कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अब ओलीले विश्राम लिनुपर्छ, उनको बोझ यो देशले बोक्न सक्दैन : माधव नेपाल

'ओलीलाई थप कारबाही गर्नुपर्ने अवस्था आयो'

काठमाडौँ — नेकपा (दाहाल-नेपाल पक्ष)का अध्यक्ष माधवकुमार नेपालले मुलुकले केपी शर्मा ओलीको भार धेरै बोकिराख्न नसक्ने बताएका छन् । विभिन्न अध्यादेशदेखि संसद् विघटनसम्मका गतिविधि र ३ वर्षको कार्यकालको समीक्षा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई विश्राम लिन सुझाएका छन् । ओलीलाई थप कारबाही गर्नुपर्ने अवस्था आएको पनि उनको भनाइ थियो । 

अब ओलीले विश्राम लिनुपर्छ, उनको बोझ यो देशले बोक्न सक्दैन : माधव नेपाल

नेपाल बुद्धिजीवी संगठनले बिहीबार गरेको 'प्रतिनिधिसभा विघटन : प्रतिगामी कदम' विषयक अन्तरक्रियामा अध्यक्ष नेपालले भने, 'अब ओलीले विश्राम लिनुपर्छ, ओलीको बोझ यो देशले बोक्न सक्दैन ।' प्रधानमन्त्री ओली नेकपाको केन्द्रीय सदस्य कायमै रहेको बताउँदै नेपालले भने, 'ओली नेकपाका अध्यक्ष होइनन्, उनको गुट हो । उहाँले अहिले पनि अनेकौं गलत काम गर्दै हिँड्नुभएको छ । अहिलेसम्म पार्टी सदस्य त हुनुहुन्छ अब उहाँको गतिविधि हेर्दा थप कारबाही गर्नुपर्ने देखिएको छ । आज बस्ने स्थायी कमिटी बैठकले गम्भीर समीक्षा गरेर केही निर्णय गर्नेछ ।'

नेकपा केन्द्रीय कमिटी बैठकले ओलीलाई बहुमतले हटाइसकेको भन्दै नेपालले ओलीका असंवैधानिक कदमको विरोध गर्नुपर्ने बताए । उनले ओलीले घोषणा गरेको निर्वाचन हुने सम्भावना नरहेको पनि धारणा राखेका थिए ।

नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको 'प्रतिनिधिसभा विघटन : प्रतिगामी कदम' विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा (दाहाल-नेपाल पक्ष)का अध्यक्ष माधवकुमार नेपालले भनेका कुराहरूः

केपी ओलीलाई बहुमतले पार्टी अध्यक्षबाट हटाइसकेको छ । केपी ओलीको कदम असंवैधानिक हो भन्ने फैसला आउला भन्ने हाम्रो आशा छ । उहाँले काम गर्न दिइएन भन्दै हुनुहुन्छ उहाँलाई मनपरी काम गर्दा पनि पुगेन । सारा शक्ति आफ्नो हातमा लिँदा पनि पुगेन । सत्ताको दुरुपयोग गर्दा पनि पुगेन भन्नुहुन्छ । उहाँले लोकतान्त्रिक परिपाटीलाई नै लत्याएर अघि बढ्न खोज्नुभयो । उहाँले जथाभावी नियुक्ति गर्ने देखि लिएर गलत काम गर्दै हिँड्नु भयो । पदका निम्ति अयोग्यहरूलाई छानेर अघि बढ्नु भयो । हामी केपी ओलीका दास होइनौं । हामीले पार्टीमा विधि पद्धतिका बारेमा छलफल गरौं भन्यौं । नीतिगत र राष्ट्रिय सरोकारका विषयमा जनसरोकारका विषयमा छलफल गरौं भन्यौं ।

हामीले उहाँको हरेक कदममा साथ नदिनु नै हाम्रो अपराध हो र ? उहाँले तानाशाह र निरंकुश तरिका अपनाएकाले हामी निसासिएर आवाज उठाएका हौं । समस्या उहाँको चिन्तन र कार्यशैलीमा नै देखिएको हो । उहाँको कार्यशैलीबाट पार्टीका नेता कार्यकर्तामात्रै होइन प्रतिपक्षी पनि पीडित भए ।

