१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

टेकुमा कोभिड बाहेकका बिरामी पनि

फातिमा बानु

काठमाडौँ — कोरोना महामारीसँगै संक्रमितको उपचारमा मात्रै सीमित टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले अन्य रोगका बिरामी पनि जाँच्न थालेको छ । पुस २२ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै अस्पताललाई ननकोभिडका सेवा नियमित गर्न निर्देशन दिएपछि टेकुले एक वर्षपछि अन्य बिरामीका लागि पनि सेवा खुला गरेको हो ।

टेकुमा कोभिड बाहेकका बिरामी पनि

कोरोना महामारीअघि यो अस्पताल क्षयरोग, एचआईभी, झाडापखाला, मौसमी भाइरल संक्रमण, दम, निमोनिया, कुकुर, सर्प र अन्य जनावरले टोकेकालगायत सरुवा रोगसम्बन्धी उपचारका लागि देशकै केन्द्रीय अस्पताल र रेफरल केन्द्रका रूपमा थियो ।

यो अस्पताललाई सरकारले पहिलो कोरोना अस्पताल घोषणा गरेपछि एचआईभी संक्रमित र क्षयरोगका बिरामी वीर र पाटन अस्पताल तथा कुकुरले टोकेका बिरामीलाई वाग्मती प्रदेश स्वास्थ्य कार्यालयमा उपचार गर्न थालिएको हो । यसका लागि टेकु अस्पतालले स्वास्थ्य कार्यालयमा आफ्नै स्वास्थ्यकर्मी तालिम दिएर खटाएको थियो । बिरामी अन्तै पठाए पनि उपचार पाइएन भन्दै सरुवा रोगका बिरामी टेकुमै आउने, उपचारका लागि झगडा गर्ने गरेका थिए ।

कोरोनाका बिरामी घट्दै गएपछि पुराना सबै सेवालाई नियमित गर्न अस्पतालको व्यवस्थापन तीव्र पारिएको निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए । उनका अनुसार अहिले कोरोनाबाहेक अन्य सरुवा रोगका बिरामी दैनिक तीन सयको हाराहारीमा आउने गरेका छन् । ‘कोभिड र ननकोभिड दुबै बिरामी हेर्नुपर्ने भएकाले सेवा दिन सहज भने छैन । अस्पतालबाटै संक्रमण सर्ने जोखिम धेरै छ,’ उनले भने, ‘पहिलो तलामा ननकोभिड र माथिल्लो तलामा कोभिडका बिरामी मात्रै राखेका छौं ।’

कोभिडका बिरामी छुट्याएर राख्नुपर्ने, समुदायमा संक्रमण सर्न नदिन स्वास्थ्यकर्मीलाई अस्पतालमै खाने–बस्ने व्यवस्था गर्नुपर्ने भएपछि यहाँको सेवा खुम्चिएको थियो । जसले गर्दा सरुवा रोगका अन्य बिरामी उपचारविहीन हुनुपर्ने अवस्थामा पुगेका थिए । ‘सर्पले टोकेका बिरामीको उपचारमा प्रयोग हुने एन्टिभेनम औषधि अन्य ठाउँमा सही तरिकाले प्रयोग भएन, खर्च बढी भयो,’ उनले भने, ‘बिरामी फर्केर यही अस्पतालमा आउने, गुनासो गर्ने गरेपछि सेवा सुरु गर्न बाध्य भएका हौं । संक्रमणको जोखिम भने उत्तिकै छ ।’

अस्पतालको सघन उपचार कक्ष (आईसीयू) पनि कोभिड र ननकोभिडका लागि छुट्याइसकिएको उनले बताए । संक्रमित र गैरसंक्रमितलाई हेर्ने स्वास्थ्यकर्मीको फरक–फरक टोली परिचालन गरिएको उनले बताए । आकस्मिक कक्षमा कोभिड र ननकोभिड दुवै खाले बिरामी आउने सम्भावना भएकाले कोरोना संक्रमण सजिलै सर्ने जोखिम छ ।

ननकोभिडका लागि अलग्गै आकस्मिक कक्ष राख्ने तयारी गरिएको उनको भनाइ छ । ‘मन्त्रालयको अनुरोधमा सेवा सुरु गरिएको हो । भोलि कोरोना संक्रमणको दोस्रो चरण आयो भने फेरि कोभिड अस्पतालमै परिवर्तन गर्नुपर्ने हुन सक्छ,’ उनले भने, ‘डायबिटिज, हाइपरटेन्सन, दम, निमोनिया र हेपटाइटिसका बिरामी बढी आइरहेका छन् । अन्य अस्पतालले फर्काएका कोरोनाका बिरामी पनि उत्तिकै आउँछन् ।’ अस्पतालमा अहिले कोरोनाका २० जना बिरामी भर्ना छन्, जसमध्ये १० जना आईसीयूमा उपचाररत छन् ।

खोप कोषमा सहयोग गर्न आह्वान

सरकारले सार्वजनिक सूचना जारी गरेर कोभिड–१९ खोप कोषका लागि अन्तर्राष्ट्रिय निकायसँग आर्थिक सहयोग आह्वान गरेको छ । खोप ऐनबमोजिम स्थापना भएको उक्त कोषको ‘सिड मनि’ का रूपमा सरकारले ५० करोड रुपैयाँ जम्मा गरेको छ । ‘यो आह्वान सर्वसाधारण नेपालीका लागि होइन । अन्तर्राष्ट्रिय परोपकारी संगठन, अन्तर्राष्ट्रिय संघ–संस्था, परोपकारी संस्थालगायत इच्छुकलाई सहयोग गर्न ठाउँ दिइएको हो,’ अर्थसचिव शिशिरकुमार ढुंगानाले भने ।

मन्त्रिपरिषद्को गत कात्तिक २४ को निर्णयअनुसार बुधबार गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेरै अन्तर्राष्ट्रिय संघ–संस्था, निकायसँग खोप कोषका लागि आर्थिक सहयोग आह्वान गरिएको हो । १८ वर्ष उमेरमाथिका लक्षित समुदाय अर्थात् मुलुकको ७२ प्रतिशत नागरिकका लागि खोप खरिद, कोल्ड चेन, भण्डारण, वितरणलगायतमा ४९ अर्ब रुपैयाँ जति लाग्ने प्रारम्भिक अनुमान छ ।

प्रकाशित : माघ २, २०७७ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?