यस्ता छन् नागरिक एपका विशेषता
काठमाडौँ — नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने भन्दै सरकारले शुक्रबार 'नागरिक एप' सार्वजनिक गरेको छ । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नागरिक एप शुभारम्भ गरेका हुन् ।
'सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा' नारासहित नागरिक एपको सार्वजनिक परीक्षणको रुपमा बेटा भर्सन भएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
सरकारको डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो महत्वपूर्ण कार्यक्रम भएको मन्त्री गुरुङले बताए । उनले नेपालका हरेक नागरिकलाई प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सकिने नागरिक एप अधिकतम प्रयोग गरी लाभ लिन आग्रह गरे
यस्ता छन् एपका विशेषता
- नागरिकले 'नागरिक एप'बाट प्यान कार्डसम्बन्धीआवेदन गरी प्यान नम्बर प्राप्त गर्ने
- सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत जानकारी लिन सकिने
- नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने
- नागरिक लगानीकोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरुको जानकारी लिन सकिने
- हेलो सरकारमा गुनासो गर्न सकिने व्यवस्था
- त्यसैगरी सरकार तथा सार्वजनिक निकायले नागरिकका गुनासो सुनुवाई गरी सम्बोधन गरिएको पनि हेर्न सकिने छ ।
- यो एपको प्रयोगबाट फेसलेस, पेपरलेस र समयको बचत हुने तथा सार्वजनिक बिदाको दिन पनि सेवा लिन सकिनेछ ।
नागरिक एपबाट सेवा प्राप्त गर्नका लागि Android मोबाइल प्रयोगकर्ताले Play Store र iPhone प्रयोगकर्ताले Nagarik App (Beta) डाउनलोड गर्नुपर्ने छ । हाल आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सीममार्फत एपको प्रयोग गर्न सकिने छ । उक्त सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता, मतदातावा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने मन्त्रालयको विज्ञप्तिमा लेखिएको छ ।
एपमा आगामी दिनमा मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्र लगायतका आमनागरिकसँग सरोकार हुने सेवाहरू थप्दै जाने मन्त्रालयले बताएको छ ।
प्रकाशित : माघ २, २०७७ १७:२०