केपी ओलीले प्रधानमन्त्री पदको गरिमा राख्न सक्नु भएन । उहाँ सानो गुटमा रमाउनु भयो । आफ्नो भजन गाउनेहरूलाई मात्रै समातेर अघि बढ्नु भयो । हामीले उहाँलाई केही न्याकेका होइनौं । उहाँले सुतेकै अवस्थामा रातारात पार्टीको विधानविपरीत केन्द्रीय सदस्य थप्नु भयो । विधान र पद्धतिभन्दा बाहिर जानु भयो । विधान संशोधन गर्न दुई तिहाइ चाहिन्छ त्यो नभइ गरेको निर्णय कानुनतः हुँदैन । उहाँसित बहुमत नै छैन हामीसँग प्रस्ट बहुमत छ । तर उहाँले भ्रममा पार्ने काम गर्नुभएको छ । उहाँ विधान मान्नुहुन्न बहुमत मान्नु हुन्न उहाँ त आफ्नो निर्णय नै सर्वेसर्वा भन्नुहुन्छ । व्यवस्थामा सबैले बस्न सक्नुपर्छ ।

संविधानको कू गरेको बेला चुनावको औचित्य हुँदैन । उहाँले भनेको चुनाव कुनै पनि हालतमा हुँदैन भ्रममा नपरौं । केपी ओली नै अहिलेसम्मको अवस्थाको मुख्य जिम्मेवारी हो । हामीले पनि जिम्मेवारी लिनुपर्छ मैले गल्ती गरेँ गणतन्त्र विरोधीलाई सत्ता र पार्टीमा पुर्‍याएर सुध्रिन्छ्न् कि भनेर गरियो । अहिले आफैंलाई घाँडो भएको छ । उहाँलाई ५ वर्षकै प्रधानमन्त्री भनेर हामीले जिम्मेवारी दिएकै थियौं तर त्यसको अवमूल्यन गरियो । उहाँ बदलाको भावना लिएर हिँड्ने मानिस हो । ओलीले पार्टीको नेतृत्व लिएपछि ध्वस्त बनाउनु भयो । मदन भण्डारी फाउन्डेशनको नाममा उहाँले गुट चलाउनु भयो । उहाँले कम्युनिस्टविरोधी गतिविधि गर्दै हिँड्नुभयो ।

संविधानको कुनै धारामा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था गरिएको छैन । दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने प्रावधान पनि थियो । हुँदै नभएको धारा राखेर अनि अन्तर्राष्ट्रिय अभ्यास लगायतका कुराहरु राखेर उहाँले विघटन गरे भन्नुहुन्छ । त्यसैले लोकतन्त्र र स्थायित्वमाथि प्रहार गर्ने काम जुन भएको छ यो असंवैधानिक कदम हो । यसका विरुद्ध डटेर सामना गर्नुपर्ने बेला आएको छ । कम्युनिस्ट आन्दोलनलाई तहसनहस गर्ने काम गरिएको छ । आन्दोलनको ज्वारभाटा ल्याउनुपर्ने बेला अहिले आएको छ । तपाईंहरू के बुझ्नुस् भने नेकपा आधिकारिकता हाम्रै हो ।

ओली नेकपाका अध्यक्ष होइनन् उनको गुट हो । उहाँले अहिले पनि अनेकौं गलत काम गर्दै हिन्नुभएको छ । अहिलेसम्म पार्टी सदस्य त हुनुहुन्छ अब उहाँको गतिविधि हेर्दा थप कारबाही गर्नुपर्ने देखिएको छ । आज बस्ने स्थायी कमिटी बैठकले गम्भीर समीक्षा गरेर केही निर्णय गर्ने छ । अब ओलीले विश्राम लिनुपर्छ ओलीको बोझ यो देशले बोक्न सक्दैन ।

म र प्रचण्ड कमरेड भएको पार्टी नै आधिकारिक हो । हामीले अहिलेदेखि नै सहमतिअनुसार आलोपालो बैठकको अध्यक्षता गर्न थालीसकेका छौं । हाम्रो विचार, सोच र चिन्तन मिलेको छ । त्यसैले हामी अहिले पार्टी निर्माण गर्ने अभियानमा अघि बढेका छौं । जबज आफैले छोडेका ओलीले अहिले कार्यकर्तालाई दिग्भ्रमित पार्ने काम गर्दै हुनुहुन्छ । अहिले हामीले समाजवाद उन्मुख जनताको जनवादलाई अघि बढाइरहेका छौं । ओलीले बाटोमा कोही फेला पर्‍यो कि समातेर केन्द्रिय सदस्य बनाउने काम गरेका छन् । सूर्य चुनाव चिन्ह र पार्टीको नाम अन्त कतै जाँदैन ।

प्रकाशित : माघ १, २०७७ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?