२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रधानमन्त्रीको जिल्लामा ११ तलाको अर्को भ्यू–टावर

पर्वत पोर्तेल

काँकडभिट्टा — प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र तथा गृहनगर दमकमा १५ महिनादेखि १८ तले भ्यू टावरको निर्माणले तीव्रता पाइरहेकै बेला उनकै जिल्लामा पर्ने मेचीनगरमा ११ तले अर्को भ्यू टावर निर्माण हुने भएको छ ।

प्रधानमन्त्रीको जिल्लामा ११ तलाको अर्को भ्यू–टावर

दमकमा करिब डेढ अर्ब लागतमा निर्माणाधीन भ्यू टावरमा ३० प्रतिशत भन्दा बढी काम भइसकेको छ । झापाकै मेचीनगर ६ को शिवालय मन्दिर परिसरमा ३३ मिटर अग्लो भ्यूटावरको शिलान्यास गरिएको छ ।

प्रदेश सरकारको उद्योग, वन तथा वातावरण मन्त्रालयको ७० प्रतिशत र मेचीनगर नगरपालिकाको ३० प्रतिशत लागतमा भ्यू टावर बन्न लागेको हो । भ्यू टावर शिलान्यास गर्न प्रदेश सांसदहरु श्रीप्रसाद मैनाली, राधा थापा र गोपाल चन्द्र बुढाथोकी उपस्थित थिए । सांसदहरुकै पहलमा प्रदेश सरकारले भ्यू टावरका लागि बजेट विनियोजन गरेको हो ।

झापाको दमकमा तीव्र रुपमा निर्माण भइरहेको १८ तले भ्यू टावर ।

मेचीनगरकी उपप्रमुख मीना उप्रेतीका अनुसार टावर निर्माणको ठेक्का झापाकै कनकाई इन्टरनेसनल बिल्डर्स प्रालिले ३ करोड २९ लाखमा लिएको छ । गत मंसिर २९ मा निर्माण ठेक्का सम्झौता भएको छ । सम्झौताअनुसार अर्को वर्ष पुस २८ मा निर्माण सम्पन्न गर्नुपर्ने छ । मेचीनगरका प्रमुख विमल आचार्यले भारत, बंगलादेश लगायत मुलुकबाट भित्रने पर्यटकलाई लक्ष्य गरेर भ्यू टावर निर्माण गर्न लागिएको जनाए ।

मेचीनगरका व्यवसायी सन्दिप ओलीले भने भ्यू टावर निर्माणलाई अनावश्यक काम भनेका छन् । उनले जनताका प्राथमिकताका क्षेत्रमा लगानी गर्नुको साटो दुई चार जना व्यक्ति पोस्ने काम जनप्रतिनिधिबाट भएको आरोप लगाए । सघन सहरी तथा भवन निर्माण कार्यालयमार्फत निर्माण भइरहेको दमकको भ्यू टावर भने अर्को वर्ष पुसमा सक्ने लक्ष्य छ ।

प्रकाशित : माघ १, २०७७ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?