३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मोर्चाबन्दी गर्न दाहाल र चन्द सच्चिएर आउनुपर्छ : वैद्य

देवनारायण साह

मोरङ — नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले दुई तिहाई बहुमतको सरकारले प्रतिनिधिसभा विघटन गर्नुलाई मुर्खता र फासीवादी कदमको संज्ञा दिएका छन् । 

मोर्चाबन्दी गर्न दाहाल र चन्द सच्चिएर आउनुपर्छ : वैद्य

नेकपा (क्रान्तिकारी मााओवादी) मोरङले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा वैद्यले नेकपाभित्रको पद, प्रतिष्ठा र अहमताको विवादले दुई तिहाइ बहुमतको उपलब्धि समाप्त भएको बताए । ‘लोकतन्त्र र संविधानको असफलताको प्रतिक प्रतिनिधिसभा विघटन हो,’ उनले भने, ‘नेकपाको दुई समूहमध्ये एकथरिले पुन:स्थापना र अर्कोले चुनाव भनिरहेको अवस्थामा सर्वोच्च अदालतले जेसुकै फैसला गरे पनि यी दुबैले जनताको हित हुँदैन ।’

यी दुई समूहको लडाइँले मुलुकमा संकटकाल लाग्ने र अहिलेको भन्दा खतरनाक व्यवस्था आउने ठोकुवा गर्दै उनले क्रान्तिकारी कम्युनिस्टहरुसँग मोर्चाबन्दी गरेर आन्दोलनमा जाने तयारी गरेको बताए । ‘क्रान्तिकारी कम्युनिस्टहरुसँग मोर्चाबन्दी गरेर अब मुलुकमा जनगणतन्त्र ल्याउन संघर्ष गर्छौंं,’ उनले भने, ‘शान्तिपूर्ण आन्दोलनबाटै जनगणतन्त्र ल्याउने तर शान्तिपूर्ण रुपमा सम्भव नभएको अवस्थामा बलपूर्वक अघि बढ्छौं ।’

वैद्यले मोर्चाबन्दीका लागि अहिले नेत्रविक्रम चन्द समूहसँग छलफल भइरहेको बताए । ‘चन्दको सबै विचारसँग सहमति नभएकाले उनीहरुले सच्चिएर आउनु पर्छ,’ उनले भने, ‘सबै क्रान्तिकारी कम्युनिस्टसँग कार्यगत एकता भए पनि पुष्पकमल दाहाललाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग बदला लिन सघाउँदैनौं ।’ दाहालले देश र जनतासमक्ष गम्भीर गल्ती गरेको स्विकार्दै सच्चिएर आए मात्रै कार्यगत एकता हुने उनले स्पष्ट पारे ।

प्रकाशित : माघ २, २०७७ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?