परराष्ट्रमन्त्रीस्तरीय नेपाल-भारत संयुक्त आयोगको बैठक सुरु

नयाँदिल्ली — परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठक सुरु भएको छ । शुक्रबार बिहान भारतको राजधानी नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोगको बैठक सुरु भएको हो । 

परराष्ट्रमन्त्रीस्तरीय नेपाल-भारत संयुक्त आयोगको बैठक सुरु

आयोगको छैटौं बैठकमा तीन दर्जनभन्दा बढी एजेन्डामा छलफल गर्ने तयारी छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्री ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गरेका छन् । द्विपक्षीय संयन्त्रमध्ये आयोग सबैभन्दा माथिल्लो तहको भएकाले नेपालले सीमाको मुद्दालाई विशेष जोड दिने सम्भावना छ । तर भारतले आयोग बैठकमा सीमासम्बन्धी विषयलाई प्राथमिकतामा नराख्ने प्रस्ट पारेको छ ।

आयोगको बैठकअघि परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गरेका थिए ।

आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली बिहीबार दिउँसो नयाँदिल्ली आइपुगेका हुन् । उनीसँग परराष्ट्रसचिव भरतराज पौड्याल, स्वास्थ्य सचिव लक्ष्मण अर्याललगायतका पदाधिकारी पनि आएका छन् ।

भारतले कालापानीलगायत क्षेत्र समेटेर एकतर्फी रूपमा नयाँ राजनीतिक नक्सा गत वर्ष प्रकाशन गरेयता दुई देशबीच सम्बन्ध तनावपूर्ण रहँदै आएको पृष्ठभूमिमा भएको मन्त्री ज्ञवालीको भ्रमणलाई नेपालमा मात्र नभएर भारतमा समेत विशेष महत्त्वका साथ हेरिएको छ ।

त्यसमाथि नेपालमा एक्कासि भएको प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणालगायत राजनीतिक घटनाक्रममा दिल्लीलाई समेत जोडेर हेरिएकाले पनि यो भ्रमण थप चासोको विषय बनेको छ।

बैठकमा ऊर्जा, सीमा सुरक्षा, यातायात, रेललगायत पूर्वाधारका विशेषमा पनि विस्तृत रूपमा छलफल हुने दूतावासका एक उच्च अधिकारीले बताए । ती अधिकारीका अनुसार दुई पक्षीय संयन्त्रहरूमा हालसम्म भएका प्रगति र नसुल्झिएका विषयमा पनि समीक्षा हुनेछ । त्यस्तै बैठकमा कोरोनाविरुद्धको खोप आपूर्तिका बारेमा पनि सहमति हुने बताइएको छ ।

प्रकाशित : माघ २, २०७७ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?