कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

देउवामा बदलाव

निर्वाचनको पक्षमा अभिव्यक्ति दिँदै आएका देउवा पछिल्ला दिन प्रधानमन्त्री ओलीप्रति आक्रामक बन्नुलाई उनको ‘ट्युनिङ’ मा आएको परिवर्तनका रुपमा चर्चा गर्न थालिएको छ ।

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा एकाएक प्रधानमन्त्री केपी ओलीप्रति आक्रामक हुन थालेका छन् । बिहीबार पर्वतमा आयोजना गरिएको एक सार्वजनिक कार्यक्रममा देउवाले प्रधानमन्त्रीविरुद्ध आक्रामक अभिव्यक्ति दिए भने राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाको समेत कडा आलोचना गरे ।

देउवामा बदलाव

प्रतिनिधिसभा विघटनको रिट अदालतमा विचाराधीन रहेकै बेला राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले अदालतलाई प्रभावित गर्ने गरी निर्देशन दिन थालेको भन्दै देउवाले आक्रोश पोखेका थिए । प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक र लोकतन्त्रविपरीत भन्दै आए पनि देउवा यसअघि प्रधानमन्त्रीप्रति यति आक्रामक थिएनन्, बरु पार्टीभित्रै प्रधानमन्त्री ओलीसँग साँठगाँठ गरेर असंवैधानिक कदमलाई साथ दिएको भन्दै उनको आलोचना भइरहेको थियो ।

देउवाले शुक्रबार निकालेको विज्ञप्तिसमेत अहिले चर्चामा छ । कांग्रेसले शनिबार देशभर गर्न लागेको पालिकास्तरको विरोध प्रदर्शनमा सहभागी बन्न अपिल गर्दै देउवाले विज्ञप्ति निकालेका थिए । यसअघि अक्सर कार्यक्रम सकिएपछि धन्यवाद र बधाई दिन उनले विज्ञप्ति निकाल्थे । यसपटक विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन अघिल्लो दिनमै विज्ञप्ति निकालेर देउवाले सबैमा अपिल गरेका हुन् ।

विज्ञप्तिमा प्रतिनिधिसभा विघटनलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको देउवाले स्मरण गराएका छन् । ‘संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध कांग्रेस एकमतका साथ उभिएको छ,’ देउवाले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु ।’

यसअघि निर्वाचनको पक्षमा प्रस्तुति दिँदै आएका देउवाले प्रधानमन्त्री ओलीप्रति आक्रामक बन्नु र विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन खोज्नुले कतै उनको ‘ट्युनिङ’ मा बदलाव आएको त होइन भन्ने प्रश्न अहिले चर्चामा छ । ‘पार्टीभित्र र बाहिर प्रधानमन्त्री ओलीसँग भित्री रूपमा साँठगाँठ गरेको सन्देश व्यापक बनेपछि त्यसलाई पखाल्नकै निम्ति सभापतिजीले ओलीप्रति आक्रामक प्रस्तुति दिनुभएको हो,’ उनीनिकट एक नेताले कान्तिपुरसँग भने, ‘तर उहाँ प्रतिनिधिसभा पुनःस्थापनाभन्दा निर्वाचनकै पक्षमा कायम हुनुहुन्छ ।’

कतिपय नेताहरूले भने नेकपा (दाहाल–नेपाल समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग बुधबार भएको गोप्य भेटपछि देउवाको प्रस्तुतिमा बदलाव आएको अनुमान लगाएका छन् । देउवाको भित्री मनसाय बुझेर उक्त भेटमा दाहाल र नेपालले ‘नेकपा मिले अब तपाईंकै कारणले मिल्छ’ भनेका थिए । उनीहरूले प्रधानमन्त्रीको आकर्षणसमेत देउवालाई दिएका थिए । देउवानिकट अर्का एक नेताले देउवाको मुख्य चासो प्रधानमन्त्रीभन्दा पनि नेकपाको विभाजनप्रति रहेको बताए ।

