२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सामूहिक बलात्कारको नाटक गर्दा...

आर्थिक प्रलोभनमा परेर बलात्कारको झूटो उजुरी दिने युवती पक्राउ
शिव पुरी

रौतहट — तीन दिनअघि आफू सामूहिक बलात्कारमा परेको भन्दै ओखलढुंगाकी १७ वर्षीया युवतीले प्रहरीसमक्ष रोइ–कराइ गरिन् । उनले आफूलाई रातभरि पाँच जनाले बलात्कार गरेको प्रहरीलाई बताएकी थिइन् । युवतीको उजुरीपछि प्रहरी पीडकको खोजीमा लाग्यो ।

सामूहिक बलात्कारको नाटक गर्दा...

तर कतैबाट पनि बलात्कार भएको खुलेन । अन्ततः आर्थिक प्रलोभनमा परेर झूटो उजुरी दिएको खुलेपछि प्रहरीले युवतीलाई नै पक्राउ गरेको छ ।

प्रहरीले अनुसन्धानकै क्रममा झूटो बलात्कार ठहर गर्दै पीडित भनिएका चिनीमाया नेपाली, कल्पना भुजुर र बलात्कारको नाटक गर्ने युवतीलाई पक्राउ गरेको हो । उनीहरूमाथि जबर्जस्ती करणीसम्बन्धी कसुरको षड्यन्त्र र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरेको रौतहट प्रहरीले जनाएको छ ।

युवती पुस २८ गते इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा पुगेकी थिइन् । इलाकाले मुद्दा गम्भीर भएको भन्दै जिल्ला प्रहरीमा पीडितलाई पठायो । ‘म ओखलढुंगाबाट काठमाडौं जाँदै गर्दा खुर्कोटमा गाडी बिग्रियो । बाटोमा बसिरहेका बेला ५ जना व्यक्तिहरूले अपहरण गरेर रौतहटको चन्द्रनिगाहपुरमा ल्याए । अनि दुईतले पक्की घरमा लगेर रातभरि बलात्कार गरे,’ उनले प्रहरीलाई बताएकी थिइन् ।

घटनाको जानकारी पाएपछि प्रहरीले युवतीकी भाउजू नाता पर्ने चिनीमाया र साथी कल्पनालाई सम्पर्क गरेर जाहेरी लिई पीडितको कागज गराएर घटनास्थल यकिन गर्न एक टोली पठाएको थियो । तर बलात्कार स्थल यकिन हुन नसकेपछि युवतीले आरोप लगाएका व्यक्तिहरूको फोटो फेसबुकबाट खोजेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

‘बलात्कार गर्ने भनिएकाहरूको मोबाइल लोकेसन हेर्दा घटना भएको भनिएको दिन सिन्धुली, खुर्कोट र चन्द्रनिगाहपुर गएको देखिएन,’ जिल्ला प्रहरीका डीएसपी भरत श्रेष्ठले भने, ‘बन्धक बनाएको ठाउँ देखाउन भन्यौं तर उनले सकिनन् । त्यसपछि उनीमाथि शंका लागेर सोधपुछ गर्दा बलात्कार नै नभएको र झूटो आरोप लगाएको ठहरियो ।’ प्रहरीले केरकार गरेपछि ६ लाख रकम पाउने लोभमा अरूलाई फसाउन खोजिएको खुलेको थियो ।

रौतहटको गरुडा नगरपालिका–२ घर भई काठमाडौं बानेश्वरमा मेनपावर कम्पनी सञ्चालन गरी बसेका गजेन्द्र साह कानुले झूटो बलात्कारको योजना बनाई गरुडाकै रामनिवास साहलाई फसाउन यस्तो हर्कत गरेको खुलेको डीएसपी श्रेष्ठले सुनाए । दुवैबीचको लेनदेन मुद्दाको रिसइबी साध्न गजेन्द्रले चिनीमायालाई समेत रकम र जागिर दिने प्रलोभन देखाई योजना बनाएको खुलेको छ । रामविनय र गौरका एक कर्मचारीसहित ५ जनालाई झूटो मुद्दामा फसाउने उनीहरूको योजना थियो ।

योजना मुताबिक पुस २७ गते उनीहरू काठमाडौंबाट बारा–सिमरा आएका थिए । त्यहाँबाट चिनीमाया र कल्पना वीरगन्जतर्फ गए । गजेन्द्रले पीडित भनिएकी युवतीलाई साथमा लिई पुस २८ गते चन्द्रनिगाहपुरमा ल्याएर छाडे । यहींबाट उनीहरूको झूटो बलात्कारको नाटक सुरु भएको डीएसपी श्रेष्ठले सुनाए । घटनाका मुख्य योजनाकार गजेन्द्र हाल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनायो ।

प्रकाशित : माघ ४, २०७७ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?