दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक, आन्दोलनको स्वरुप परिवर्तनबारे छलफल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक, आन्दोलनको स्वरुप परिवर्तनबारे छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक कोटेश्वर पेरिसडाँडामा जारी छ । प्रतिनिधिसभा विघटनपछि पनि सांगठनिक रुपमा नेकपाको केपी ओली समूह आक्रमक रुपमा देखिएपछि दाहाल–नेपाल समूहले आन्दोलनको स्वरुप बदल्ने तयारी थालेको हो । 

पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि यो समूहले पहिलो चरणको आन्दोलन सकेर पुस १८ मा दोस्रो चरणको आन्दोलन घोषणा गरेको थियो । आन्दोलनका कार्यक्रमअन्तर्गत पुस २० देखि माघ २३ गतेसम्म प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने, गाउँ गाउँमा कालो झन्डा गाड्ने, सरोकारवाला पक्षसँग अन्तक्रिया, प्रदर्शन लगायत थिए ।

तर, दोस्रो चरणको आन्दोलन अन्तर्गतका कार्यक्रमले उपस्थिति कमजोर देखिएको बुझाई पछि यो समूहले ‘देखिने’ खालका कार्यक्रम ल्याउने तयारी गरेको छ । त्यसकै लागि स्थायी कमिटी बैठक बसेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

आन्दोलनको स्वरुप र कार्यक्रम परिवर्तन गर्ने विषयमा पुस २६ को सचिवालय बैठकमा पनि छलफल भएको थियो । यो समूहको स्थायी कमिटी बैठक पुस १९ र २० गते पनि बसेको थियो । प्रतिनिधिसभा विघटनपछि नेकपाको यो समूहसहित प्रमुख प्रतिपक्षी कांग्रेस, जनता समाजवादीलगायतका दलहरु छुट्टाछुट्टै सडक आन्दोलनमा छन् ।

प्रकाशित : माघ १, २०७७ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्

केयू उपकुलपतिमा ४४ प्रतिस्पर्धी

सक्षम र नैतिकवान व्यक्ति नियुक्ति गर : डा. केसी
सुदीप कैनी

काठमाडौँ — काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति बन्‍न ४४ जनाले आफ्नो व्यक्तिगत विवरण सिफारिस समितिलाई बुझाएका छन् । उपकुलपति नियुक्त गर्न गठित सिफारिस समितिले व्यक्तिगत विवरण बुझाउन सार्वजनिक रुपमा सूचना जारी गरेको थियो ।

त्यसअनुसार पुस २७ गतेभित्र ४४ आवेदन परेको शिक्षा मन्त्रालयले स्रोतले जनाएको छ । विश्वविद्यालय सभाले शिक्षामन्त्री एवं सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको थियो ।

केयूमा उपकुलपति नियुक्त गर्न पहिलो पटक सार्वजनिक रुपमा गरिएको दरखास्त आह्वानमा ३७ जना प्राध्यापकले व्यक्तिगत विवरण बुझाएका स्रोतले जानकारी दियो । बाँकी व्यक्तिगत विवरण सहप्राध्यापक, उपप्राध्यापक र प्राज्ञिक क्षेत्र बाहिरका व्यक्ति रहेका छन् । वर्तमान उपकुलपति रामकण्ठ माकाजु, पूर्व रजिष्ट्रारहरु भद्रमान तुलाधर, भोला थापा, शिक्षाविद् मनप्रसाद वाग्ले, प्राध्यापक जर्नादन लामिछाने लगायतले विवरण पेश गरेका छन् । खगेन्द्रप्रसाद लामिछाने, विरेन्द्रराज तिवारी, निलाम्बर झा, विभुतिरञ्जन झाले पनि व्यक्तिगत विवरण बुझाएको स्रोतले जनायो ।

सिफारिस समितिले बुधबार व्यक्तिगत विवरणहरुको रुजु गरेको थियो । व्यक्तिगत विवरणको अध्ययन गरेर माघ ५ गते पुन: समितिको बैठक बस्‍ने कार्यतालिका छ । समितिमा संस्थापक उपकुलपति सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुंगाना सदस्य छन् ।

सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने र तीमध्ये १ जनालाई कुलपति तथा प्रधानमन्त्रीले उपकुलपति नियुक्ति गर्ने व्यवस्था छ । अघिल्लो पटक पनि भोला थापा र जर्नादन लामिछानेसहित माकाजुको नाम सिफारिस भएको थियो । ४ वर्षअघि माकाजु दोस्रो कार्यकालका लागि नियुक्ति भएका थिए । उनको कार्यकाल माघ ७ गते सकिदैछ । उनले तेस्रो पटक पनि उपकुलपति बन्न व्यक्तिगत विवरण बुझाएका हुन् । उनी मेडिकल कलेजको सम्बन्धन र शुल्कमा विवादमा तानिएका थिए । माकाजुलाई विश्वविद्यालय रकम धुलिखेल अस्पतालको नाममा अनियमितता गरेको आरोप पनि छ । प्राध्यापक कर्मचारीहरुले एउटा व्यक्ति दुई पटक भन्दा बढि एउटै पदमा बस्न नहुने माग राख्दै आएका छन् ।

त्यस्तै, चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले केयूमा सक्षम र नैतिकवान व्यक्ति नियुक्ति हुनुपर्ने दोहोर्‍याएका छन् । बिहीबार विज्ञप्ति जारी गरेर नियुक्ति प्रक्रिया न्यायोचित र निष्पक्ष हुनुपर्ने उनले बताएका हुन् ।

उमेद्वारहरुको योग्यता, अनुभव र भिजनलाई हेरेर नियुक्तिका लागि सिफारिस हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ । सरकारले यसअघि विश्वविद्यालयमा उपकुलपति नियुक्तिको मापदण्डको कानुनी व्यवस्था गर्ने र त्यसअघि योग्यता र कार्यक्षमताको आधारमा नियुक्ति गर्न सहमति गरेको थियो । डा. केसीले पुस १९ गते पनि विज्ञप्ति जारी गरेर विवादित पदाधिकारीको पुन:नियुक्ति नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित : माघ १, २०७७ १७:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×