बलात्कार मुद्दामा पैसाको बार्गेनिङ

कर्णाली प्रदेशभर ३ वर्षमा ३ सय ४७ बलात्कारका मुद्दा दर्ता भएका छन् भने १ सय २६ जनामाथि बलात्कार प्रयास भएको छ

सुर्खेत र सल्यान — एक साताअघि दैलेखको नारायण नगरपालिका–८ की ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही वडाका ३५ वर्षीय रामबहादुर विक पक्राउ परे । वैशाख १० गते दुल्लु नगरपालिका–८ की १७ वर्षीया बालिकालाई झारफुक गर्ने बहानामा ६१ वर्षीय नन्दराम भण्डारीले जबर्जस्ती करणी गरे । उनी अदालतको आदेशपछि कारागार चलान भएका छन् भने विकमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बलात्कार मुद्दामा पैसाको बार्गेनिङ

यी दुई उदाहरण मात्र हुन् । कर्णालीमा पछिल्लो समय बलात्कारका घटना बढेका छन् । ३ वर्षको अवधिमा प्रदेशभरि ३ सय ४७ बलात्कारका मुद्दा दर्ता भएका छन् भने १ सय २६ जनामाथि बलात्कारको प्रयास भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार ५ वर्षीया बालिकादेखि ६० वर्ष उमेरका महिला बलात्कारका घटनामा परेका हुन् । जबर्जस्ती करणी र करणी उद्योगमा ३ वर्षको अवधिमा ४ सय ७३ घटना भएको कार्यालयले जनाएको छ । त्यसमध्ये ७० प्रतिशत दलित समुदायका महिला र किशोरी रहेका छन् । कानुनी ज्ञानको अभाव, गरिबी, देखासिकी, अत्यधिक मादक पदार्थ सेवनलगायत कारण बलात्कारका घटना बढिरहेका हुन् । अधिकांश बलात्कारका घटना छिमेकी र आफन्तबाटै भएको इन्सेकका दैलेख प्रतिनिधि अमर सुनारले बताए । उनका अनुसार २०२० मा दैलेखमा १३ वटा बलात्कारका घटना भएका छन् । ‘मुद्दा परेपछि पैसाको बार्गेनिङ चल्छ,’ उनले भने, ‘जसका कारण धेरै पीडितले न्याय पाउन सकेका छैनन् ।’ लेनदेनको कुरा मिलेपछि अदालतमा परेको मुद्दा ‘होस्टायल’ हुने गरेको उनले बताए ।

कर्णालीमा सबैभन्दा बढी सुर्खेतमा ३ वर्षको अवधिमा १ सय ७५ जना महिला र बालिका बलात्कारमा परेका छन् । ‘कतिपय घटना गाउँमै मिल्छन्,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीले भने, ‘तर हामीकहाँ आएका मुद्दामा पीडकले कारबाही भोगेकै छन् ।’ उनका अनुसार विपन्न, दलित र अपांग महिला र बालिका बढी बलात्कारको सिकार भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार एक वर्षको अवधिमा सल्यानमा ८६, रुकुम पश्चिममा ५४, जाजरकोटमा ४०, जुम्लामा २२, डोल्पामा ९, मुगुमा १३, कालीकोटमा २३ र सबैभन्दा कम हुम्लामा ४ बलात्कारका मुद्दा परेका छन् । बाबुआमासँग नभएका बालबालिका बढी बलात्कारमा पर्ने गरेको सल्यान प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए । ‘आर्थिक अवस्था कमजोर भएका महिला र संरक्षणविहीन बालिका बलात्कृत हुने क्रम बढेको छ,’ उनले भने, ‘घरायसी समस्या, चेतना र आर्थिक अभाव तथा अभिभावकको लापरबाहीले जघन्य अपराधका घटनामा कमी आएको छैन ।’

उमेरगत हिसाबमा १६ वर्षमुनिका ९५ जना बालिकामाथि बलात्कार र २६ किशोरीमाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ । त्यस्तै १६ वर्षदेखि २५ वर्ष उमेर समूहका १ सय ३९, २६ देखि ३५ वर्षका ७२ र ३६ देखि ६० वर्ष उमेरका ४१ जना बलात्कृत भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

५ वर्षमा ९९ बलात्कार

आमाबाबु घरमा नहुँदा छिमेकीको घरमा बस्दै आएकी सल्यानको शारदा नगरपालिकाकी एक १५ वर्षीया बालिका पुस ८ गते सामूहिक बलात्कृत भइन् । आफन्तले उजुरी गरेपछि बलात्कार गरेको आरोपमा शारदा नगरपालिका–४ का २२ वर्षीय मनोज गिरी र सुरेश बस्नेतलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । त्यसको दुई साताअघि मामाघरमा बस्दै आएकी कुमाख गाउँपालिकाकी १४ वर्षीया बालिकालाई कुमाख–४ का १८ वर्षीय राजु केसीले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सल्यानमा चालु आर्थिक वर्षको ५ महिनामा मात्रै १९ वटा बलात्कारका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा बलात्कारका २६ घटना भएका थिए भने अघिल्लो वर्ष १७ जना महिला र बालिका बलात्कृत हुन बाध्य भए । आर्थिक वर्ष २०७३/०७४ मा १६ र २०७४/०७५ मा २१ बलात्कारका घटना दर्ता भएको कार्यालयले जनाएको छ । बलात्कार गर्नेविरुद्ध कानुनी कारबाही गर्दै आए पनि विभिन्न कारणले घट्न नसकेको डीएसपी थापाले बताए । उनका अनुसार चालु आवमा भएका १९ घटनामध्ये १५ जना बलात्कृत भएका हुन् भने ४ जनामाथि बलात्कारको प्रयास भएको थियो । बलात्कार आरोपित १७ जनालाई पक्राउ गरी आवश्यक कानुनी कारबाही थालिएको बताए । २ जना अझै फरार छन् ।

पहिले सहमतिमै यौनजन्य क्रियाकलाप भए पनि पछि कुरा नमिलेपछि वा आफन्तले थाहा पाएपछि बलात्कारको उजुरी दर्ता हुने गरेको पनि प्रहरीले जनाएको छ । मोबाइल र विभिन्न सामाजिक सञ्जालले पनि बलात्कारका घटना बढाएको महिला अधिकारकर्मी सोभिता बस्नेतले बताइन् । ‘कतिपय घटनाहरू अहिले पनि बाहिर आउन सकेका छैनन्,’ उनले भनिन्, ‘बलात्कारजस्तो जघन्य अपराध पनि मेलमिलापमै मिलेको छ ।’

बलत्कारका घटना बढ्दा बालिकाहरू बढी असुरक्षित भएको इन्सेक जिल्ला प्रतिनिधि मीना बुढाथोकीले बताइन् । उनका अनुसार प्रहरी र विभिन्न संघसंस्थाले जिल्लाभरि सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि पुरुष र महिलाको आचरणमा परिवर्तन नआउँदा बलात्कार नरोकिएको हो । ‘अहिले महिला र बालबालिका कसैले पनि म सुरक्षित छु भन्ने अवस्था छैन,’ उनले भनिन्, ‘उनीहरू आफैं सजग रहन जरुरी छ ।’

प्रकाशित : माघ १, २०७७ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?