भारतले बल्ल भन्यो : नेपालका परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली आउँदैछन्

नयाँदिल्ली — भारतले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नयाँ दिल्ली ओर्लनु केही घण्टाअघि मात्र उनको भारत भ्रमणका सम्बन्धमा औपचारिक जानकारी दिएको छ । भारतको विदेश मन्त्रालयले बिहीबार बिहानमात्र एक विज्ञप्ति जारी गर्दै मन्त्री ज्ञवालीको भ्रमण तालिका सार्वजनिक गरेको हो ।

भारतले बल्ल भन्यो : नेपालका परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली आउँदैछन्

नेपालले यसअघि नै भ्रमणका बारेमा औपचारिक रुपमै बताइसके पनि भारतले भने केही बोलेको थिएन । अन्य मुलुकबाट हुने उच्चस्तरीय भ्रमणलाई केही दिनअघि नै औपचारिक जानकारी गराउने गरेको भारत सरकारले मन्त्री ज्ञवालीको दिल्ली आगमनका बारेमा भ्रमणकै अघिल्लो दिनसम्म पनि केही नखुलाउँदा निकै अनौठो मानिएको थियो । जबकि पछिल्लो एक वर्षमा दुई देशको सम्बन्धमा आएको उतारचढावका कारण भ्रमणप्रति निकै चासो रहेको पाइन्छ ।

ज्ञवाली नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन दिल्ली आउन लागेका हुन् । विदेश मन्त्रालयद्धारा सार्वजनिक भ्रमण तालिकाका अनुसार ज्ञवाली मध्यान्ह १२ बजेर २० मिनेटमा नयाँदिल्ली ओर्लने छन् । जारी विज्ञप्तिअनुसार बिहीबार अरु कुनै औपचारिक कार्यक्रम रहेको छैन । दिल्लीस्थित नेपाली दूतावास स्रोतका अनुसार पहिलो दिन ज्ञवालीले दिल्लीमा रहेका प्रवासी नेपाली संगठनका प्रतिनिधिलाई भेट्ने कार्यक्रम छ । शुक्रबार भने ज्ञवाली बिहानदेखि नै व्यस्त रहनेछन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार शुक्रबार बिहान एघार बजे ज्ञवालीले आफ्ना समकक्षी एस जयशंकरसँग हैदरावाद हाउसमा भेट गर्नेछन् । त्यसपछि सोही भवनमा साढे एघार बजे नेपाल–भारत संयुक्त अयोगको छैटौं बैठक सुरु हुनेछ । आयोग नेपाल–भारत दुई पक्षीय संयन्त्रहरुमध्ये सबैभन्दा माथिल्लो हो । बैठकमा दुई दर्जनभन्दा द्विपक्षीय संयन्त्रहरुमा हालसम्म भएका छलफल र सहमतिको समीक्षा हुनेछ । स्रोतका अनुसार बैठकमा नेपालले सीमा, ईपीजी, व्यापार, ऊर्जा, कनेक्टिभिटिलगायतका विषयलाई प्राथमिकता दिने बताइएको छ ।

विदेश मन्त्रालयले ज्ञवाली दिल्लीमा रहँदा हुने उच्च राजनीतिक भेटघाटका बारेमा भने केही खुलाएको छैन । तर, दूतावास स्रोतले ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द मोदीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ताको कार्यक्रम तय भएको जानकारी दिएको छ । ती भेटघाट विशेषगरी नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र दुई देशबीचको सम्बन्धमा केन्द्रित हुने अनुमान गरिएको छ । मन्त्री ज्ञवाली शनिबार अपरान्ह दुई बजे स्वदेश फर्कने विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : माघ १, २०७७ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?