१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

विवाहेतर सम्बन्ध छुटाउन मानसिक अस्पतालदेखि सुधार केन्द्रसम्म

घरमै ‘बन्धक’ बनाइएका युवाको प्रहरीले उद्धार गर्‍यो
जनकराज सापकोटा

काठमाडौँ — महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार साँझतिर कुपन्डोलको एक घरबाट ३० वर्षीय युवाको उद्धार गर्‍यो । आफ्नै घरमा परिवारले बन्धक बनाएको सूचनाका आधारमा प्रहरीले उनलाई घरबाटै उठाएको थियो । परिसरमा ल्याइपुर्‍याउँदा उनीसँग ल्यापटपबाहेक मोबाइल र परिचय खुल्ने कुनै कागजात थिएन ।

विवाहेतर सम्बन्ध छुटाउन मानसिक अस्पतालदेखि सुधार केन्द्रसम्म

प्रारम्भिक बयानमा उनले आफूलाई परिवार र ससुरालीका सदस्यहरू मिलेर व्यक्तिगत स्वतन्त्रता छिनेको र कागजात सबै खोसेर घरमै बन्धक बनाएको बताएका छन् ।

ती युवाको उद्धार प्रहरीले गर्नुपर्ने अवस्था किन आयो भनेर बुझ्न सात महिनाअघिदेखिका घटनाक्रम केलाउनुपर्ने हुन्छ । कान्तिपुरले ती युवा, उनका बाबु, राष्ट्रिय मानवअधिकार आयोगका अनुसन्धान अधिकारीहरू, प्रहरी र केही स्रोतसँग सम्पर्क गरेर उनलाई उद्धार गर्नुपर्ने परिस्थितिको निर्माण कसरी भयो र यसभित्र कस्तो कथा लुकेको छ भन्नेबारे उधिन्यो ।

प्रेम गरेकी युवतीसँग परिवारको सहमतिमा विवाह गरेर अस्ट्रेलियामा बस्दै आएका ती युवा उतै छँदा एक युवतीसँग विवाहेतर सम्बन्धमा थिए । केही वर्षअघि अस्ट्रेलियाबाट फर्केपछि ती युवा काठमाडौंकै एक निजी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको हैसियतमा काम गरिरहेका थिए । उनी श्रीमतीसँगको सम्बन्धमा बेखुस थिए । अर्की केटीसँग लागेको भन्दै उनलाई बाबुआमा र सासूससुराले सम्बन्धबाट बाहिर निकाल्ने प्रयासमा लागिरहेको देखिन्छ । विवाहेतर सम्बन्धको यही उल्झनका बीच ती युवाका बाबुआमा, सासूससुरा र श्रीमतीसँग द्वन्द्व बढेको देखिन्छ ।

कान्तिपुरसँगको कुराकानीमा ती युवाले स्वतन्त्र जिन्दगी बाँच्न खोजेको, पहिलो श्रीमतीसँग बस्न नचाहेको र त्यसका निम्ति कानुनी प्रक्रिया अपनाउन पाउनुपर्ने भन्दा आफूलाई जबर्जस्ती बन्धक बनाइएको बताए । विवाहेतर सम्बन्धमा परेकी केटी लिएर गत चैतमा भारतको दिल्ली गएपछि उनलाई परिवारले मनाएर नेपाल ल्यायो । त्यसको केही दिनमै उनी सोही केटीसँग पोखराको स्यानिपाटन गएर बस्न थाले । स्यानिपाटन बसेकै बेला उनी गत असार पहिलो सातातिर काठमाडौं आएका थिए । काठमाडौं आएर सम्पर्क बाहिर रहेपछि उनकी पत्नीले जिल्ला प्रहरी कार्यालय कास्कीमा ‘श्रीमान्‌को खोजी गरिपाऊँ’ भनेर निवेदन दर्ता गर्न खोजेको देखिन्छ । त्यही बेला राष्ट्रिय मानवअधिकार आयोगको क्षेत्रीय कार्यालयमा पनि ‘बन्धकमुक्त गराइपाऊँ’ भनेर निवेदन दर्ता भएको देखिन्छ ।

असार अन्तिम साता ती युवाले परिवार र सासूससुराले आफूलाई जबर्जस्ती एकान्तकुनास्थित रिदम न्युरोसाइक्याट्रिक हस्पिटल एन्ड रिसर्च सेन्टरमा बन्धक बनाएर राखेको र आफू जुनसुकै बेला पनि मारिन सक्ने अवस्था रहेको भन्दै भिडियो सन्देश पठाएका थिए । स्रोतका अनुसार यही भिडियो सन्देश राष्ट्रिय मानवअधिकार आयोग पुल्चोकमा पनि पुगेको देखिन्छ ।

