३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

भाडा घटाइएपछि यातायात बन्द

हरि गौतम

रुकुम पश्चिम — जिल्ला यातायात व्यवस्था समिति रुकुम पश्चिमले पछिल्लोपल्ट निर्धारण गरेको भाडाप्रति असहमति जनाउँदै यातायात व्यवसायीले बिहीबारदेखि यातायातका साधन बन्द गराएका छन् । सार्वजनिक सवारी नचलेपछि यात्रु हिँडेर गन्तव्यमा पुग्न बाध्य छन् ।

भाडा घटाइएपछि यातायात बन्द

समितिले बिहीबारदेखि लागू हुने गरी ग्रामीण सडकको भाडा घटाएको हो । उक्त भाडा कम भएको भन्दै व्यवसायीले भाडा समायोजन गर्नुपर्ने अडान राखेका छन् । स्थानीय प्रशासनको निर्णयविरुद्ध सबै व्यवसायी एक भएको सिस्ने हिमाल बस तथा मिनीबस यातायात व्यवसायी समितिका महासचिव महेन्द्रराज गौतमले बताए । ‘केही रुटको भाडा मात्र समायोजन गर्न खोजेका हौं,’ भाडा निर्धारण कार्यदलका सदस्यसमेत रहेका उनले भने, ‘भाडा समायोजन नहुँदासम्म गाडी चलाउन सक्ने अवस्था छैन ।’

जिल्ला प्रशासन कार्यालयले भने यातायात व्यवसायीकै सहभागितामा भाडा निर्धारण गरिएकाले बढी भाडा लिए कारबाही गर्ने सूचना जारी गरेको छ । लामो समयदेखि भाडा महँगो भएको गुनासो आएपछि यातायात व्यवसायीसमेतको सहभागितामा भाडा निर्धारणका लागि कार्यदल बनाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए । उनका अनुसार कार्यदलको सिफारिसका आधारमा समितिले भाडा निर्धारण गरेको हो । ‘व्यवसायीहरू पनि कार्यदलमा हुनुहुन्थ्यो,’ उनले भने, ‘सडकको अवस्था र अरू सबै खर्चको हिसाब गरेर भाडा निर्धारण गरिएको हो, कार्यान्वयन जसरी पनि हुन्छ ।’

समितिले ‘क’ वर्गका सडकमा प्रतिकिलोमिटर ४, ‘ख’ वर्गका रुटमा ७ र ‘ग’ वर्गका सडकमा प्रतिकिलोमिटर ८ रुपैयाँका दरले भाडादर कायम गरेको छ । भाडा निर्धारण गर्न समितिले सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनको संयोजकत्वमा यातायात व्यवसायीसहित प्राविधिक, सडक प्रहरी र यातायात कार्यालयका प्रतिनिधिसहितको कार्यदल बनाएको थियो । कार्यदलको सिफारिसका आधारमा समितिले यसअघि ४ सय रुपैयाँ भाडा लाग्ने सडकमा झन्डै २ सय रुपैयाँ भाडादर कायम गरेको हो ।

प्रकाशित : माघ १, २०७७ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?