टेकुमा कोभिड बाहेकका बिरामी पनि- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टेकुमा कोभिड बाहेकका बिरामी पनि

फातिमा बानु

काठमाडौँ — कोरोना महामारीसँगै संक्रमितको उपचारमा मात्रै सीमित टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले अन्य रोगका बिरामी पनि जाँच्न थालेको छ । पुस २२ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै अस्पताललाई ननकोभिडका सेवा नियमित गर्न निर्देशन दिएपछि टेकुले एक वर्षपछि अन्य बिरामीका लागि पनि सेवा खुला गरेको हो ।


कोरोना महामारीअघि यो अस्पताल क्षयरोग, एचआईभी, झाडापखाला, मौसमी भाइरल संक्रमण, दम, निमोनिया, कुकुर, सर्प र अन्य जनावरले टोकेकालगायत सरुवा रोगसम्बन्धी उपचारका लागि देशकै केन्द्रीय अस्पताल र रेफरल केन्द्रका रूपमा थियो ।

यो अस्पताललाई सरकारले पहिलो कोरोना अस्पताल घोषणा गरेपछि एचआईभी संक्रमित र क्षयरोगका बिरामी वीर र पाटन अस्पताल तथा कुकुरले टोकेका बिरामीलाई वाग्मती प्रदेश स्वास्थ्य कार्यालयमा उपचार गर्न थालिएको हो । यसका लागि टेकु अस्पतालले स्वास्थ्य कार्यालयमा आफ्नै स्वास्थ्यकर्मी तालिम दिएर खटाएको थियो । बिरामी अन्तै पठाए पनि उपचार पाइएन भन्दै सरुवा रोगका बिरामी टेकुमै आउने, उपचारका लागि झगडा गर्ने गरेका थिए ।

कोरोनाका बिरामी घट्दै गएपछि पुराना सबै सेवालाई नियमित गर्न अस्पतालको व्यवस्थापन तीव्र पारिएको निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए । उनका अनुसार अहिले कोरोनाबाहेक अन्य सरुवा रोगका बिरामी दैनिक तीन सयको हाराहारीमा आउने गरेका छन् । ‘कोभिड र ननकोभिड दुबै बिरामी हेर्नुपर्ने भएकाले सेवा दिन सहज भने छैन । अस्पतालबाटै संक्रमण सर्ने जोखिम धेरै छ,’ उनले भने, ‘पहिलो तलामा ननकोभिड र माथिल्लो तलामा कोभिडका बिरामी मात्रै राखेका छौं ।’

कोभिडका बिरामी छुट्याएर राख्नुपर्ने, समुदायमा संक्रमण सर्न नदिन स्वास्थ्यकर्मीलाई अस्पतालमै खाने–बस्ने व्यवस्था गर्नुपर्ने भएपछि यहाँको सेवा खुम्चिएको थियो । जसले गर्दा सरुवा रोगका अन्य बिरामी उपचारविहीन हुनुपर्ने अवस्थामा पुगेका थिए । ‘सर्पले टोकेका बिरामीको उपचारमा प्रयोग हुने एन्टिभेनम औषधि अन्य ठाउँमा सही तरिकाले प्रयोग भएन, खर्च बढी भयो,’ उनले भने, ‘बिरामी फर्केर यही अस्पतालमा आउने, गुनासो गर्ने गरेपछि सेवा सुरु गर्न बाध्य भएका हौं । संक्रमणको जोखिम भने उत्तिकै छ ।’

अस्पतालको सघन उपचार कक्ष (आईसीयू) पनि कोभिड र ननकोभिडका लागि छुट्याइसकिएको उनले बताए । संक्रमित र गैरसंक्रमितलाई हेर्ने स्वास्थ्यकर्मीको फरक–फरक टोली परिचालन गरिएको उनले बताए । आकस्मिक कक्षमा कोभिड र ननकोभिड दुवै खाले बिरामी आउने सम्भावना भएकाले कोरोना संक्रमण सजिलै सर्ने जोखिम छ ।

ननकोभिडका लागि अलग्गै आकस्मिक कक्ष राख्ने तयारी गरिएको उनको भनाइ छ । ‘मन्त्रालयको अनुरोधमा सेवा सुरु गरिएको हो । भोलि कोरोना संक्रमणको दोस्रो चरण आयो भने फेरि कोभिड अस्पतालमै परिवर्तन गर्नुपर्ने हुन सक्छ,’ उनले भने, ‘डायबिटिज, हाइपरटेन्सन, दम, निमोनिया र हेपटाइटिसका बिरामी बढी आइरहेका छन् । अन्य अस्पतालले फर्काएका कोरोनाका बिरामी पनि उत्तिकै आउँछन् ।’ अस्पतालमा अहिले कोरोनाका २० जना बिरामी भर्ना छन्, जसमध्ये १० जना आईसीयूमा उपचाररत छन् ।

