२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

देउवाको प्रश्‍न- प्रधानमन्त्री, राष्ट्रपतिले अदालतलाई निर्देशन दिन पाउँछन् ?

अगन्धर तिवारी

पर्वत — कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतलाई आफ्नो विवेक प्रयोग गर्न वञ्चित गराउने, प्रभावित पार्ने ढंगले कसैले पनि अभिव्यक्ति दिन नहुने बताएका छन् । 

देउवाको प्रश्‍न- प्रधानमन्त्री, राष्ट्रपतिले अदालतलाई निर्देशन दिन पाउँछन् ?

पर्वतको फलेबास नगरपालिका–शंकरपोखरीमा सहिद हरिदत्त तिवारीको १८ औं स्मृति सभालाई बिहीबार सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री, राष्ट्रपतिले अदालतलाई प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाए । ‘अदालतलाई निर्देशन दिन प्रधानमन्त्रीले पाउँछ ? राष्ट्रपतिले पाउँछ ? प्रधानमन्त्रीज्यूले सडकमा बहस गर्दै हिँड्नुभएको छ । अदालतमै वकिल राखेर बहस गर्नुस् । किन सडकमा बहस गर्दै हिँड्नुभएको छ ?’

सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका बारेमा बोल्न नमिल्ने भन्दै देउवाले ओली त्यसको खिलापमा उत्रिएको आरोप लगाए । ‘अदालतमा विचाराधीन मुद्दामा ओलीले यो गर र त्यो गर भन्दै हिँडेका छन् । संविधानको व्याख्या गर्ने अधिकार अदालतको हो ।’

अदालतलाई प्रभावमा पार्न खोजेमा त्यसको हिसाबकिताब जनताले गर्ने उनको दाबी छ । ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हुन् । सर्वोच्चलाई प्रभावित पार्न खोजे जनताले सजाय दिनेछन् ।’ देउवाले कांग्रेस विधिको शासन मान्ने र संस्कार बोकेको पार्टी भएकोले सडकबाट अदालतको विरोध नगर्ने रअदालतको निर्णयको पर्खाइमा रहेको बताए ।

पछिल्लो समय अदालतले प्रतिनिधिसभा विघटनको मुद्दालाई सदर गरेको खण्डमा वैशाखमा निर्वाचन नहुने आशंका बढेकोप्रति कटाक्ष गर्दै देउवाले यदि त्यसो हुन नसके प्रधानमन्त्री ओली देशमा बस्नै नसक्ने अवस्था आउने बताए । ‘प्रतिनिधिसभा विघटनको मुद्दा सदर भयो र वैशाखमा निर्वाचन भएन भने जनताले अब ओलीलाई छोड्दैनन् । उनी यो देशमा बस्न सक्ने स्थिति रहँदैन ।’

प्रकाशित : माघ १, २०७७ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?