नेकपा विभाजित भएमा मात्रै कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने ठम्याइ देउवामा छ । कांग्रेसले बहुमत ल्याएमा वा ठूलो दल भएमा पाँचौंपटक प्रधानमन्त्री बन्न सकिने र १४ औं महाधिवेशनबाट सभापति पनि निर्वाचित हुन सकिने देउवाले ठानेका छन् । त्यही बुझेरै दाहाल–नेपालले देउवालाई ‘नेकपा मिलेमा तपाईंकै भूमिकाले मिल्छ, नत्र मिल्दैन’ भन्दै देउवालाई संसद् पुनःस्थापनाको एजेन्डामा ल्याउने प्रयास गरेका थिए ।

दाहाल–नेपाललाई भेटेपछि सभापतिको प्रस्तुति र भूमिकामा फरक आएको भन्ने टिप्पणी सही नभएको सहमहामन्त्री प्रकाशरण महतले बताए । ‘तपाईंहरूले आफ्नो कुरा राख्नुभएको छ, हामीले आफ्नो कुरा राखेका छौं, कोर्टलाई यसो गर र उसो गर भन्ने कुरा भएन भन्ने नै सभापतिको कुरा थियो,’ महतले भने, ‘कोर्टले जस्तो फैसला गर्छ, त्यसैलाई सम्मान गरेर जानुपर्छ भन्ने सभापतिको भनाइ अहिले पनि त्यही हो, हिजो पनि त्यही थियो ।’ अर्का नेता रमेश लेखकले पनि सभापतिको अभिव्यक्तिमा फरकपन आफूले नपाएको बताए ।

‘अदालतमा विचाराधीन मुद्दामा राष्ट्रपति, प्रधानमन्त्री कसैले पनि दबाब दिन हुन्न, अदालतलाई स्वतन्त्र रूपमा निर्णय गर्न दिनुपर्छ, अदालतको फैसलालाई सम्मान गर्नुपर्छ भन्ने भनाइ नै सभापतिको हो,’ उनले भने, ‘विचाराधीन मुद्दामा अदालतमाथि अनावश्यक दबाब दिने काम कसैले गर्न हुन्न भन्ने भनाइ सभापतिले हिजो पनि राख्नुभएको हो । आज पनि त्यही छ ।’

कोइरालालाई बोलाएर सहयोग गर्न आग्रह

सभापति देउवाले शुक्रबार पनि महामन्त्री शंशाक कोइरालालाई निवासमै बोलाएर सहयोग गर्न आग्रह गरेका छन् । देउवाले कोइरालालाई बोलाएर यस्तो आग्रह गरेको यो दोस्रोपटक हो । कोइरालासहित देउवाले आफ्ना टिमका नेताहरूसँग पनि बिहान लामो अनौपचारिक छलफल गरेका थिए । उक्त छलफलमा देउवाले निर्वाचनकै पक्षमा माहोल बनाउन जुट्नुपर्ने धारणा राखेको स्रोतले बतायो । देउवाले महामन्त्री कोइरालालाई संसद् पुनःस्थापनाको पक्षमा नबोल्न र निर्वाचनमा जाने वातावरणकै लागि सहयोग गर्न आग्रह गरेका थिए ।

‘पुनःस्थापनाको पक्षमा नलागी आफूलाई सहयोग गर्न सभापतिजीले आग्रह गर्नुभएको थियो । महामन्त्रीले अदालतले निर्णय जे गर्छ, त्यसलाई स्विकार्नुपर्छ तर अहिले ‘पब्लिक सेन्टिमेन्ट’ विरुद्ध जान अप्ठ्यारो छ भन्ने जवाफ दिनुभएको छ,’ कोइरालानिकट स्रोतले भन्यो, ‘सभापतिलाई सहयोग गर्नका लागि निर्वाचनको पक्षमा नै महामन्त्री उभिनुभएको भन्ने कुराचाहिँ होइन ।’ कोइराला सभापति देउवालाई भेटेर शनिबार नवलपरासीको कार्यक्रममा भाग लिन जहाजबाट चितवन पुगेका छन् ।

प्रकाशित : माघ ३, २०७७ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?