१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

स्वदेश फर्कँदै परराष्ट्रमन्त्री ज्ञवाली, मोदीले दिएनन् समय

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएपछि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली उनलाई भेट नगरी स्वदेश फर्कन लागेका छन् ।

स्वदेश फर्कँदै परराष्ट्रमन्त्री ज्ञवाली, मोदीले दिएनन् समय

नेपाली पक्ष ज्ञवाली शनिबार स्वदेश फर्कनुअघिसम्म भेटको समय मिलाउन प्रयासरत थियो । तर, मोदीले समय नदिएपछि त्यो भेट सम्भव भएन । दिल्लीस्थित दूतावासले मोदीसँगको भेटका लागि ज्ञवाली भारत आउनु अघिदेखि नै प्रयास गरेको थियो ।

नेपाली पक्षले ज्ञवाली शनिबार स्वदेश फर्किनुअघिसम्म पनि मोदीसँग भेट हुने आशा गरेको थियो । त्यही आशमा ज्ञवाली अन्तिम समयसम्म आफू बसेको होटल ताजमा भारतीय पक्षबाट भेटको समय मिल्ने पर्खाइमा थिए । तर, अन्तिममा भेट नहुने निश्चित भएपछि ज्ञवाली एअरपोर्टतिर लागेका हुन् ।

मन्त्री ज्ञवाली नेपाल वायु सेवा निगमको अपरान्ह दुई बजेको उडानबाट स्वदेश फर्कँदै छन् । यस विषयमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले टिप्पणी गर्न चाहेनन् ।

पालैपालो दुई देशमा हुँदै आएको नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका बेला परराष्ट्र मन्त्रीले सरकार प्रमुखसँग भेट्ने परम्परा रहेको थियो । मोदीले भेटका लागि समय नदिनुलाई नेपालको पछिल्लो राजनीतिक परिस्थितिसँग पनि जोडेर हेरिएको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने निर्णयपछि विकसित घटनाक्रमलाई अझै कुन रुपमा हेर्ने भन्ने विषयमा दिल्ली केही समय पर्ख र हेरको रणनीतिमा रहेको संकेतको रुपमा समेत विश्लेषण भइरहेको छ ।

मन्त्री ज्ञवालीले शनिबार बिहान भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भने भेट गरेका थिए । करिब पैतालीस मिनेट भएको उक्त भेटमा द्विपक्षीय सम्बन्धहरुका बारेमा सौहार्द छलफल भएको भारतका लागि नेपाली राजदूत आाचार्यले बताए । ज्ञवाली र सिंहबीच दुई देशबीचका भावनात्मक, सांस्कृतिक, परम्परागत निकटता बारेमा छलफल भएको राजदूत आचार्यले कान्तिपुरलाई बताए । नेपालको आन्तरिक राजनीतिक विषयमा भने कुनै छलफल नभएको उनले बताए ।

सम्बन्धित समाचार

भारतले ईपीजी रिपोर्ट बुझ्नुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

भारतीय रक्षामन्त्री सिंहसँग परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता

प्रकाशित : माघ ३, २०७७ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?