इक्यान एजुकेसन मेला आजदेखि- समाचार - कान्तिपुर समाचार

इक्यान एजुकेसन मेला आजदेखि

‘विद्यार्थीले कोभिडपछि पनि विदेशको शिक्षा रोजिरहेका छन्, त्यस्ता विद्यार्थीलाई सहज र सरल होस् भनेर मेलामा अधिक जानकारी दिने व्यवस्था मिलाएका छौं ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — इक्यान शैक्षिक मेलाको १४ औं संस्करण आजदेखि सुरु हुँदै छ । कोभिड–१९ को महामारीका कारण नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले यसपटक भर्चुअल एजुकेसन मेला आयोजना गरेको हो ।

सोमबार सकिने चारदिने मेलामा करिब एक लाख विद्यार्थी र अभिभावकले सहभागिता जनाउने आयोजकको अपेक्षा छ । मेला सुरु हुनुअघि नै करिब ३० हजार विद्यार्थी सहभागी हुनका लागि अनलाइनमार्फत दर्ता भइसकेका छन् ।

इक्यानले हरेक वर्ष विदेश अध्ययन गर्न चाहने विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गर्दै शैक्षिक मेला आयोजना गर्दै आएको छ । यसपटक भाइरसको महामारीका कारण भर्चुअल रूपमा मेला आयोजना गरिएको आयोजक समितिका संयोजक वासुदेव दाहालले जनाए । ‘विदेश पढ्न जाने विद्यार्थीका लागि यो क्षेत्र खुल्ला र सुरक्षित रहेको सन्देश मेलाबाट दिन लागेका छौं,’ उनले भने ।

कोभिडपछि पनि नेपाली विद्यार्थीको विदेशप्रतिको आकर्षण नघटेको इक्यान आबद्ध संस्थाहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा विद्यार्थीको गतिविधि क्रमशः झनै बढ्ने उनीहरूको दाबी छ । ‘विद्यार्थीले कोभिडपछि पनि विदेशको शिक्षा रोजिरहेका छन्,’ संयोजक दाहालले भने, ‘त्यस्ता विद्यार्थीलाई सहज र सरल होस् भनेर मेलामा अधिक जानकारी दिने व्यवस्था मिलाएका छौं ।’

विदेशी विश्वविद्यालय र कलेजहरूमा छात्रवृत्ति र सेवासुविधाका प्याकेजहरू झनै बढेको दाहालले जनाए । ‘त्यो अवसर र सुविधा नेपाली विद्यार्थीलाई पनि दिन चाहन्छौं,’ उनले भने, ‘यो सूचना विद्यार्थी र अभिभावकका बीचमा पुर्‍याउनु मेलाको मुख्य उद्देश्य रहेको छ ।’

विदेशमा अध्ययन गरिरहेका विद्याथीलाई कोभिडपछि विभिन्न सहायता र सहज रूपमा बैंकबाट ऋणसमेत उपलब्ध भएको क्यान पदाधिकारीको भनाइ छ । आकर्षण सुविधाकै कारण महामारीमा पनि नेपाली विद्यार्थी स्वदेश फर्कन नचाहेको संयोजक दाहालले जनाए । ‘स्वास्थ्य बिमाका कारणले नेपाली विद्यार्थीले यहाँभन्दा आफुलाई अध्ययन गरिरहेको देशमा सुरक्षित ठाने,’ उनले भने ।

प्राविधिक रूपमा मेलाको तयारी पूरा गरिएको आयोजकले जनाएको छ । ‘इक्यान फेयरमा लग इन’ गरेर मेलामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ । त्यसमा प्रि–रजिस्ट्रेसन गर्न सकिने व्यवस्था पनि छ । रजिस्ट्रेसनपछि अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजहरू, मेलामा सहभागी संस्था, शैक्षिक कन्सल्टेन्सी, बैंकलगायतसँग विद्यार्थी, अभिभावकले सीधा सर्म्पक गरेर संवाद गर्न सक्नेछन् । ‘विद्यार्थीले आफूले रोजेको देशको शिक्षण संस्था, शैक्षिक कन्सल्टेन्सी र बैंकका प्रतिनिधिसँग विविध जिज्ञासा राखेर जानकारी प्राप्त गर्न पाउँनेछन्,’ उनले भने ।

भर्चुअल मेला शुक्रबारदेखि सोमबारसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । विद्यार्थीलाई विदेशी शिक्षण संस्था, नेपालस्थित शैक्षिक परामर्शदाता र विभिन्न बैंकका प्रतिनिधिले काउन्सिलिङ गर्नेछन् । ‘विद्यार्थीले रोजेको देश, कलेज, कोर्सबारे धेरैभन्दा धेरै जानकारी दिएर काउन्सिलिङ गर्छौं,’ संयोजक दाहालले भने । विद्यार्थीको चाहनालाई नै ध्यानमा दिएर सम्बन्धित मुलुकको शिक्षा प्रणाली, त्यहाँ जान पूरा गर्नुपर्ने प्रक्रियाहरू आदानप्रदान गरिने इक्यानका पूर्वअध्यक्ष विष्णुहरि पाण्डेले जनाए । इक्यानमा ४ सय ७३ वटा परामर्शदाता संस्थाहरू आबद्ध छन् । मेलामा ती संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

