१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

राष्ट्रपति र प्रधानमन्त्रीलाई दण्डित गर्नुपर्छ : भट्टराई

‘प्रतिनिधिसभा पुन:स्थापना भए स्वत: देउवा प्रधानमन्त्री’

गोरखा — पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पाटीका संघीय परिषद् अध्यक्ष बावुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई दण्डित गर्नुपर्ने बताएका छन् । 

राष्ट्रपति र प्रधानमन्त्रीलाई दण्डित गर्नुपर्छ : भट्टराई

गृहजिल्ला गोरखा आएका भट्टराईले शुक्रबार पत्रकारसँगको कुराकानीमा राष्ट्रवादी भनिएका ओलीको सक्कली चेहेरा देखिएको बताए । ‘अमेरिकाका राष्ट्रपतिलाई एक साता बाँकी हुँदा महाअभियोग लगाएर हटाइँदै छ, यत्रो अपराध गरेका ओलीलाई पनि दण्डित गर्नै पर्छ, राष्ट्रपतिलाई पनि दण्डित गर्नुपर्छ,’ उनले भने ।

भट्टराईले प्रतिनिधिसभा पुन:स्थापना भए ओली स्वत: ‘रिङ आउट’ बताए । प्रतिनिधि पुन:स्थापना पछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने भट्टराइको तर्क छ । नेकपा फुटेपछि जसपा तेस्रोबाट चौथो पार्टी हुने भएकाले सरकारको नेतृत्वमा दाबी नगर्ने उनले बताए ।

पुष्पकमल दाहाल र माधवकुमार नेपालले पनि नेतृत्वको दाबी गर्न नहुने उनले बताए । ‘प्रचण्ड–माधवहरुको ओलीजस्तो भष्मासुरलाई हुर्काउन भूमिका छ, ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्छु भन्नुले स्वार्थ वा पदलोलुपता देखाउँछ,’ भट्टराईले भने, ‘बाँकी कांग्रेस रहन्छ । त्यहाँ दाबेदार रामचन्द्र (पौडेल) जी संसद् सदस्य हुनुहुन्न, स्वत: शेरबहादुर (देउवा) जी देख्छु ।’

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा निरुपणमा सर्वोच्च अदालतको भूमिकामा पनि भट्टराईले शंका व्यक्त गरे । विघटन प्रतिगामी, अलोकतान्त्रिक र असंवैधानिक कदम भएको उनले बताए । ‘प्रतिनिधिसभा बैठक बसी विघटन खारेज गरेर लोकतन्त्रलाई ट्रयाकमा ल्याउनुपर्छ,’ उनले भने ।

प्रतिनिधिसभा ब्यूताउन जनताले निरन्तर आवाज उठाउनुपर्ने उनले बताए । विघटनविरुद्ध रहेका राजनीतिक दलको संयुक्त आन्दोलन आवश्यक रहे पनि कांग्रेसमा अस्पष्टता रहेको उनको भनाइ थियो । अनधिकृत रुपमा संविधानका आधारभूत कुरा भत्काएर चुनाव हुन नसक्ने तर्क पनि भट्टराईले गरे ।

प्रकाशित : माघ २, २०७७ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?