खोप कोषमा सहयोग गर्न आह्वान

सरकारले सार्वजनिक सूचना जारी गरेर कोभिड–१९ खोप कोषका लागि अन्तर्राष्ट्रिय निकायसँग आर्थिक सहयोग आह्वान गरेको छ । खोप ऐनबमोजिम स्थापना भएको उक्त कोषको ‘सिड मनि’ का रूपमा सरकारले ५० करोड रुपैयाँ जम्मा गरेको छ । ‘यो आह्वान सर्वसाधारण नेपालीका लागि होइन । अन्तर्राष्ट्रिय परोपकारी संगठन, अन्तर्राष्ट्रिय संघ–संस्था, परोपकारी संस्थालगायत इच्छुकलाई सहयोग गर्न ठाउँ दिइएको हो,’ अर्थसचिव शिशिरकुमार ढुंगानाले भने ।

मन्त्रिपरिषद्को गत कात्तिक २४ को निर्णयअनुसार बुधबार गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेरै अन्तर्राष्ट्रिय संघ–संस्था, निकायसँग खोप कोषका लागि आर्थिक सहयोग आह्वान गरिएको हो । १८ वर्ष उमेरमाथिका लक्षित समुदाय अर्थात् मुलुकको ७२ प्रतिशत नागरिकका लागि खोप खरिद, कोल्ड चेन, भण्डारण, वितरणलगायतमा ४९ अर्ब रुपैयाँ जति लाग्ने प्रारम्भिक अनुमान छ ।

प्रकाशित : माघ २, २०७७ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाले मनोरोगी

पुराना मानसिक बिरामी, लागूऔषध प्रयोगकर्ता, घरेलु हिंसामा परेका महिला, बालबालिका, दीर्घरोगी र स्वास्थ्यकर्मीलाई बढी मानसिक असर
फातिमा बानु

काठमाडौँ — मिर्गौलाको डायलसिस गरिरहेका ललितपुरवासी ४४ वर्षीय व्यक्तिलाई कोरोना संक्रमण भयो । उनीबाट श्रीमतीलाई पनि संक्रमण सर्‍यो । ‘कडा रोगीलाई कोरोना भइहाल्यो भने मृत्यु नै हुन्छ’ भनेर सुन्दै आएका उनलाई आत्महत्याको सोच आउन थाल्यो ।

आफू संक्रमित भए पनि आफ्नो सेवामा खटिएका परिवारलाई रोग सार्नु नपरोस् भनेर दिनरात चिन्तामा डुबे, धेरै रात अनिँदो बसे । मनोसामाजिक परामर्श लिएपछि भने उनको मानसिक अवस्था अहिले स्थिर छ, नियमित उपचारमा छन् ।

साइकोसिस जस्तो कडा मानसिक रोगको उपचार गराइरहेका रामेछापका एक व्यक्ति लकडाउनमा तीन सय रुपैयाँको औषधि लिन १६ हजार भाडा तिरेर काठमाडौं आए । लकडाउनका कारण उनले लामो समय चिकित्सक भेट्न पाएनन् । उनको उपचारमा संलग्न मनोचिकित्सक डा. वासुदेव कार्कीका अनुसार अस्पताल पुग्न ढिलाइ र लकडाउनका कारण समयमा औषधि छुटेका कारण धेरै मानसिक बिरामीको रोग बल्झिएको छ । ‘लकडाउनका कारण बिरामीहरू नियमित उपचारमा आवश्यक परामर्शका लागि अस्पताल आएनन् ।

विशेषज्ञको प्रेस्क्रिप्सनबिना यो रोगको औषधि किन्न पाइँदैन,’ कार्कीले भने, ‘सामान्य औषधिका लागि पनि केन्द्र नै धाउनुपर्ने बाध्यताले उपचार छुट्यो, रोग बल्झियो ।’ साइकोसिस, बाइपोलार डिस्अर्डर र सिजोफ्रेनिया जस्ता कडाखाले मानसिक रोगी यस्ता समस्यामा परेको उनले बताए । बेरोजगारी, पारिवारिक कलह, मादक पदार्थ सेवनका समस्या भएकालाई कोरोना संक्रमणले मानसिक रोगी बनाउँदै लगेको कार्कीको भनाइ छ ।

