कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चौरमै प्राविधिक शिक्षा

भीमबहादुर सिंह

जाजरकोट — भेरी नगरपालिका–५, काफलचौरस्थित जाजरकोट बहुप्राविधिक शिक्षालयका विद्यार्थी भवनलगायत पूर्वाधार अभावमा खुला आकाशमुनि पढ्न बाध्य भएका हुन् । शिक्षकले बाँसको पोलमा सेतोपाटी झुन्ड्याएर लामो समयदेखि पढाउँदै आएका छन् ।

चौरमै प्राविधिक शिक्षा

‘वर्षा हुँदा र चर्को घाम लाग्दा पढाइ बन्द गर्नुको विकल्प छैन,’ शिक्षालय प्रमुख दानबहादुर ठकुरीले भने, ‘पूर्वाधार अभावबीच पनि पठनपाठन गराइरहेका छौं ।’ उनका अनुसार शिक्षालयको नाममा २२ रोपनीबाहेक अरू कुनै सम्पत्ति छैन । शिक्षालयले गत पुसदेखि पठनपाठन सञ्चालन गर्दै आएको छ । शिक्षालयमा कुर्सी, बेन्च, दराजलगायत फर्निचरसमेत नभएको उनले बताए । ‘शौचालय र खानेपानी छैन,’ उनले भने, ‘शिक्षक र विद्यार्थीलाई शौच लागे जंगलमा दौडनुपर्ने बाध्यता छ ।’

शिक्षालयले चार कोठे भाडाको कच्ची घरमा कार्यालय सञ्चालन गरिरहेको उनले जानकारी दिए । यहाँ वन विज्ञान, पशु विज्ञान र सिभिल इन्जिनियरिङको पढाइ सञ्चालन भइरहेको छ । शिक्षालयले तीन वर्षअघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सञ्चालनको स्वीकृति पाएको हो ।

अहिले शिक्षालयमा वन विज्ञानतर्फ ३७, सिभिल इन्जिनियरिङमा ४८ र पशु विज्ञानतर्फ २९ जना विद्यार्थी अध्ययनरत छन् । ‘जिल्लास्तरीय नेताहरूले परिषद्बाट शिक्षालयको स्वीकृति ल्याउन धेरै जोडबल गरे,’ ठकुरीले भने, ‘तर स्वीकृति पाएपछि पूर्वाधार निर्माण र गुणस्तरीय पठनपाठनमा बेवास्ता गरेका छन् ।’ शिक्षालय सदरमुकाम खलंगादेखि झन्डै १२ किलोमिटर टाढा छ ।

प्रकाशित : माघ ४, २०७७ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?