कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

बाढीपहिरोपीडित अझै स्याउलाका छाप्रामा

‘सडक आउँदा आधा जमिन गयो, बाँकी पहिराले बगायो, अब न टेक्ने जमिन छ, न ओत छ ।’
प्रकाश बराल

बागलुङ — गत भदौमा भुजीखोलामा आएको बाढीपहिराले ढोरपाटन नगरपालिका–९ का हुमबहादुर बिकका श्रीमती र बहिनीलाई बगायो । श्रीमती कुमारीको शव भेटियो, बहिनी खिमा अझै बेपत्ता छिन् ।

बाढीपहिरोपीडित अझै स्याउलाका छाप्रामा

घर, पसल, खेतीपाती र गाईभैंसी सबै बगे । अहिले उनको नाउँको जग्गाजमिन केही पनि बाँकी छैन । ६ र ८ वर्षका २ छोरासहित बिक छिमेकीको कोदोबारीमा स्याउलाको छाप्रो बनाएर बसेका छन् । छाप्राभित्र छिमेकीले दिएका थोत्रा ओड्नेओछ्याउने कपडा छन् । रेडक्रसलगायत संस्थाले दिएका भाँडाकुडा छन् । त्यहीं पकाउँछन्, त्यहीं सुत्छन् । दुई छोराले पढ्नेलेख्ने भनेको घाम लागेका बेला मात्रै हो । ‘असोजयता पानी परेको छैन, त्यसैले छाप्रामा पराल बिछ्याएर न्यानो भएको छ,’ बिकले भने, ‘हिउँझरी पर्‍यो भने कता जाने, अझै निधो छैन ।’ चिसामा कठ्यांग्रिँदै बस्नुपरेको उनले गुनासो गरे ।

वैदेशिक रोजगारीका लागि कुवेत गएका बिक ७ महिनासम्म काम नपाएपछि त्यत्तिकै फर्केका थिए । उनको २ लाख ऋण पनि छ । कोरोनाका कारण रोजगारी नपाएकै बेला परिवारका सदस्य पहिरामा बगेको थाहा पाएपछि उनी दु:खसास्ती झेल्दै गाउँ फर्केका थिए । मृतकको तर्फबाट पाएको २ लाख रुपैयाँ उनले छोराका नाउँमा जम्मा गरिदिएका छन् । लत्ताकपडा र भाँडा अभाव भएकाले दैनिकी चलाउन कठिन भएको बिकको गुनासो छ । ‘जति दु:ख भए पनि दुई छोरालाई विद्यालय पठाउन छाडेको छैन तर खानेबस्ने केही छैन, कसरी जीवन कटाउने भनेर पिरोलिन्छु,’ बिकले भने, ‘सडक आउँदा आधा जमिन गयो, बाँकी पहिराले बगायो, अब न टेक्ने जमिन छ, न ओत ।’

त्यस्तै करबहादुर बिकको परिवारका ४ सदस्य पनि बाढीमा बगे । बाँचेकी १५ वर्षकी छोरी सुस्मिता अहिले छिमेकीको आश्रयमा छिन् । सुस्मिताका काका हेमबहादुरको पनि परिवार बगायो । १२ वर्षका छोरा मदन मात्रै जीवित छन् । सुस्मिता र मदन अझै छिमेकीको आश्रयमा छन् । उनीहरूको घर कसले बनाइदिन्छ ? अझै पत्तो छैन । पहिराले बगेको घरछेउको बगरमा भेटिएका मदनले अहिलेसम्म कता बस्ने, कसरी घर बनाउने केही थाहा नपाएको बताए ।

घमबहादुर बिकको घरबारी सबै बग्यो । बुहारी यमकुमारी बेपत्ता भइन् । उनको परिवार पनि छिमेकीकै आश्रयमा छ । यस्तै पीडा बोकेकाहरू भुजीखोला छेउमा धेरै भेटिन्छन् । उनीहरूमध्ये कसैको स्याउलाको छाप्रो छ । कसैले ढुंगामाटाका छाप्रा बनाएका छन् । नेपाली कांग्रेस क्षेत्रीय समितिले घर बगेकालाई जस्तापाता सहयोग गरेको थियो । सक्नेले जस्ताले छाप्रा छाएर बसेका छन् । आयस्रोत नभएकाले जस्तापाता पनि छाउन सकेका छैनन् ।

पहिरो गएको महिना धेरैले खाद्यान्न सहयोग गरे । घटना बिर्संदै गएपछि सहयोगीहरू आएका छैनन् । जाडाले पीडित आत्तिएका छन् । संयोगले अहिलेसम्म हिउँ नपरेको र परेमा पीडितलाई झनै सास्ती हुने स्थानीय शिक्षक रामबहादुर घर्तीले बताए । घर सबै बगेको उनले भने जस्तापाताको छाप्रो बनाइसकेका छन् । पीडितले घर बनाउने अनुदान नपाएको बताए । ‘बजेट आउने भने पनि अहिलेसम्म केही पाइएको छैन,’ स्थानीय खिमकुमारी पुनले भनिन्, ‘कसलाई भनेर सहयोग पाउने हो भन्ने केही थाहा छैन ।’

पीडितका लागि संघीय सरकार र प्रदेश सरकारको सहयोग बजेट नआएपछि घर बनाइदिने योजना अधुरो रहेको नगरप्रमुख देवकुमार नेपालीले बताए । ‘नगरको बजेटले मात्रै पुग्दैन, माथिको सहयोग पनि आउने भनेर कुरेका छौं,’ नेपालीले भने, ‘पीडितलाई जाडामा बचाउन गाह्रो भइरहेको छ ।’ घटनापछि गृहमन्त्री रामबहादुर थापा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अन्य मन्त्री पुगेर सहयोगको आश्वासन दिएका थिए । मन्त्रीहरू हेलिकप्टरमा पुग्दा लाखौं खर्चसमेत भएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत प्रतिपरिवार ३ लाख रुपैयाँका दरले घर बनाउन अनुदान दिने भन्दै गृहमन्त्री थापाले आश्वासन दिएका थिए तर पीडितका छाप्रामा अहिले चामल, तरकारीलगायत खाद्यान्न पनि सकिएको छ ।

‘अहिले चामल पनि सकियो, किन्ने पैसा पनि छैन,’ पुनले भनिन्, ‘दु:ख छ भनेर कति जनालाई सुनाउने ?’ उनीहरूको अवस्था देखेर चिन्ता लागे पनि काम गर्न नसकेको नगरप्रमुख नेपालीले बताए । ‘माथिको बाटो हेरेर आफ्नो सहयोग पनि ढिला भयो, अब तत्काल अस्थायी रूपमा भए पनि बास बनाउन पहल गर्छौं,’ उनले भने । जाडो नसकिँदै पीडितलाई अस्थायी बास दिने र चालु वर्षभित्रै स्थायी बसोबासको काम थाल्ने उनले बताए । पहिरामा ८० घर पूर्ण र ५१ घर आंशिक क्षति भएका थिए । घटनामा २२ को मृत्यु भएको थियो भने १५ अझै बेपत्ता छन् ।

प्रकाशित : माघ १, २०७७ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?