उनका अनुसार लकडाउनमा घर बसेका बालबालिका, घरेलु हिंसा भोगेका किशोरी र महिला अनि मानसिक रोगको औषधि सेवन गरिरहेका बिरामीको औषधि छुटेका कारण पनि रोग बढेको छ । ‘फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीले सुरक्षा सामग्री पाएनन्, कतिले तलबभत्ता पाएनन्,’ उनले भने, ‘यस्तो अवस्थामा उनीहरू दिग्दारी, निराशा र एन्जाइटी जस्ता समस्याबाट अझै गुज्रिरहेका छन् ।’

मानसिक रोग विशेषज्ञ डा.कमल गौतमका अनुसार कोरोना महामारीले संक्रमितभन्दा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा अन्य वर्गलाई बढी मानसिक रूपमा गाँज्दै लगिरहेको छ । लकडाउनका कारण आर्थिक संकटमा परेका व्यापारी, निको भइसकेका पुराना मानसिक बिरामी, लागूऔषध प्रयोगकर्ता, घरेलु हिंसामा परेका महिला र बालबालिका, दीर्घरोगी र संक्रमितको उपचारमा खटिएका फ्रन्टलाइन स्वास्थ्यकर्मीलाई महामारीले बढी मानसिक असर गरेको उनले बताए ।

‘महामारीले कतिलाई मानसिक रोगी बनायो भनेर देशव्यापी अध्ययन नभएकाले तथ्यांक छैन । मनोरोग विशेषज्ञ, सामाजिक अर्थशास्त्री, क्लिनिकल साइकोलोजिस्ट र सामुदायक मनोपरामर्शसँग हामीले गरेको अन्तर्वार्तालाई आधार मान्ने हो भने मानसिक समस्या र रोग बढेको देखिन्छ,’ उनले भने, ‘परामर्शका लागि राखिएका हटलाइनमा पनि धेरै फोन आइरहेका हुन्छन् र पहिलेभन्दा आत्महत्या दर पनि निकै बढेको छ ।’ उनका अनुसार संक्रमितहरूमा मानसिक रोगभन्दा पनि हतासिने, मरिहाल्छु कि भन्ने, फेरि संक्रमण हुन्छ कि, अरूलाई सार्छु कि भन्ने भावनात्मक सन्तुलनसँग सम्बन्धित समस्या बढी छन्, जसलाई सामान्य परामर्श र थेरापीबाट निको पार्न सकिन्छ ।

‘लकडाउनका कारण मान्छेहरू घरभित्रै सीमित भए । आर्थिक गतिविधि घटे । भेटघाट खुम्चिएपछि कुण्ठाहरू मनमै कैद भए,’ उनले भने, ‘यस्तै तनाव व्यवस्थापन गर्न नजान्ने, असहज परिस्थितिसँग जुध्न नसक्ने भएपछि रोग लाग्ने हो ।’ स्वास्थ्य संस्थाहरू पनि कोरोना संक्रमण नियन्त्रणतर्फ मात्रै केन्द्रित भएपछि मानसिक समस्या ओझेलमा परेको उनले बताए । यो क्षेत्रमा काम गर्न अब सरकारले ढिलो गर्न नहुने उनले बताए ।

‘मनोसामाजिक समस्या पहिचान गर्नका लागि गाउँगाउँमा तालिमप्राप्त जनशक्ति छन् । उनीहरूलाई खटाउन सकिन्छ,’ गौतमले सुझाए, ‘कति औषधि निःशुल्क छन्, ती औषधिबारे भनिदिने र सामान्य परामर्श गरिदिने मात्रै हो भने पनि धेरै हदसम्म समस्या सुल्झिन्छ ।’

नेपाल प्रहरीको तथ्यांकअनुसार अघिल्ला वर्षहरूमा भन्दा कोरोना महामारीमा १९ प्रतिशतले आत्महत्या दर बढेको छ । आत्महत्या बढ्नुको मुख्य कारण कोरोना संक्रमण नै हो भनेर निष्कर्ष नभए पनि प्रत्यक्ष, अप्रत्यक्ष रूपमा महामारीले आत्महत्याको सोचविचार, योजना र प्रयास गरेको देखिएको मनोरोग विशेषज्ञ बताउँछन् ।

प्रकाशित : पुस २३, २०७७ ०९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×