२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एमसीसीबारे तत्काल निर्णय लिइहालौं : मन्त्री रायमाझी

अमृता अनमोल

बुटवल — ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले एमसीसी लागू गर्ने/नगर्नेबारे तत्काल निर्णय गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब लुम्बिनीले शुक्रबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा उनले विद्युत् उत्पादन बढ्दै गएको तर विस्तार गर्न ट्रान्समिसन लाइन नभएकाले एमसीसीबारे निर्णय लिइहाल्नुपर्ने बताएका हुन् ।

एमसीसीबारे तत्काल निर्णय लिइहालौं : मन्त्री रायमाझी

‘एमसीसी लागू गर्नै हुन्न भने खारेज गर्नुपर्‍यो, नत्र लागू गर्नुपर्‍यो । हुन्छ कि हुन्न भनेर कुरिराख्न भएन,’ उनले भने, ‘कुर्ने एक सेकेन्ड फुर्सद छैन ।’ उर्जामन्त्री रायमाझीले आउँदो जेठसम्म ५० मेगावाट र अर्को भदौसम्म ५ सय मेगावाट विद्युत् बढी हुने भए पनि ट्रान्समिटर लाइन विस्तार नहुँदा त्यसलाई बेच्न सक्ने आधार तयार नभएको बताए । यसले गर्दा दैनिक एक अर्बबराबरको घाटा लाग्न सक्ने उनको भनाइ छ ।

‘एमसीसी राष्ट्रहितको विपरीत नै छ भने दल, नागरिक समाज एक ठाउँ होऔं । त्यसलाई खारेज गरौं र राष्ट्रिय स्रोतबाट लाइन विस्तार गरौं,’ उनले भने, ‘एमसीसीलाई बन्धक नबनाऔं । अबको एक वर्षमा उत्पादन हुने विद्युत् बेच्ने आधार तयार गरौं ।’

अर्को एक प्रसंगमा मन्त्री रायमाझीले नेकपा अन्तर्द्वन्द्वका कारण सरकारविहीनताको अवस्था आएकाले त्यसलाई बचाउन आफू सरकारमा गएको बताए । ‘आफ्नै दलभित्रको विवाद मिलाउन नसकेर दाहाल–नेपाल सडकमा ढुंगा हान्न जानुभयो,’ उनले भने, ‘म उपलब्धि संस्थागत गर्न सरकारमा गएँ, फरक त्यत्ति हो ।’

जनताले विकास र संवृद्धि प्राप्ति गर्न पठाएका बेला पार्टीभित्रको द्वन्द्व समाधान गर्न नसकेर सडकमा ढुंगा हान्न जानु लोकतन्त्र र जनमतविपरीत रहेको उनले बताए । चुनावमा जाने र ताजा जनादेश लिएर सरकार चलाउछुँ भन्नु लोकतन्त्र र संविधानविपरीतको काम नभएको उनको तर्क छ ।

प्रकाशित : माघ २, २०७७ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?