अछाममा ‘माघी त्यार’

छोरीचेलीलाई माइती बोलाउने वा उनीहरुकै घरमा कोसेली पुर्‍याउने चलन 
मेनुका ढुंगाना

अछाम — अछामका गाउँबस्तीमा माघेसंक्रान्तिदेखि माघी त्यारको चहलपहल सुरु भएको छ । यहाँ माघमा एकपटक अनिवार्य रूपमा छोरीचेलीलाई माइती बोलाउने वा उनीहरूकै घरमा कोसेली पुर्‍याउने चलन छ ।

अछाममा ‘माघी त्यार’

माघभर छोरी, बहिनी र भान्जीलाई खानेकुरा सेलपुरी स्थानीय भाषामा बाबर र लाउन कोसेलीका रूपमा दिने चलन छ । हरियो पात अर्थात् त्यसमा पनि सालको पात नभए केराको पातमा बेरेर कोसेली दिने गरिन्छ । हरियो पात पूर्णताको प्रतीक भएकाले माघमा हरियो पात देखाउने प्रचलन परम्परादेखि चलिआएको हो ।

‘सात छोरी र एक नन्द छन् । सबैले बिहे गरिसके । उनीहरूको घरमै त्यार पुर्‍याउन जानुपर्छ,’ अछामको मंगलसेन नगरपालिका– ५ की मैना बोहराले भनिन्, ‘यो महिना छोरी र नन्दको घरघर गएरै बित्छ । माइतीले सधैं छोरीलाई सम्झन सक्दैनन् । सबैका आआफ्ना बाध्यता हुन्छन् । माघमा अनिवार्य पुग्नैपर्ने भएकाले भेटघाट गर्ने ठूलो मौका पनि हो ।’ छोरीबाहेक अन्य गाउँका चेलीलाई पनि हरियो पातमा बेरेर त्यार (कोसेली) दिने परम्परा भएको उनले बताइन् ।

माघी तिहार एक महिनासम्म मनाउने गरिएकाले सेलपुरी पकाउन चाहिने तेलको व्यवस्था गर्नका लागि तोरी पेल्न यो बेला गाउँका मिल तथा कोलमा निकै भीड लाग्ने गर्छ । तरुल, सखरखण्ड आफ्नै बारीमा लगाएकाहरूले माघमै खनेर खाने र आफ्नो बारीमा नहुनेले जंगलमा गएर पनि वनतरुल खनेर खाने चलन रहेको अर्की स्थानीय शारदा भाट बताउँछिन् । ‘पाँच वर्षसम्म भारतमै थिएँ । कोरोनाका कारणले घरमा आइयो । यो वर्ष सबै छोरी नन्दलाई त्यार दिन पाइने भयो,’ उनले भनिन्, ‘यो बेला माइतीबाट छोरीका घरमा कोही नगए न्यास्रो मान्छन् । हाम्रा लागि त यो विशेष महिना हो ।’ माघीमा आफ्ना चेलीबेटीलाई उपहार दिने चलन पनि छ । यसलाई स्थानीय भाषामा ‘मिश्रावल’ भनिन्छ ।

माघीको दिन नुहाएर आइसकेपछि बिहे नगरेका गाउँभरिका छोरीचेलीलाई चामल, सेल, पुरी, दक्षिणास्वरूप पैसा र यसमा अन्य केही खानेकुरा उपहार दिइन्छ । ‘बिहे गरेका छोरीचेलीलाई त्यार दिन सकभर उनीहरूको घरमै पुग्छौं,’ मंगलसैन– ५ की कोकिला ढुंगानाले भनिन्, ‘बिहे नगरेका गाउँभरका छोरीलाई नुहाइसकेपछि मिश्रावल दिने चलन छ । यो त्यार आउँदा छोरी नहुने घर सुनसान हुन्छ ।’

देउडाको रौनक

माघमा छोरीका दुःख वेदना समेटेर देउडा खेल्ने चलनसमेत अछाममा रहेको छ, जसलाई जेठानी देवरानी जमघट भएर रमाइलो गर्ने माध्यमका रूपमा पनि हेरिन्छ ।

‘सधैं चुलोचौकाको काम हुन्छ । आफ्नै जेठानी देवरानीसँग भलाकुसारी गर्ने फुर्सदसमेत हुँदैन । रमाइलो गर्ने, दुःखसुख साटासाटा गर्ने महिना माघ नै हो,’ मंगलसैनकी चन्द्रा ढुंगानाले भनिन्, ‘माघे त्यारले महिलाबीच आपसी सम्बन्ध अझ बलियो बनाउँछ, आत्मीयता बढाउँछ ।’

महिलाहरू समूहमा आबद्ध भई देउडा खेल्छन् । यसले समुदायमा एकता, मित्रता, आपसी सहयोग, सद्भाव आदानप्रदान गर्न सहयोगी भूमिका खेल्छ । कसैसँग रिसइबी छ भने एकआपसमा मेलमिलाप गरिन्छ । त्यसैले माघीलाई सम्बन्ध प्रगाढ बनाउने महिनाका रूपमा पनि लिइन्छ ।

प्रकाशित : माघ ४, २०७७ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?