मेलामा सहभागी बैंकहरूले विद्यार्थीलाई अध्ययनलगायत वैदेशिक शिक्षाका लागि लागत र रकम पठाउने माध्यमबारे जानकारी दिने व्यवस्थासमेत गरिएको छ । विद्यार्थी र अभिभावकलाई वैदेशिक शिक्षाबारे सही परामर्श र सूचना दिनेबाहेक अन्य उद्देश्य नरहेको इक्यानले जनाएको छ । ‘विदेश पढ्न जान चाहाने विद्यार्थी र पठाउन चाहने अभिभावक कोरोनाले अलमलमा हुनुहुन्छ,’ पाण्डेले भने, ‘परामर्श क्षेत्र खुल्ला छ, विदेश पढ्न जाने र फर्कने क्रम चलिनै रहेको छ, यही कुरा प्रस्टसँग मेलामा राख्छौं ।’

मेलाले कन्सल्टेन्सी, विद्यार्थी र अभिभावकमा विश्वासको वातावरण झनै बढ्ने र व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । ‘कोरोनाले वैदेशिक शिक्षाको क्षेत्रमा पनि थुप्रै चुनौती देखिएको छ, सुरुको अवस्थामा ठप्पै भयो, अहिले यो क्षेत्र पनि चलायमान हुँदै गएको छ,’ उनले भने, ‘मेलापछि शैक्षिक परामर्श क्षेत्र पनि पुनर्जागरण हुन्छ ।’

कोरोनापछि विभिन्न देशले विदेशी विद्यार्थीलाई पठनपाठन गराउने नीति हेरफेर गरेकाले पनि मेलामार्फत सही र स्पष्ट जानकारी प्राप्त गर्न सकिने इक्यानको भनाइ छ । सम्बन्धित देश, शिक्षण संस्था कोर्स, भिसा प्रणालीलगायत अन्य सेवासुविधा र प्रक्रियाबारे जानकारी पाउन विद्यार्थीलाई मेलामा सहभागी हुन पूर्वअध्यक्ष पाण्डेले आग्रह गरे ।

प्रकाशित : माघ २, २०७७ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्

भान्सामा छोरा

हामीले आफ्ना नानीबाबुहरूलाई बाहिर र भित्रका समान कामहरू दिएर समान व्यवहार गर्नुपर्ने होइन ? ताकि छोराहरूले पनि भोलिका दिनमा बाहिर हिँड्दा छोरीहरूले झैं सबै सम्हाल्न सकून् । तब न छोराछोरी बराबरी  !
यमुना पराजुली अधिकारी

प्रसंग एक : म एक साथीसँग भिडियो कल गर्दै भाँडा माझ्दै थिएँ । भाँडा मोल्ने सिंकअगाडि अड्याइएको मोबाइल फोनमा भुइँ सफा गर्दै गरेको मेरो छोरो पनि प्रस्टसँग देखिइरहेको थियो ।

उसैतर्फ संकेत गर्दै साथीले भनी, ‘छोरालाई कति काम लगाउँछे होउ यो ! त्यो पनि किचनको ! आफ्नी त छोरी भएर पनि किचनको काम लगाउँदिनँ म । माया पो लाग्छ ।’ मैले भनें, ‘मैले चाहिँ माया नगरेरै, उसको उमेरले थेग्न नसक्ने काम लगाएकी हुँ त ?’

‘त्यस्तो होइन होउ ! छोरामान्छे भएर भान्साको काम गरेको सुहाएन ।’ ऊ फेरि बोली, ‘छोरी भए त तै अथवा !’

‘छोराछोरी भनेर छुट्याएर नबोल् । बरु आफ्नी छोरीलाई पनि घरायसी काम लगाउने गर् । अहिले पो हाम्रो साथमा छन्, भोलि पढ्न वा जागिर खान बाहिर गए र किचनको कामै गर्न जानेनन् भने उनीहरूलाई कति अप्ठ्यारो पर्छ ?’ म यति बोलिसक्दा ऊ केही सोचमा परेझैं लाग्यो, तर कुरा मोडिहाली ।

प्रसंग दुई : लकडाउनका बेला म घरनजिकै एक आफन्तकहाँ गएकी थिएँ, जहाँ कलेज पढ्दै गरेका दाजुबहिनी छन् । म पुगेपछि बहिनीले चिया पकाएर ल्याइन् । चिया मीठो रहेछ भनेर मैले प्रशंसा गर्दा, छेउमै बस्नुभएकी आमाले भन्नुभयो, ‘अब छोरीमान्छे भएपछि चिया पनि मीठो पकाउन नआएर हुन्छ त ? कलेज पढ्ने भइसकी ।’ दाइ चाहिँ मोबाइल चलाएर बसिरहेको थियो । उसलाई सायद मीठो चिया पकाउनु पनि थिएन र त्यहाँ भइरहेको गफको पनि वास्ता थिएन । किनभने परिवारका सदस्य नै छोरीले मात्र मीठो पकाउनुपर्छ भन्नेमा विश्वस्त हुनुहुन्थ्यो ।

