कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सीमा समस्यालाई छिटो समाधान गर्न दुुवै मुलुक प्रतिबद्ध: परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतबीच रहेको सीमा समस्यालाई समाधान गर्नको लागि दुवै मुलुक प्रतिबद्ध रहेको प्रष्ट पारेका छन् ।

सीमा समस्यालाई छिटो समाधान गर्न दुुवै मुलुक प्रतिबद्ध: परराष्ट्रमन्त्री ज्ञवाली

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय छैटौं संयुक्त आयोगको बैठकमा सहभागी भई शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा सञ्चारकर्मीहरु सामु मन्त्री ज्ञवालीले अब सीमा समस्यालाई छिटो समाधान गर्न दुवै मुलुक प्रतिबद्ध भएको बताएका हुन् । ‘सबैभन्दा ठूलो कुरा के हो भने यो छलफल (आयोग र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँगको भेट) पछि अब हामी सीमा समस्यालाई छिटो समाधान गर्न प्रतिबद्धता व्यक्त गरेका छौं । जहाँ–जहाँ सिमांकन गर्न बाँकी छ । जहाँचाहि नापी गर्न बाँकी छ । जुन भागमा सीमा सम्बन्धी विवादहरु छन्, तिनीहरुलाई छिटो टुंग्याउनको लागि दुवै पक्ष सहमत भएका छन्,’ मन्त्री ज्ञवालीले भने ।

अब दुवै मुलुकबीचको अन्य सीमांकनसहित सुस्ता र कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रमा छलफल गर्न बाँकी छ । र, ती छलफलहरु सम्बन्धित संयन्त्रहरुको बैठकले टुंगो लगाउने छन् । उदाहरणका लागि दुई मुलुकबीचको सीमाका समस्या र नापीका सम्बन्धमा संयुक्त सीमा समूहले काम गर्ने छ भने दुई मुलुकबीच विवादित क्षेत्रको रुपमा रहँदै आएको छ । नेपाल र भारतले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेको क्षेत्रहरु सुस्ता र कालापानी क्षेत्रको भने दुई मुलुकबीच रहेको परराष्ट्र सचिव स्तरीय संयन्त्रले काम गर्ने छ । सन् २०१४ मा परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगले सुस्ता र कालापानी क्षेत्रको विवादको सम्बन्धलाई वार्ता गर्नको लागि परराष्ट्र सचिव स्तरीय संयन्त्रको स्थापना गरेको हो ।

‘जहाँसम्म संयन्त्रहरुको बैठकको कुरा हो । हामीले दुवैतर्फबाट वार्ताको प्रक्रियालाई अघि बढाएका छौं । राजनीतिक ढंगले पनि कुराहरु बढाउँदै जाऔं भन्ने हो । अर्को ढंगबाट पनि जाने भन्ने हो,’ मन्त्री ज्ञवालीले भने ।

मन्त्री ज्ञवालीले आइतबार भारतीय रक्षा मन्त्री राजनाथ सिंहसँग पनि सीमाको विषयमा कुरा गरेको जानकारी दिए । ज्ञवालीले काठमाडौं आउनुअघि सिंहसँग दिल्लीस्थित उनकै निवासमा गएर भेटवार्ता गरेका थिए । ‘माननीय राजनाथ सिंहले यो विषय (सीमा विवाद) मा छलफल गर्न सकिन्छ भन्नु भएको छ । जहाँसम्म भारतको पोजिसनको कुरा हो, हामीले बुझेकै कुरा हो । (सीमा विवाद) ठ्याक्कै सहमतिमा पुगिसकेको अवस्था त होइन । त्यस कारणले भारतका आफ्नै पोजिसनहरु छन्,’ ज्ञवालीले भने ।

उनले रक्षामन्त्री सिंहसँगको वार्ताका दौरान नेपाल र भारतबीचको डिफेन्स सहकार्यको विषयमा पनि छलफल गरेको बताए । उनले भने,‘खास गरी दुई मुलुकका सेनाबीच विपद् व्यवस्थापनको क्षेत्रमा सहकार्यको कुरा भएको हो ।’ मन्त्री ज्ञवालीले नेपाल सेनाले दार्जुलाको सदरमुकामबाट लिपुलेक जाने बाटोको रुपमा रहेको छाङरु क्षेत्रमा बाटो निर्माणको लागि भारतीय सेनासँग सहकार्य गरेर विष्फोटक पदार्थ प्रयोग गरी काम गर्ने दुई मुलुकका सेनाबीचमा यस अघि नै भइसकेको जानकारी पनि दिए ।

मन्त्री ज्ञवालीले आफ्नो भारत भ्रमणले दुई मुलुक बीच रहँदै आएको घनिष्ठ, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप मजबुद बनाउने दिशामा योगदान पुगेको विश्वास व्यक्त गरे । उनले भने,‘आगामी दिनमा थप दुई मुलुकबीच उच्चस्तरीय भ्रमणहरु तथा वार्ता हुने र सम्बन्धलाई थप मजबुद बनाउने विश्वास मैले लिएको छु ।’

प्रकाशित : माघ ३, २०७७ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?