतमारा, काब्रालगायत गाउँको बस्ती स्थानान्तरण गर्न माग पनि गरिएको थियो ।

कालीकोटमा पहिराले चालु वर्ष ४४ जनाको मृत्यु भएको छ भने ७ जना अझै बेपत्ता छन् । जिल्लाभर पहिराले ६ सय ८५ घर पूर्ण र १ हजार ७ सय ७१ घर आंशिक क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य भने पहिराबाट ज्यान गुमाएकाका परिवारलाई राहतस्वरूप २ लाख रुपैयाँ वितरण गरिएको बताउँछन् । ‘रकम खाता पठायौं तर पुनःस्थापनाको काम अझै हुन सकेको छैन,’ उनले भने । पहिराले यो वर्ष २ सय ३८ खानेपानी आयोजना, १२ स्वास्थ्यचौकी भवन, ४५ विद्यालय, १२ ग्रामीण सडक र २ सय २२ वटा सिँचाइ कुलोमा क्षति पुर्‍याएको विपद् व्यवस्थापन समितिको तथ्यांक छ ।

स्थानीयका जग्गाजमिन बगाएको तथ्यांक नै संकलन नभएको जिल्ला प्रशासन कार्यालयकी विपद् व्यवस्थापन फोकलपर्सन लालपुरा आचार्यले बताइन् । उनका अनुसार विपद् व्यवस्थापन समितिले नरहरिनाथका ५ सय ८२, रास्कोटका ८२ र सान्नीत्रिवेणीका १४ परिवारलाई अन्यत्र स्थानान्तरण गर्न सिफारिस गरेको छ । रास्कोटमा एकै परिवारका ५ जना पहिरामा बेपत्ता भएका थिए भने नरहरिनाथ–७, बागामा एकै परिवारका ७ र महाबैको नकुगाउँमा ६ जनाको मृत्यु भएको थियो । नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले पहिरामा घर गुमाएका परिवारलाई अन्यत्र स्थानान्तरण गर्न विभिन्न ५ ठाउँ प्रस्ताव गरिएको बताए ।

जिल्लाका ९ वटै स्थानीय तहका ५१ वटा बस्ती पहिरोको जोखिममा छन् । सबैभन्दा बढी नरहरिनाथका १३ बस्तीका करिब ५ सय घर पहिराको जोखिममा छन् । कम जोखिममा रहेको तिलागुफाको टाकुल्ला, छाप्रे, ओखरभित्ता, खल्लालगायतका बस्ती पहिराको जोखिममा रहेको नगरप्रमुख रतनबहादुर शाहीले बताए ।

प्रकाशित : माघ ४, २०७७ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?