प्रसंग तीन : केही दिनअगाडि म छतमा घाम ताप्दै बसिरहेकी थिएँ । पल्लो घरकी आन्टी पनि उहाँको छतमा हुनुहुन्थ्यो, मसँग गफ पनि गर्दै हुनुहुन्थ्यो । त्यही बेला मेरो छोराले वासिङ मेसिनबाट झिकेर लुगा सुकाउन ल्यायो । त्यो देखेर आन्टी बोलिहाल्नुभयो, ‘यो बाबु त कस्तो छोरीले जस्तै काम गर्छ होउ !’

प्रसंग चार : एक आफन्त आफ्ना छोराछारी लिएर हाम्रो घर आउनुभएको थियो । मेरा छोराहरू र उनीहरू कम्प्युटर खोलेर युट्युबमा केही हेर्दै हाँस्दै थिए । केही बेरपछि उनीहरू उच्च स्वरमा हाँसे । ‘के हेरेर यस्तो हाँसेका हँ यिनीहरू ?’ मैले यति बोल्दाबोल्दै उहाँ त जुरुक्क उठ्नुभयो र छोरीलाई समातेर कराउनुभयो, ‘छोरीमान्छे भएर कस्तो हाँसेकी ?’ हाँसेका त चारै जना थिए तर खप्की छोरीले मात्र खाइन् । छोराहरू पनि हाँसेका थिए, गाली नै गर्नुपरे सबैलाई गरेको भए हुन्थ्यो ।

माथिका जस्तै उदाहरणहरू हाम्रो समाजमा प्रायः देख्न/सुन्न पाइराखिन्छन् । छोरो भएर पनि भान्साको काम गर्ने, छोरी भएर यति पनि नजान्ने, छोरी भएर जहाँ मन लाग्यो त्यहाँ जाने ... । यस्ता कुरा सुन्दा हाम्रा छोराछेरीले चाहिँ के सोच्दा हुन् ? मेरी साथी र छिमेकी आन्टीका कुरा सुनेको मेरो छोरालाई घरको काम गर्दा कस्तो अनुभूति होला ?

‘छोरा र छोरीमा भेदभाव हटाऔं’ भन्दै करिब दुई दशकअगाडि रेडियोमा विज्ञापन बज्ने गर्थ्यो । त्यो बेला घरबाहिरको काम वा ट्युसन सकेर वा जेसुकै गरेर होस्, मलाई स्कुल जान हतार हुँदा आमाले पकाएको खाना उहाँले पस्किन नभ्याउँदा दाजुले कहिल्यै पस्केरसम्म दिनुभएन । अरू सबै कुरामा हामी दाजु–बहिनीमा समान व्यवहार थियो तर भान्सामा खानै पस्किनचाहिँ दाजु कहिल्यै पस्नुभएन ।

‘छोराछोरी बराबरी’ भन्ने विज्ञापन अचेल रेडियो, टेलिभिजनमा सुन्न पाइन्न; नारा पनि सुन्न पाइन्न । पढाइलेखाइदेखि लिएर जागिर खान, देश–विदेश गर्नमा छोराछोरी बराबरी नै छन् । उच्च ओहदामा धेरै महिला पुग्न सफल भइसकेका छन् । यति हुँदाहुँदै पनि हाम्रो परम्परागत सोचका कारण छोरीहरूले बढी जिम्मेवारी थेग्नुपरेकै छ । छोराले घरायसी काम गर्दा समाज नै अचम्ममा पर्छ । श्रीमान्–श्रीमती कार्यालयबाट सँगै घर आउँछन् तर भान्सामा श्रीमान् छिर्‍यो र श्रीमती बसिन् भने घरकै मान्छेले ओठ लेप्र्याउँछन् । स्कुल–कलेज पढ्ने छोरीहरूको पनि उही हालत छ । बुबाआमा जागिर खाने घरका छोराछोरीमा स्कुल–कलेजबाट आएर खाजा बनाउने जिम्मा प्रायः छोरीकै हुन्छ ।

यसबाट पुष्टि हुन्छ– हाम्रो समाजमा छोरा र छोरी अझै बराबर मानिएका छैनन् । हामीले अब त आफ्ना नानीबाबुहरूलाई बाहिर र भित्रका समान कामहरू दिएर समान व्यवहार गर्नुपर्ने होइन ताकि छोराहरूले पनि भोलिका दिनमा बाहिर हिँड्दा छोरीहरूले झैं सबै सम्हाल्न सकून् ? तब न छोराछोरी बराबरी !

yamunaadhikari127@gmail.com

प्रकाशित : माघ २, २०७७ ०८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×