१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारतीय रक्षामन्त्री सिंहसँग परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता

नयाँदिल्ली — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले शनिबार बिहान भारतीय रक्षामन्त्री सिंहलाई भेटेका हुन् ।

भारतीय रक्षामन्त्री सिंहसँग परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता

नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि उपस्थित छन् । भेट बिहान साढे नौ बजेदेखि सुरु भएको थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीसँग उल्लेखनीय भेटवार्ता भएको भारतीय रक्षामन्त्री सिंहले बताएका छन् । परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटका तस्बिरहरु ट्विटरमा राख्दै सिंहले लेखेका छन्, 'भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित छैन । यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ । भारत-नेपाल सम्बन्धले असीमित सम्भावना दिनेछ ।'

भारतीय रक्षामन्त्री सिंहले नै गत वैशाख २६ गते नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेका थिए । त्यसपछि नै नेपाल-भारत सम्बन्धमा तिक्तता देखिएको थियो । त्यसलगत्तै नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत नेपाली भूमिमा आफ्ना सबै गतिविधि रोक्न भारतलाई आग्रह गरेको थियो ।

साथै नेपालका लागि भारतीय राजदूतलाई विनयमोहन क्वात्रालाई बोलाएर कूटनीतिक नोट दिएको थियो । नेपालले अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ राजनैतिक तथा प्रशासनिक नक्सा पनि सार्वजनिक गरेको थियो । नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको करिब ३३५ वर्ग किलोमिटर जमिन समेटिएको छ ।

सडक उद्घाटन गरेको केही समयपछि रक्षामन्त्री सिंहले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने लिंक रोडबारे नेपालमा असमझदारी पैदा भएको बताएका थिए । असार १ गते उत्तराखण्ड जनसंवादलाई सम्बोधन गर्दै सिंहले धार्चुला–लिपुलेक–मानसरोवर सडकबारे नेपालमा असमझदारी सिर्जना भएको बताएका थिए । साथै उनले वार्ताबाटै नेपाल-भारतबीच देखिएका सीमा विवाद हल गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएका थिए ।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार ज्ञवाली स्वदेश फर्किनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नका लागि प्रयास भइरहेको छ । मन्त्री ज्ञवाली आजै अपरान्ह नेपाल वायु सेवा निगमको विमान बाट स्वदेश फर्कने कार्यक्रम छ ।

शनिबार बिहान ज्ञवालीले नेपाली दूतावासमा भारतीय पत्रकारहरुसँग अन्तरक्रिया गरेका थिए । त्यहाँ उनले नेपालले सुगौली सन्धिलगायत एतिहासिक प्रमाण का आधारमा नयाँ नक्सा प्रकाशित गरेको दाबी गरेका थिए ।

त्यस्तै शुक्रबार परराष्ट्रमन्त्रीस्तरीय नेपाल-भारत स‌ंयुक्त आयोगको बैठक सम्पन्न भएको थियो । बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवालीले गरेका थिए भने भारतीय टोलीको नेतृत्व विदेशमन्त्री एस जयश‌ंकरले गरेका थिए ।

सम्बन्धित समाचार

सीमा विषय नेपालले उठायो, छलफल भएन

प्रकाशित : माघ ३, २०७७ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?