आयोगका एक अनुसन्धान अधिकारीले वयस्क पुरुष बन्धक भएको भन्ने सूचना पाएपछि त्यसको जानकारी प्रहरी प्रधान कार्यालयमा पनि दिएको थियो । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयबाट डीआईजी दुर्गासिंह चन्दले आफैं आयोगमा आएर घटनाबारे बुझेकी थिइन् । ती युवाले अस्पतालभित्रबाट पठाएको भिडियो कान्तिपुरलाई पनि प्राप्त भएको छ । भिडियोमा उनले आफूलाई जबर्जस्ती मानसिक अस्पतालमा राखिएको र लठ्याउने औषधि दिइएको बताएका छन् ।

कान्तिपुरसँगको कुराकानीमा पनि ती युवाले आफूलाई कुनै पनि मानसिक समस्या नरहेको र परिवारले जबर्जस्ती आफूलाई अस्पतालमा भर्ना गरेको दाबी गरे । उनले भने, ‘मेरो स्वास्थ्यबारे निष्पक्ष परीक्षण भयो भने सबै कुरा बाहिर आउँछ ।’ योबीचमा परिवारका सदस्यहरूले आफूलाई जबर्जस्ती तनावमा आएर बन्धक भएको कुरा बताउन लगाएको र अहिले कुनै समस्या नरहेको भन्दै मानवअधिकार आयोगमा पनि फोन गर्न बाध्य बनाएको उनले बताए । आयोगका एक अनुसन्धान अधिकारीले पनि उनले फोन नै गरेर आफूलाई समस्या नरहेको बताएपछि अनुसन्धान रोकेको जानकारी दिए ।

अस्पतालमा राखिएको सूचना बाहिरिएपछि परिवारले ती युवालाई लागूऔषध पुनःस्थापनाका निम्ति काम गर्ने नार्कोनन नेपाल पुनःस्थापना केन्द्रमा लगेर भर्ना गरेको थियो । तर सूचना चुहिने डरले परिवारले उनलाई अर्कै नाममा नार्कोननमा भर्ना गरेको थियो । उनीसँगै बूढानीलकण्ठको पुनःस्थापना केन्द्र बसेर बाहिरिएका एक जनाले लागू औषधका अरू दुर्व्यसनीलाई विभिन्न औषधिहरू चढाइने गरे पनि उनलाई दुर्व्यसनी छुटाउने खालको कुनै औषधि नदिइएको बताए । तिनले भने, ‘लागूऔषध प्रयोगकर्ता नै नभईकन पनि परिवारले उनलाई त्यहाँ राखेको देखेपछि म छक्कै परें ।’

नार्कोननमा ती युवासँगै बसेका र पछि छुटेका अर्का एक युवाले पनि उनलाई केटीसँग छुटाउनकै लागि परिवारले जर्बजस्ती रिह्याब सेन्टरमा भर्ती गरेको आफूले त्यहीं छँदा थाहा पाएको बताए ।

कान्तिपुरसँग पनि ती युवाले आफूलाई नार्कोननको बूढानीलकण्ठ र ककनीमा गरेर करिब पाँच महिना राखिएको बताए । उनले भने, ‘केटीसँगको सम्बन्ध छुटाउनका निम्ति परिवारले मलाई लागूऔषध दुर्व्यसनी र मानसिक रोगीझैं व्यवहार गरेर बन्धक बनायो ।’ नार्कोननको पाँचमहिने बसाइपछि उनलाई चाबहिलस्थित ससुराली घरमा राखिएको थियो ।

बुधबार ती युवालाई उद्धार गरिनुअघि कान्तिपुरले उनका बाबुसँग पनि सम्पर्क गरेको थियो । उनले आफ्नो छोरालाई कुनै समस्या नरहेको र बन्धक बनाइएको भन्ने पुराना निवेदनहरू सबै फिर्ता लिइसकेको बताएका थिए । छोरा आफैंले फोन बोक्न नचाहेको भन्दै उनलाई कसैसँग सम्पर्क गर्न नरोकिएको दाबी गरेका थिए ।

प्रहरीको प्रारम्भिक बयानमा भने ती युवाले आफूलाई घरमै बन्धक बनाइएको र परिवारका सदस्यले भनेअनुसार नगरे जे पनि गर्ने धम्की दिइएको बताए । उनले भने, ‘मेरो सम्बन्धकै कुरालाई लिएर मलाई मानसिक अस्पतालदेखि दुर्व्यसनी सुधार केन्द्रसम्म राख्ने अधिकार परिवारले कसरी पायो ?’

महानगरीय प्रहरी वृत्त ललितपुरकी एसएसपी किरण बज्राचार्यले घरभित्रै बन्धक बनाइएको भन्ने सूचनाका आधारमा उनको उद्धार गरिएको बताइन् । उनले बयस्क नागरिकले स्वतन्त्रपूर्वक बाँच्न पाउने कानुनप्रदत्त हकको मात्रै आफूहरूले सम्मान गरेको बताइन् ।

प्रकाशित : माघ २, २०७७ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?